प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस, राप्रपालगायत विपक्षी दलका सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। सभामुख घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिए।
सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न उनले माग गरे।
शाही बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा केही हेरफेर गरेको बताए।
उनले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका हुन्।
कांग्रेस सांसदहरूले वेल घेरेपछि अर्थमन्त्री पुन रोस्टम जान सकेका थिएनन्। रास्वपा प्रमुख सचेतक सन्तोष परियार अर्थमन्त्रीलाई रोस्टम लैजान सहजीकरण गर्दै थिए। सत्तारूढ दलका सांसदहरू र मर्यादा पालकको सहयोगमा अर्थमन्त्री पुन रोस्टम पुगेर आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन्।
कांग्रेसको नाराबाजी र वेल घेराउबीच नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताएको थियो।
तस्बिरहरू: