काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने भएको छ।
महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ विस्तार गर्न काम अगाडि बढाइसकेको महानगरका सहप्रवक्ता एवं विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए।
उनका अनुसार अहिले फुटपाथ विस्तार गर्न रेखाङ्कनको काम समेत अघि बढिसकेको छ।
'सर्वसाधारणका लागि आवतजावतमा सहज होस् भनेर न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको कार्यक्रम अगाडि बढाएका छौं,' उनले भने, 'त्यसका लागि प्रक्रियामा गइसकेको छ भने डिपिआर तयार भई फिल्डमा रेखाङ्कन समेत भइसकेको छ।'

निर्माण विभागका प्रमुख सुरेश शाक्यका अनुसार न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक छ। त्यसैगरी दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ। सो फुटपाथ साढे एक मिटर बढाएर स्तरोन्नतिको काम गर्न लागिएको हो।
महानगरले तयार पारेको डिपिआर अनुसार ११ मिटर लम्बाइ रहेको कालोपत्रे सडक अब सात मिटरको मात्र हुनेछ। दुवैतिर डेढ मिटर थप गरी झन्डै चार मिटरको अर्थात् ३.९ मिटरको फुटपाथ हुनेछ। त्यसैगरी आधा-आधा मिटर भने ड्रेनेजका लागि छुट्याइने छ।
'पहिलो चरणमा न्यूरोड गेट हुँदै धर्मपथको बाटोसम्म फुटपाथ विस्तार गर्ने योजना छ,' उनले भने, 'त्यसैगरी न्यूरोडबाट प्यूखा, सुन्धारा र विशालबजार जाने बाटोमा समेत फुटपाथ विस्तार गरिनेछ।'
यसो त विस्तारित फुटपाथ हरियाली र अपाङ्गमैत्री हुनेछ।
'अहिले न्यूरोड गेटदेखि भूगोलपार्क छेउसम्म फुटपाथ किनारामा बिरूवाहरू रोपिएका छन्,' उनले भने, 'विस्तार भएपछि ती बिरूवा फुटपाथको बीचमा रहने छन् भने अहिलेका रेलिङलाई सारिने छ। त्यसैगरी बटुवालाई हिँड्दा आराम गर्न ठाउँ-ठाउँमा बेन्चहरू राख्ने योजना समेत छ।'

गएको मंसिर ८ गते नै आयोग्य सिके जेभीले निर्माणका लागि टेण्डर पाइसकेको छ। कम्पनीले तीन करोड १९ लाख २० हजारमा यो टेण्डर पाएको छ। यो निर्माण कार्य एक वर्षभित्र सक्ने महानगरको दाबी छ।
फुटपाथ बनेसँगै उक्त क्षेत्रमा पिक-एन्ड-ड्रप (यात्रु चढाउने र ओराल्ने) सिस्टम लागू हुनेछ।
यस्तै महानगरका एक अधिकारीका अनुसार 'नो भेहिकल जोन' बनाउन दोस्रो चरणको काम भइरहेको हो।
'यसअघि पहिलो चरणमा न्यूरोड क्षेत्रमा कालोपत्रे सडकमाथि हुँदै आएको पार्किङ हटाइसकेको छौं,' ती अधिकारीले भने, 'अहिले भने फुटपाथ विस्तार गरिरहेको हो। त्यसपछि पिक-एन्ड-ड्रप लागू गर्दै नो भेहिकल जोन नै बनाउने योजना छ।'
महानगरले न्युरोड क्षेत्रका धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा हुँदै आएको पार्किङ हटाएको थियो।
यो पनिः
यस्तो बन्नसक्छ हाम्रो न्यूरोड