नेपाली कांग्रेसले दुई एजेन्डासहित सडक प्रदर्शन सुरू गरेको छ।
'सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरूद्ध' कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो प्रदर्शन गरेको हो।
देशका विभिन्न सहकारीको बचत ठगी भएकोले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेसले प्रदर्शन र खुला सभा गरेको छ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।
काठमाडौं कांग्रेसको आयोजना र ललितपुर तथा भक्तपुर जिल्ला कार्यसमितिको समन्वयमा कांग्रेसले प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो।
कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न लामो समयदेखि माग गर्दै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्ता पक्षका नेताहरू संसदीय छानबिन समिति गठनका लागि तयार देखिए पनि कार्यादेशमा रवि लामिछानेको नाम लेख्ने कि नलेख्नेमा सत्ता र प्रतिपक्षी कांग्रेसबीच कुरा मिल्न सकेको छैन। कांग्रेसले गृहमन्त्री लामिछानेको नाम पनि संसदीय छानबिन समितिको कार्यादेशमा लेख्नुपर्ने अडान राखेको छ।
संसदीय छानबिन समिति गठन नहुँदासम्म कांग्रेसले सदनमा पनि अवरोध जारी राख्ने निर्णय गरेको थियो। जसअनुसार आइतबारको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस सांसदहरूले वेल घेराउ र नाराबाजी गरेका थिए। नाराबाजीकै बीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको थियो।
तस्बिरहरू: