मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरू अनुपस्थित भएपछि मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।
मुख्यमन्त्री यादवले बुधबारको प्रदेश सभा बैठकमा विश्वास मत प्रस्ताव राख्ने कार्यसूची छ। तर मुख्यमन्त्री यादवले आफू बिरामी रहेको भन्दै जेठ २८ गते विश्वास मत लिने भन्दै संसद सचिवालयमा पत्राचार गरेका थिए।
बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिला गरी सुरू भएको थियो।
बैठक सुरू हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ३ को नियम ६ को उपनियम ६ बमोजिम सरकारको अनिवार्य उपस्थिति कायम गरिएकोमा आजको बैठकमा उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए।
उनको माग बमोजिम सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
जनता समाजवादी पार्टीका मन्त्रीहरु प्रदेशसभा बैठकमा सहभागी नभए पनि सांसदहरु भने उपस्थित छन्। मुख्यमन्त्री यादवले पत्र पठाउँदै विश्वास मत लिने प्रस्ताव आजको कार्यसूचीबाट हटाउन माग गरेका थिए।
कार्यव्यवस्था परामर्श समिति बैठक गरेर सभामुखले कार्यसूची यथावत् नै राखेका थिए।
सदनमा सरकारका मन्त्री नआएपछि अगामी कदमबारे निर्णय लिन अहिले नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका संसदीय दलका नेता तथा प्रमुख सचेतकहरू छलफल गरिरहेका छन्।