नेकपा (माओवादी) केन्द्रको चुनाव चिह्नबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र १ र नेपाली कांग्रेस २७ गरी कूल ३१ सांसदको समर्थनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत पाएका छन्।
सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरे। गण्डकीमा ६० सदस्यीय प्रदेश सभा छ। सोमबारको मतदानमा ५९ सांसद सहभागी भए भने मुख्यमन्त्रीका पक्षमा ३१ र विपक्षमा २८ सांसदले मत दिएका थिए।
सर्वोच्च अदालतको परमादेशपछि गत जेठ १६ गते नेपाली कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसअघिका मुख्यमन्त्री नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीले पाएको विश्वास मत असंवैधानिक रहेको ठहर सर्वोच्चले गरेको थियो।
गत वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा विश्वास मत प्रस्ताव राख्दा प्रस्तावका पक्षमा ३० सांसदले मत दिए पनि सभामुखले विश्वास मत प्राप्त गरेको घोषणा गरेपछि यसविरूद्ध कांग्रेस संसदीय दल नेता पाण्डे रिट लिएर सर्वोच्च पुगेका थिए।
मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्थाअनुसार उनले असार १५ गतेभित्र विश्वास मत लिनुपर्ने थियो। तर नीति तथा कार्यक्रम र बजेट ल्याउन मुख्यमन्त्री पाण्डेले सोमबार नै विश्वास मत लिएका हुन्।
मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरूसँग विश्वास मत माग गर्दै पत्र नै पठाएका थिए। मुख्यमन्त्रीले विश्वास मत माग गर्दै पठाएको पत्र पाएको कुरा एमाले संसदीय दल नेता खगराज अधिकारीले सोमबार विश्वास मतको प्रस्तावमाथि छलफलका क्रममा रोस्टमबाटै खुलाएका थिए।
मुख्यमन्त्री पाण्डेले पनि दल वा स्वतन्त्र सांसदहरूलाई विश्वास मतका पक्षमा मतदानका लागि पत्राचार गरिएको कुरा प्रदेश सभामा बताएका थिए। यति मात्र होइन, कांग्रेस नेतृत्वको सरकारलाई विश्वास मत माग गर्दै जेठ २५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र नै पठाएका थिए। लिङ्देन नेतृत्वको राप्रपाबाट गण्डकीमा दुई सांसद छन्। उनीहरूले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिए।
मुख्यमन्त्री पाण्डेलाई बहुमतका लागि ३१ सांसद जुटाउन हम्मेहम्मे थियो। स्वतन्त्र सांसद राजिब गुरूङले जता ३० सांसदले समर्थन गर्छन् उतै आफूले पनि समर्थन गर्ने बताउँदै आएका थिए। राप्रपा पनि सकारात्मक देखिएपछि मुख्यमन्त्री पाण्डेको ध्यान माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका गृह जिल्ला गोरखाकै नेसपा सांसद फणिन्द्र देवकोटालाई विश्वासमा लिनेतर्फ केन्द्रित थियो।
देवकोटाले पनि विश्वास मत दिने संकेत गरेपछि मुख्यमन्त्री पाण्डे विश्वास मत लिन हतारिएका थिए।
सोमबार अपराह्न प्रदेश सभामा विश्वास मतमाथि पक्ष वा विपक्षमा मतदान गर्न सभामुखले समय दिएपछि रोचक दृश्य देखिएको थियो। मुख्यमन्त्रीसहित सांसदहरूको ध्यान देवकोटातर्फ केन्द्रित थियो।
पछिल्लो सिटमा बसेका सांसद देवकोटा मुख्यमन्त्रीले राखेको विश्वास मतको पक्षमा दस्तखत गर्न जान्छन् कि विपक्षमा भन्ने उत्सुकता सांसदहरूमा थियो।
सत्ता वा प्रतिपक्षी दलका संसदीय दल नेताहरूले भने देवकोटाले मुख्यमन्त्रीलाई विश्वास मत दिने संकेत पाइसकेका थिए। सोअनुसार उनीहरूले रोस्टमबाटै घुमाउरो ढंगले विरोधसमेत गरेका थिए भने जसको चुनाव चिह्नबाट निर्वाचित भएको हो सो दलको ह्विप लाग्ने बताइरहेका थिए।
अन्तत: सांसद देवकोटा मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिने कोठातर्फ अघि बढेपछि एमाले सांसदहरूले विरोध गरे। संसदीय दल नेता अधिकारीले टेबल ठोके, सांसदहरूले नाराबाजी गरे। केहीबेर वेल पनि घेरे। त्यसपछि उनीहरू मुख्यमन्त्री पाण्डेले राखेको विश्वास मत प्रस्तावको विपक्षमा मतदान गर्न गएका थिए।
यसअघि गत वैशाख २३ गते मुख्यमन्त्री अधिकारीका पक्षमा सांसद देवकोटाले मत दिएका थिए।
यसपालि भने देवकोटाले कांग्रेस नेतृत्वको सरकारलाई मत दिएका छन्।
बाबुराम भट्टराई निकट देवकोटा २०७९ को चुनावमा गोरखाको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका थिए। त्यसबेला नेसपाले माओवादीको चुनाव चिह्न लिएको थियो।
गण्डकी प्रदेश सभा सचिवालयमा प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ७, राप्रपाका २, नेपाल समाजवादी पार्टीका १ र स्वतन्त्र १ सांसद रहेको रेकर्ड छ।
यो हेर्नुहोस्:
देवकोटा माओवादी चुनाव चिह्नबाट निर्वाचित भए पनि प्रदेश सभा सचिवालयले नेपाल समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचिततर्फ एक सांसद भन्ने रेकर्डमा राखेको देखिन्छ।
तर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन लडेका र निर्वाचित भएका सांसदसमेत रहेर एउटै संसदीय दल गठन हुने व्यवस्था छ।
त्यस्तो संसदीय दललाई सचेतकले ह्विप लगाउन सक्ने व्यवस्था उक्त दफाले गरेको छ। तर राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ को उपदफा ३ ले सचेतकले ह्विप लगाउँदा पालना नगरे कारबाहीका लागि सम्बन्धित दलमा सिफारिस गर्ने व्यवस्था गरेको छ।
यस्तो अवस्थामा देवकोटाको दल नेपाल समाजवादी पार्टी अथवा माओवादी कुन दललाई सचेतकले कारबाही सिफारिस गर्छन् भन्ने प्रश्न अनुत्तरित छ। देवकोटा समाजवादी पार्टीमा भएकाले उनलाई माओवादी पार्टीले कारबाही गर्न मिल्छ कि मिल्दैन भन्ने विषय निरुपण गर्नुपर्ने हुन्छ।
मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन माओवादी संसदीय दलले आइतबार नै निर्णय गरी ह्विपसमेत लगाएको थियो। यो कुरा माओवादी संसदीय दल नेता हरिबहादुर चुमानले सोमबार प्रदेश सभा रोस्टममै उभिएर भनेका थिए।
माओवादीको चुनाव चिह्न लिएकोले देवकोटा माओवादीकै संसदीय दलभित्र रहने चुमानको जिकिर छ।
देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएपछि सेतोपाटीले माओवादी संसदीय दल नेता चुमानलाई अब कसरी अघि बढ्नुहुन्छ भनेर सोधेको छ।
चुमानले सांसद देवकोटालाई ह्विप उल्लंघनमा कारबाही सिफारिस गरिने जबाफ दिए।
‘उहाँले ह्विप उल्लंघन गरेपछि दलले कारबाही प्रक्रिया अगाडि बढाउँछ,’ उनले भने, ‘हामी कारबाही सिफारिस गर्ने प्रक्रियामा जान्छौं।’
सचेतकले कारबाही सिफारिस गर्न मिल्ने व्यवस्था रहे पनि माओवादी वा नेपाल समाजवादी कुन दललाई कारबाही सिफारिस गर्नुहुन्छ भन्ने प्रश्नमा चुमानले भने, ‘हामीले त हाम्रै पार्टीलाई सिफारिस गर्छौं नि!’
सांसद देवकोटाले विकसित घटनाक्रमअनुसार आफू अघि बढ्ने प्रतिक्रिया दिएका छन्।
‘विकसित घटनाक्रम हेर्दै जाऔं न, उहाँहरू कसरी अघि बढ्नुहुन्छ, त्यसअनुसार हामी पनि स्टेप चाल्दै जान्छौं,’ उनले भने, ‘म नेपाल समाजवादी पार्टीको नेता र सांसद हुँ। नेपाल समाजवादी पार्टीको निर्देशनअनुसार नै मुख्यमन्त्रीलाई विश्वास मत दिएर निर्देशन कार्यान्वयन गरेको हुँ।’
माओवादीले मुख्यमन्त्रीलाई विश्वास मत नदिन लगाएको ह्विप उल्लंघन भयो नि भन्ने प्रश्नमा देवकोटाले भने, ‘त्यो त घटनाक्रमको विकासका आधारमा छलफल गरौंला। एउटा पार्टीले अर्को पार्टीलाई कारबाही गर्न मिल्ने हो भने त दलीय व्यवस्था नै खारेज गरिदिए भइहाल्यो नि!’
भिडिओ: