कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दल नेता हिक्मत कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार दिउँसो कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
आफूले मुख्यमन्त्री पदमा दाबी पेस गरेका कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुख खापुङ्गले जानकारी दिए।
‘उहाँलाई मुख्यमन्त्री नियुक्त गरेको छु, १५ मिनेटपछि नियुक्ति पत्र लिन आउनुहोला,’ उनले भने, ‘शपथ पनि आजै हुन्छ।’
कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको हस्ताक्षरसहित बिहीबार बिहान मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। कार्कीलाई मुख्यमन्त्री दाबी पेस गर्दा हस्ताक्षर गरेका ५२ सांसदलाई प्रदेश प्रमुख खापुङ्गले कार्यालय बोलाएर सनाखत गराएका थिए।
कोशीमा बहुमतका लागि ४७ सांसद भए पुग्थ्यो।
प्रदेश प्रमुख खापुङ्गले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गर्दै शुक्रबार अपराह्न ५ बजेसम्म समय दिएका थिए। असंवैधानिक तरिकाबाट प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालतमा रिट लिएर गएका छन्।
यो पनि: घुमीफिरी हिक्मत कार्कीकै हातमा कोशीको सत्ता