मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री बनेको १७ महिना नपुग्दै पाँचौं पटक उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार आज दिउँसो तीन बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूची छ।
एकीकृत समाजवादीले मंगलबार समर्थन फिर्ता लिएपछि अहिले मधेसमा जनता समाजवादी पार्टी (जसपा) मात्रै सरकारमा छ।
जसपा नेतृत्वको सरकारलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने तयारी तयारी गरेको छ। १०७ सदस्यीय प्रदेशसभामा सरकार टिकाइराख्न ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।
जसपा नेपालका १९, नेपाली कांग्रेसको २२, लोसपाका ८ जना सांसद छन्। यी तीन पार्टी मिलेर ४९ जना सांसद पुग्छ। यसका साथै नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टीका एक/एक जना सांसद छन्।
तीमध्ये राप्रपाले सरकारलाई साथ दिने निश्चित छ भने संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीलाई समेत मुख्यमन्त्रीले आफूतर्फ तान्ने प्रयासमा लागेका छन्।
माओवादी, एमाले र जनमत र एकीकृत समावादी पार्टीबाट पनि कम्तीमा तीनजना सांसद आफूतर्फ तान्ने प्रयासमा उनी लागेको एक नेताले बताए। नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिलाई आफूतर्फ तानेर थप दुईजना सांसद जोड्नसके मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्छन्।
मुख्यमन्त्रीको यस्तो चालबाजी देखेर एमाले र माओवादीले सांसदहरूलाई जनकपुरस्थित जानकी स्टार होटेलमा १० बजे आइपुग्न निर्देशन दिइएको छ। नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका सांसदलाई समेत होटेलमा बोलाइएको छ।
‘माननीयज्यूहरू प्रभावित हुन सक्ने सम्भावना देखेर अहिलेको क्रिटिकल अवस्थामा हामी सबैजनालाई एक ठाउँमा भेला हुन भनिएको छ। अल्पमतमा परेका सरकारले विश्वासको मत नलिई सरकार अर्काका हातमा सुम्पिदिनुपर्ने हो। तर सांसद किनेर, धम्क्याएर, लोभ देखाएर भए पनि आफू सत्तामा टिकिरहने मुख्यमन्त्रीले खेल गरेका छन तर त्यो सम्भव हुनेवाला छैन,’ एमालेका एक सांसदले भने।
माओवादीका एक सांसदका अनुसार कांग्रेस समेतको सहयोगमा जसपाले केही सांसदलाई आफूतिर तान्ने प्रयास गरेको छ।
‘एक जना सांसदलाई ४ करोड नगद र ६ महिनाका लागि मन्त्री बनाइदिने भनेर अफर आइरहेको छ। यो सूचना आएपछि केन्द्रबाटै हामीलाई सतर्क हुन निर्देशन छ। हामी होटेल जाँदैछौं,’ माओवादीका एक सांसदले भने।
मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, जनमत, माओवादी र एकीकृत समाजवादी पार्टीका सांसदहरूको अहिले छलफल भइरहेको छ।
मधेस भवनस्थित माओवादीका पूर्वमन्त्री युवराज भट्टराईको निवासमा अहिले छलफल भइरहेको छ।