गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
सर्वोच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।
पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन्।
संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।
संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वोच्चले पाण्डेलाई सोही धाराको उपधरा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला उनलाई नेकपा (माओवादी केन्द्र) ले साथ दिएको थियो। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि गत चैत २१ गते उनले पदबाट राजीनामा दिएका थिए।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र राजीव गुरुङ ‘दीपक मनाङे’ गरी ६० जना सांसद छन्।
मुख्यमन्त्री पाण्डेको विश्वासको मत प्रदेश सभाबाट पारित हुन न्युनतम ३१ सांसदको समर्थन चाहिन्छ।