मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन असफल भएका छन्।
प्रदेश सभामा बहुमत सांसदले उनको विपक्षमा मतदान गरेका छन्। मधेस प्रदेशमा अहिले १०६ जना सांसद छन्।
यसमध्ये आजको प्रदेश सभा बैठकमा १०३ जना उपस्थित थिए।
मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए।
मधेस प्रदेश सभा बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक छ।
विश्वासको मत सावित गर्न नसकेपछि मुख्यमन्त्री यादव पदमुक्त भएका छन्।
संविधाानको धारा १८८ को उपधारा (३) को (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ।
जसपा, लोसपा, नेपाली कांग्रेस र राप्रपाले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेका थिए।
नेकपा एमाले, जनमत, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीले उनको विपक्षमा मतदान गरेका थिए।