मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र फिर्ता भएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राई पक्षले जसपा गठन गरेपछि आइतबार एमाले र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएको थियो।
सरकारबाट बाहिरिएको एमाले र माओवादी केन्द्रसहितका चार दल मधेसमा नयाँ सरकार गठनमा जुटेका छन्।
आइतबार माओवादी सांसद युवराज भट्टराईको निवासमा एमाले, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका नेताहरूबीच छलफल भएको थियो।
छलफलमा चारवटै दलले मिलेर सरकार गठन गर्ने विषयमा प्रारम्भिक छलफल भएको नेताहरूले बताएका छन्।
१०७ सदस्यीय मधेस प्रदेश सभामा अहिले १०६ जना सांसद छन्। यहाँ एमालेका २५, जनमत पार्टीका १३, लोसपाका ८ र माओवादीका ९ जना सांसद छन्।
प्रदेशमा सरकार बनाउन ५४ जना सांसद चाहिन्छ।
अहिले सरकार बनाउने कसरतमा लागेका यी चार दल मिल्दा ५५ जना सांसद पुग्छन्। विभाजित भएर बनेको नयाँ जसपामा भने अहिलेसम्म कोही खुलेका छैनन्।
मधेसमा नयाँ सरकार बनाउनेबारे चार दल केही दिन अघिदेखि नै आन्तरिक छलफलमा थिए।
'चार वटै दलका नेताले चार दिनदेखि लगातार छलफल गरिरहनुभएको थियो। सरकारको स्वरूप, भागबण्डा, नेतृत्व लगायत विषयमा कुरा मिलिसकेपछि बल्ल नयाँ सरकार बनाउने विषयमा सहमति भएर आइतबार दुबै दलका नेताहरूले मन्त्रीलाई राजीनामा बुझाउन भनिएको हो,' एमालेका एक सांसदले भने।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले नेतृत्व र भागबण्डा लगायत विषयमा पछिल्लो केही दिनदेखि निरन्तर संवाद भएको र सहमति नजिक पुगिसकेपछि आफूहरूले राजीनामा बुझाएको बताए।
उनका अनुसार चारै दल नेतृत्व सहितका विषय सहमतिको बिन्दु नजिक पुगेको छ।
'चारै दलले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा करिब सहमति नजिक पुगिसकेको छ। सुरूमा माओवादी त्यसपछि, एमाले, जनमत र लोसपाले नेतृत्व गर्ने सहमति करिब एउटा बिन्दुमा पुगिसकेको छ। तर मन्त्रालय भागबण्डा लगायतको विषय टुंगो लाग्न बाँकी छ,' उनले भने।
गठबन्धनभित्र रहेको जनमत पार्टी समेत माओवादीको नेतृत्व स्वीकार गर्न तयार रहेको एक नेताले बताए। मधेसमा भरत साह माओवादीका दल नेता छन्।
'मधेस सरकारबाट जसपा हटाउनु हाम्रो उद्धेश्य हो। मन्त्री बन्ने र सरकारमा जाने हाम्रो चाहना होइन। सरकार पनि लामो टिक्ने अवस्था छैन। केन्द्रमा पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुन लगातार आग्रह गरिरहनुभएकै छ। तर त्यहाँ पनि हामी सहभागी नहुने लाइनमा छौं,' जनमत पार्टीका एक सांसदले भने।
लोसपा पनि माओवादीका साहलाई मुख्यमन्त्री स्वीकार गर्न तयार रहेको ती नेताले बताए।
मधेसमा सभामुखसहित २५ जना सांसद रहेको एमाले सबभन्दा ठूलो दल छ।
नेतृत्व र भागबन्डा लगायतका विषय टुंगो लाग्न बाँकी रहेको बताउँदै एमाले संसदीय दलका नेता सरोज यादवले ठूलो दलको हैसियतले आफूले मुख्यमन्त्रीमा दाबी गर्ने बताए।
'ठूलो दल हुँदाहुँदै तीन पटक सरकारमा गएर पनि हामीले नेतृत्व गरेनौं। यसपालि नेतृत्वमा दाबी स्वाभाविक रूपले रहन्छ। नेतृत्व टुंगो लागिसकेको छैन। सबै कुरा हामी छलफल गरिसकेपछि टुंग्याउँछौं,' उनले भने।
तर एमालेका अर्का नेताले भने चार दलबीच मुख्यमन्त्री एमालेले पाउने सहमति भएको दाबी गरे।
'मुख्यमन्त्रीबाहेक चार मन्त्रालय एमाले, तीन जनमतले, माओवादी र लोसपाले दुई/दुई वटा पाउने सहमति करिब करिब भइसकेको दलको नेताले जानकारी दिनुभएको छ,' ती नेताले दाबी गरे, 'भरतजी (माओवादी संसदीय दलका नेता) अर्थ मन्त्रालयमा मान्नुभयो रे। तर जबसम्म सरकार बनिहाल्दैन, तबसम्म के हुन्छ, ठोकुवा गर्न भने सकिँदैन।'
जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारको नेतृत्वमा आफूहरूको दाबी रहने बताए।
सरकारको नेतृत्व र मन्त्रालयको भागबण्डाबारे अहिलेसम्म कुनै निर्णय नभएको उनको भनाइ छ।
'सरकारको पक्षमा रहेर वार्ता हुँदैन, पहिले विपक्षमा आउनुस्, त्यसपछि कुरा गरौंला भनेर हामीले भनेका थियौं। उहाँहरूले सरकार छोड्नुभयो,' यादवले भने, 'सरकार गठनको विषयमा केहीबेर छलफल भएको हो। तर सहमति केही भएको छैन। केही निर्णय माथिबाटै पनि हुन सक्छ।'
दुबै पार्टी सरकारबाट समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्री यादवले समेत अरू दलहरूसँग छलफल अघि बढाएका छन्। यही सरकारलाई निरन्तरता दिन कांग्रेस र लोसपासँग संवाद भइरहेको मुख्यमन्त्री यादवले बताए।
'तीस दिनको समय छ। सदनबाट म विश्वासको मत लिन्छु। तीस दिनभित्र मेरै पक्षमा विश्वासको मत आउँछ। मेरै नेतृत्वमा सरकार रहन्छ,' मुख्यमन्त्री यादवले सेतोपाटीसँग भने, 'एक महिना कामकाज गर्न गाह्रो हुन्छ। बजेट बनाउने बेला थियो, बजेट नै अन्योलमा पर्ला। मधेस प्रदेशलाई अन्योलमा राख्न भएन। संघीयता फेल कसरी गराउने एमालेको चरित्र नै हो।'
मुख्यमन्त्री यादवका अनुसार सरकार टिकाउन कठिन रहे पनि असम्भव छैन। एमाले, माओवादीसँगै रहेको नेकपा एकीकृत समाजवादी अझै सरकारमै छ।
एकीकृत समाजवादीबाट श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले केन्द्रबाट आफूहरूलाई केही निर्देशन नआएकाले सरकारमै रहेको बताइन्।
एमाले र माओवादीले नयाँ सरकार गठन गर्न एकीकृत समाजवादीलाई समेत बोलाएको थियो। तर छलफलमा उनीहरू गएनन्।
त्यस्तै केन्द्रमा जसपा खुलेरै विभाजित भए पनि प्रदेशमा अहिलेसम्म नयाँ पार्टीमा कोही खुलेका छैनन्। नेपाली कांग्रेससँग २२ जना सांसद छन्। एमाले सहितका दलसँग नयाँ सरकार गठनका लागि छलफलमा रहेको लोसपासँग मुख्यमन्त्री यादव सहितका जसपाका नेताहरू पनि संवादमा छन्।
यस्तो अवस्थामा जसपाका १९, कांग्रेसका २२, एकीकृत समाजवादीका ७ र लोसपाका ८ जना एक ठाउँमा आए यादव नेतृत्वको सरकार अझै पनि जोगिने अवस्था कायम रहन्छ।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले पनि जसपा, लोसपा र जनमत पार्टीसँग सरकारकै विषयलाई लिएर छलफल भइरहेको बताए।
'सबै दलसँग अहिले छलफल भइरहेको छ। कस्तो अवस्था बन्छ, हेरौं,' उनले भने।