मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबारको प्रदेश सभामा विश्वास मतको प्रस्ताव नराख्ने भएका छन्।
मुख्यमन्त्री यादवले बुधबार अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिने कार्यसूची थियो।
तर मुख्यमन्त्री यादवले बिरामी भएको भन्दै विश्वास मत लिने कार्यसूची जेठ २८ गतेलाई सारिदिन प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्।
मुख्यमन्त्री यादव जनता समाजवादी पार्टी नेपाल मधेस संसदीय दल नेतासमेत हुन्।
बुधबार जसपा नेपालको संसदीय दल बैठकले जेठ २८ गते मुख्यमन्त्री यादवले विश्वास मत लिने निर्णय गरेको प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए।
‘सरकारमा सहभागी भएका दलले सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा प्रावधान छ। मुख्यमन्त्रीजीको स्वास्थयमा समस्या आयो त्यसैले आजको कार्यसूची स्थगित गरेर ३० दिन पुगेको दिन जेठ २८ गते विश्वासको मत लिने भनेर प्रदेश सभामा हामीले पत्र पठाएका हौँ,’ उनले भने।
कार्यसूची सार्ने विषयमा कार्यव्यवस्था तथा परामर्श समितिमा बुधबार दिउँसो छलफल गर्ने तयारीमा सभामुख छन्।
जसपा नेपालका केही सांसदहरू भने नेकपा (एकीकृत समाजवादी) ले साथ दिने विश्वास राखेका छन्। मुख्यमन्त्री यादवले सरकार टिकाउन नेपाली कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जनमत र एमालेका केही सांसदहरूसँग साथ लिन खोजेको चर्चासमेत चलेको थियो।
त्यसपछि जनमत, एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरुलाई जनकपुरस्थित जानकी स्टार होटेलमा पनि राखिएको थियो।
मुख्यमन्त्री यादवले विश्वास मत लिने समय सारेर त्यसबीचमा दलहरूसँग संवाद गरी सरकार टिकाउने कोसिससमेत गर्ने तयारी गरेका छन्।