मधेसमा नयाँ सरकार गठनबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित चार दलका नेताहरूले छलफल सुरू गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिएपछि यी दलका नेताहरू नयाँ सरकार गठनको परामर्शमा जुटेका हुन्।
एमाले र माओवादीले सरकार छोडेसँगै मधेस प्रदेशको सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रका सांसद युवराज भट्टराईको जनकपुरधामस्थित निवासमा चलिरहेको छलफलमा एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका सांसदहरू सहभागी छन्।
मधेसको सरकार बनाउन ५४ जना सांसद चाहिन्छ। यी चार दलसँग अहिले ५५ जना सांसद छन्। मधेसको सबैभन्दा ठूलो दल एमालेसँग सभामुख सहित २५, माओवादीका ९, जनमतका १३ र लोसपाका ८ जना सांसद छन्।
बैठकमा आगामी सरकार कस्तो हुने भन्नेबारे छलफल भइरहेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सेतोपाटीलाई जानकारी दिए। उनले अहिले एमाले सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीको दावी पनि एमालेकै रहेको बताए।
‘हामी सबैभन्दा ठूलो दल भएको नाताले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने दावी हिजो र आज पनि छ,’ यादवले भने, ‘हामी तीन पटकसम्म सरकारमा गइसक्यौं। यसपाली हामीले नेतृत्व पाउनुपर्छ। छलफलमा म यही प्रस्ताव राख्छु।’
यो छलफलमा नेकपा एकीकृत समाजवादी भने सहभागी छैन। संघीय सरकारमा रहेको समाजवादीबाट मधेस प्रदेशमा दुई जना मन्त्री छन्।
मधेसमा एकीकृत समाजवादीका ७ जना सांसद छन्। यो पार्टीबाट मधेस सरकारको श्रम तथा यातायात मन्त्री बनेकी बेची लुङ्गेलीले संघबाट कुनै निर्देशन नआएकाले आफू सरकारमै रहेको बताइन्।