मधेश प्रदेश सभामा विश्वासको मत नपाउँदा गत बुधबार जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार ढलेपछि जनमत पार्टीका नेता कार्यकर्ता सबैभन्दा धेरै उत्साहित थिए।
किनकि जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने नेकपा एमाले सहितका दलहरूबीच पहिल्यै सहमति भइसकेको थियो।
जसपा नेतृत्वको सरकार ढलेलगत्तै मधेस भवनमा नयाँ सरकार गठनको विषयमा एमाले, माओवादी, एकीकृत समाजवादी र जनमतबीच छलफल सुरू भएको थियो। उक्त छलफलमा संसदीय दलका नेता तथा प्रमुख सचेतकहरू सहभागी थिए।
राति करिब १० बजे सम्पन्न उक्त बैठक बिहीबार बिहान १० बजेबाट फेरि निरन्तरता दिने सहमति थियो। मुख्यमन्त्री जनमत पार्टीलाई दिने दलहरूबीच पहिल्यै सम्झौता भइसकेकाले मन्त्रालय बाँडफाँट टुंग्याउन उक्त बैठक बसिरहेको थियो।
पार्टीको भागमा परेकाले जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्नेमा बिहीबार बिहान करिब ७ बजेसम्म ढुक्क थिए। संसदीय दलका नेता मुख्यमन्त्री वा प्रधानमन्त्री बन्ने विगतदेखि हुँदै आएको अभ्यास र जसपा नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धनको सरकार बनाउन निकै मेहनतका साथ खटिएकाले आफू मुख्यमन्त्री बन्ने उनले निश्चित सम्झेका थिए।
तर बिहीबार बिहान मन्त्रालयको भागबण्डा टुंग्याउने विषयमा तय भएको छलफलमा जानुअघि यादवले अमेरिकामा रहेका पार्टी अध्यक्ष डा. सिके राउतलाई फोन गरे। मुख्यमन्त्री र मन्त्री कसलाई बनाउने विषयमा सोधेपछि अध्यक्ष राउतले सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउन भने। संसदीय दलका नेता यादव केहीबेर बोल्नै सकेनन्।
'महेशजीले अध्यक्षज्यूलाई त्यस्तै निर्णय गर्नुपर्ने थियो भने पहिल्यै मलाई दलको नेताबाट हटाइदिए हुन्थ्यो नि भन्नुभयो। तर उहाँले अहिले पछि हेरौंला, कुरा बुझ्नुस्, मलाई पनि धेरै दबाब छ भनेर जबाफ फर्काउनुभयो,' महेश यादव निकटस्थ एक नेताले सेतोपाटीलाई भने, 'उहाँ नभएको भए अहिलेको यो गठबन्धन बन्नै सम्भव थिए। एक महिनादेखि उहाँ नियमित रूपमा सबैको घरघर गएर, हातखुट्टा समाएर, फकाउँदै नयाँ सरकार बनाउन मनाउनुभएको थियो। मुख्यमन्त्री बन्छु भनेर ढुक्क भएर बस्नुभएको थियो। तर उहाँले दिनरात खटिएर खाना पकाएर राख्नुभयो, अर्को मान्छे आएर टपक्क टिपेर खाइदियो। महेशजीलाई अन्याय भयो।'
'जातीय' कारणसँगै बाहिरी शक्तिको समेत दबाबमा परेर अध्यक्ष राउतले सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको ती नेताको दाबी छ।
'यादव भएर पनि उहाँलाई मुख्यमन्त्री नबनाइएको हो। भारतीय जनता पार्टीका नेता राजनाथ सिंहले पनि दबाब दिएर सतिशजीलाई मुख्यमन्त्री बनाइएको सुन्नमा आएको छ। किनकि दुबै राजपुत समुदायका नेता हुन्,' ती नेताले भने।
जसपा विभाजित भएपछि नयाँ सरकार गठनका लागि एक महिना अघिदेखि प्रयास सुरू भएको थियो। केन्द्रीय नेतृत्वबीच भएको छलफलमा जनमतले मुख्यमन्त्री पाउने सहमति भएको थियो। त्यसलगत्तै जनमत संसदीय दलका नेता यादव, महासचिव समेत रहेका सांसद चन्दन सिंह, पार्टी उपाध्यक्ष बसन्त कुशवाहा र सतिश सिंहले मुख्यमन्त्रीमा दाबी गरेका थिए।
चार जना मुख्यमन्त्रीको दावेदार भएपछि अध्यक्ष राउतलाई सकस परेको थियो।
उनले संसदीय दलको बैठकबाट मुख्यमन्त्री र मन्त्रीहरू छान्ने जिम्मेवारी आफूलाई दिन नेताहरूलाई भनेका थिए। करिब एक महिनाअघि बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री र मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरेको संसदीय दलका नेता महेश यादवले बताए।
नेताहरूका अनुसार काठमाडौंस्थित जनमतको सचिवालयको बैठकमा समेत मुख्यमन्त्री कसलाई बनाउने विषयमा छलफल भएको थियो। उक्त बैठकमा अवसर पाइसकेका नेतालाई मौका नदिई नयाँलाई दिनुपर्ने आवाज उठ्यो। बसन्त कुशवाहा, चन्दन सिंह र महेश यादव थोरै समयका लागि भए पनि प्रदेशमा मन्त्री बनिसकेका छन्।
सचिवालय बैठकले मुख्यमन्त्रीको नाम भने टुंग्याउन सकेको थिएन। बिहीबार बिहान अचानक सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको सूचना आएको थियो।
संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्री नबनाएर सतिश सिंहलाई बनाउने निर्णयको केहीले आलोचना गरिरहेका छन् भने केहीले पार्टीलाई मुख्यमन्त्री चुन्ने अधिकार रहेको बताइरहेका छन्। जनमत पार्टीका समर्थकसँगै यादव समुदायका अगुवाहरूले समेत अध्यक्ष राउत 'यादव विरोधी' भएको र 'जातीय' कारणले नै संसदीय दलका नेतालाई मुख्यमन्त्री नबनाएको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिइरहेका छन्।
उसो त अप्रत्यक्ष रूपमा समेत जनमत पार्टीले यादव समुदायको नेतृत्वले प्रदेशमा एकल वर्चश्व जमाउन खोजेको र अन्य समुदायलाई हेपेको भन्दै 'जंगलराज' को संज्ञा दिएर विरोध गरिरहेको सुनिन्छ।
'बिहारमा लालु यादवले जसरी नै मधेसमा उपेन्द्र यादवले एकल जातीय वर्चश्व जमाएर बसेका छन्। त्यस हिसाबले नै हामी मधेसमा पनि जंगलराज रहेको बताउँदै आएका छौं। उपेन्द्रको गतिविधि र राजनीतिले उनी यादवहरूको मात्रै नेता हुन् भन्ने देखिन्छ। यदि त्यसो हो भने, हाम्रो अध्यक्षज्यू सबै गैरयादवका नेता हुनुहुन्छ,' जनमतका एक नेताले भने।
२०७८ को जनगणना तथ्यांक अनुसार मधेस प्रदेशमा १५ प्रतिशत यादव समुदाय छन्। कांग्रेस, एमाले र जसपामा तीनै ठूला दलका संसदीय दलका नेता समेत यादव समुदायकै छन्। जनमतले समेत दलको नेता यादव समुदायबाटै बनाएका थिए। सिके राउतले यस्तो अवस्थामा 'नन्-यादव' सबै मतलाई आफूतिर एकत्रित गर्ने रणनीतिमा छन्।
तर जनमतका सचिवलाय सदस्य एवं प्रवक्ता डा. शरद यादवले आफूहरूको पार्टीले जातपातको राजनीति नगरेको र सिंहलाई समेत जातीय कारणले मुख्यमन्त्री नबनाएको दाबी गरे।
'संसदीय दलका नै मुख्यमन्त्री बन्नुपर्छ भन्ने कहाँ छ र? हाम्रो अध्यक्षज्यू पनि दलको नेता हुनुहुन्छ तर कहिल्यै मन्त्री बन्नुभएन। अरूलाई नै बनाउनुभयो। यादव भएर मुख्यमन्त्री नबनाएको भनेर जसपाले गलत भाष्य निर्माण गर्न खोजेको छ। म पनि यादव हुँ। पार्टी प्रवेश गरेको ७ महिनामै सचिवालय सदस्य र राष्ट्रिय प्रवक्ता बनेँ। पद नपाउँदैमा जातसँग जोड्न मिल्छ त?,' प्रवक्ता यादवले भने।
उनले अगाडि भने, 'महेशजीले पहिले पनि अवसर पाइसकेकाले नयाँ नेतृत्व विकास गर्न नयाँ नेतालाई अवसर दिइएको हो। माओवादीमा वर्षौंसम्म बस्दा पनि जे कुरा उहाँले कहिल्यै पाउनुभएन, जनमतमा धेरै कम समयमा पाउनुभयो। पार्टी प्रवेश गर्नेबित्तिकै टिकट पाउनुभयो। जितेलगत्तै संसदीय दलको नेता बन्नुभयो। एक वर्ष मन्त्री बन्नुभयो। मन्त्री हुँदा राम्रो काम पनि गर्नुभयो। जतिबेला दलको नेता र मन्त्री उहाँ बन्नुभयो, त्यतिबेला पुराना स्वराजी किन भएन? महेशजीलाई नै किन बनाइयो? त्यस समय जातिवादी गर्ने मान्छे कहाँ थिए? महेशजी राम्रो नेता हुनुहुन्छ। उहाँले फेरि पनि अवसर पाउनु हुनेछ।'
जसपाका अध्यक्ष उपेन्द्र यादवले दर्जनौं यादव समुदायका नेताहरूको करिअर बर्बाद पारेको प्रवक्ता यादवको आरोप छ।
जनमत संसदीय दलका नेता महेश यादवले भने पार्टीको निर्णय स्वीकार्य रहेको बताउँदै जातीय कारणले आफूलाई मुख्यमन्त्री नबनाइएको कुरामा कुनै सत्यता नरहेको बताए।
'हाम्रो पार्टीको निर्णयलाई आलोचना गर्नुहुँदैन। हामीले नै मुख्यमन्त्री चुन्ने अधिकार अध्यक्षज्यूलाई दिएका थियौं। जे निर्णय भएको छ, त्यो पार्टी हितकै लागि लिइएको हुनुपर्छ। जातीय कारणले मलाई मुख्यमन्त्री नबनाएको भन्ने महसुस छैन,' उनले भने।
जनमत पार्टीका सचिव बिपी साहले पनि नयाँ नेतृत्वलाई स्थापित गर्ने रणनीति अनुसार सिंहलाई मुख्यमन्त्री बनाइएको बताए।
'हाम्रो पार्टीका १३ जना सांसद नै मुख्यमन्त्री बन्ने क्षमताका हुन्। जसले अवसर पाएका थिएनन्, उनलाई मुख्यमन्त्री बनाएर हामीले समावेशीकरणको अभ्यास गरेको हो,' उनले भने।
जनमतका अर्का एक नेताका अनुसार रामराजा प्रसाद सिंह र गजेन्द्र नरायण सिंहको 'लिगेसी' जोडेर पनि सिंहलाई मुख्यमन्त्री बनाइएको हो। मुख्यमन्त्री सिंह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा हुन्। उनले २०७४ सालमा स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष समेत जितेका थिए।
संघीयताको मुद्दा उठाउने पहिलो नेता मानिएका गजेन्द्र नरायण सिंह तिलाठीकै हुन। गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह सप्तरीकै थिए। संघीयता र नौलो गणतन्त्रको मुद्दालाई जोडतोडले उठाउने रणनीति लिएको जनमत पार्टीले दुबै नेताको लिगेसी नेता सतिश सिंहसँग रहेकाले मुख्यमन्त्री बनाइएको ती नेताको दाबी छ।
जनमतका अध्यक्ष राउतनिकट मानिने अर्का एक नेताले भने सिंहलाई मुख्यमन्त्री बनाएर एक तीरले कयौं निशाना लगाइएको टिप्पणी गरे।
'मधेस प्रदेशमा कथाकथित एउटा जातिले विर्ता ठान्यो। ग्रासरूटमा कार्यकर्ताबीच प्रदेशभरमा यादव बाहेकका समुदायलाई अपनत्व थिएन। अर्को, उच्च जातिले हाम्रो कुनै पार्टी नै भएन, हामीलाई कसैले गनेन पनि भन्न थालेका थिए। जबकि मधेस आन्दोलनमा उनीहरूको पनि अग्रणी भूमिका थियो। मधेसमा उच्च जातिले पहाडी राजनीतिक दलसँग साइनो गाँस्न थालिसकेका थिए। त्यो भावन पनि सम्बोधन गरेको हो। सतिशजीलाई मुख्यमन्त्री बनाएर समावेशीको प्रत्याभूति गराइएको हो जुन मधेस आन्दोलनको मुख्य मुद्दा पनि हो,' ती नेताले भने।
ती नेताले थपे, 'पार्टीमा नयाँ नेता उत्पादन गर्न पनि जरूरी थियो। महेशजीलाई पहिले मन्त्री बनाइएकै हो। त्यसैले यो निर्णय राजनीति र समावेशिताको मिश्रण हो। विगतमा एउटै समुदायले मधेसको ललापुर्जा नै लेखिसकेको जस्तो माहोल देखिएको थियो। त्यो अवस्था हटेको छ। जसपालाई सरकारबाट हटाउनु भनेकै जनमतले ठूलो विजय हासिल गर्नु हो। राउतजीको विचारधारा मोर अम्बेडकराइड ड्यान गान्धी हो। सिंहलाई मुख्यमन्त्री बनाउनु गान्धी राजनीति हो भने र रंजु खंगलाई राज्यमन्त्री बनाउनु अम्बेडकर राजनीति हो।'
यादव समुदायको वर्चश्व हटाउन सिंहलाई मुख्यमन्त्री बनाइएको नेताहरूको टिप्पणीप्रति जनमतका सचिव साह समेत सहमत छैनन्।
'मधेस प्रदेशमा पहिलो चरणमा चार जना मन्त्री बन्दा दुई जना यादव समुदायका थिए। पार्टीका १७ जना सचिवालय सदस्यमध्ये ५ जना यादव छन्। अनि कसरी यादव विरोधी भयो हाम्रो पार्टी? केन्द्रीय समितिमा पनि एकतिहाई बढी यादव छन्। जसले यस्तो आरोप लगाउँछ, ऊ जसपाको कार्यकर्ता हो। दलाल मधेसी हो जो एक जातिको वर्चस्व स्थापित गर्न चाहन्छ, ऊ सच्चा मधेसी होइन,' उनले भने।
उसो त संसदीय दलका नेता महेश यादवलाई नै मुख्यमन्त्री बनाउन यादवहरूको जातीय संगठन 'गोपाल सेवा समिति' र अन्य दलका यादव नेताहरूले समेत प्रयास गरेको नेपाली कांग्रेसका एक नेताले दाबी गरे।
'बिहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता कृष्ण यादव गोपाल सेवा समितिको सन्देश बोकेर महेशजीको निवासमै पुग्नुभएको थियो। कृष्णजीले फोन गर्दा महेशजीले नउठाएपछि उहाँ निवासमा पुग्नुभएको थियो। उहाँहरूको भेटघाट भने भएन। महेशजीलाई मुख्यमन्त्री बन्न कतिसम्म सहयोग गर्नुपर्छ हामी गर्छौं भन्ने कृष्णजीको सन्देश थियो। तर अन्तिम समयमा केही हुन सकेन,' ती नेताले भने।
जनमत संसदीय दलका नेता यादवले समेत कृष्ण यादव आफ्नो निवासमा पुगेको पुष्टि गरे।
'नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले योजना राखिदिन सायद उहाँ मेरो निवास पुग्नुभएको थियो। तर म दलहरूसँग छलफलमा भएकाले भेटघाटै भएन,' उनले भने।