नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको महिला भेला काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ।
बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।
उद्घाटन सत्र प्रज्ञा भवनमा र बन्द सत्र कार्की बैंक्वेट बबरमहलमा हुने एमाले स्थायी कमिटी भानुभक्त ढकालले जानकारी दिए।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रूपमा पास गरेको थियो।
संसदको यही संकल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो। नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ ।
‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ स्थायी कमिटी सदस्य ढकालले भने, ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विशद चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।
महिला सशक्तीकरणका दृष्टिले भेला महत्त्वपूर्ण हुने तथा भेलाले समाजको अग्रगतिका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दै स्थायी कमिटी सदस्य ढकालले यसबाट पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।
उनका अनुसार, भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुने छ। समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक गरिने छ। समापन कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। यसैगरी, १५० महिला स्वयंसेवक परिचालन कमिटी निर्माण गरिएको छ।
तस्बिरहरू: