सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिनानिष्कर्ष सकिएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा शुक्रबारदेखि सुरू हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ।
बैठक पुनः शुक्रबार बस्नेछ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रबारको प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको र शीर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहजतापूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए।
उनले भने, ‘अर्थ मन्त्रालयसँग सम्बन्धित भन्सारको महसुल सम्बन्धी विधेयकका बारेमा छलफल भएको छ। भोलि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा प्रमुख प्रतिपक्षले केही माग र मुद्दा उठाएर आन्दोलन गरिरहेको अवस्था छ। भोलिको विषयमा कसरी उहाँहरूले विषय राख्नुहुन्छ भन्ने थियो। भोलिको बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शीर्ष नेताहरूले बैठकमा सम्बोधन गर्ने छ।’
उनले अगाडि भने, ‘दलका नेताहरूले बोल्नुहुन्छ। कार्यसूची यसरी बनाएका छौं। व्यवस्थापन कार्यमा नगइसकेपछि प्रमुख प्रतिपक्षले बैठक सहज रूपमा अघि बढाउने भूमिका खेल्नुपर्छ। सहज गर्नुपर्छ। संसदको बैठकमा शीर्ष नेताहरूले महत्व दिएर सम्बोधन गर्ने कुरा वास्तवमा जरूरी छ। त्यसले राजनीतिक अर्थ दिन्छ। देशभरका समस्या शीर्ष नेताबाट उजागर हुन्छ।’
बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए।
बजेट अधिवेशन भएकाले सुरू हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको बताए।
उनले भने, ‘भोलि बस्ने संसद बैठकका बारेमा सम्माननीय सभामुखज्यूले भोलिको बैठक व्यवस्थित गर्न गृहकार्य गर्नुभएको हो। सदन भोलि सुरू हुन्छ। त्यसमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्छ। बजेट अधिवेशन भएकाले सुरू हुन्छ र बोल्नुहुन्छ।’
बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार नै बस्ने भएकाले थप निर्णय नभए पनि संसद सामान्य हिसाबमा नै अघि बढ्ने बताए।
उनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने पनि जानकारी दिए। संसदप्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने उनले बताए।
बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलका प्रमुख सचेतक र सचेतकहरूसँग शुक्रबारको संसद बैठक सञ्चालन सम्बन्धी छलफल भएको बताए।
उनले बैठक सञ्चालनमा अझै कुरा नमिलेको र कांग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने बताए। —न्युज एजेन्सी नेपाल