इलाम-२ प्रतिनिधि सभा र बझाङको एउटा प्रदेश सभामा उपनिर्वाचन सकिएर मतपरिणाम आएको एक साता बढी भइसकेको छ।
वैशाख १५ मा भएको उपनिर्वाचनमा दुवै क्षेत्र नेकपा (एमाले) ले जितेको थियो।
यो उपनिर्वाचनका परिणामलाई दलहरुले आफूअनुकूल व्याख्या गरिरहेका छन्।
एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै 'पपुलिजम' स्वीकार्य छैन भन्ने सन्देश इलाम उपनिर्वाचनले दिएको बताएका छन्।
‘सामाजिक सञ्जालमा चर्चामा रहेका व्यक्तिलाई अघि सारेर पपुलिजमका आधारमा विचारधाराको जगमा खडा भएका पार्टीको विकल्प खोज्ने र नेपाली समाजलाई दिग्भ्रमित पार्न खोजिएको थियो,’ उनले भने, ‘इलामले पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश दियो, भविष्यका लागि यो एउटा बलियो आधार तय भएको छ।’
आफ्नै संगठनकै बलमा आमनिर्वाचन २०८४ मा बलियोसँग उभिन सकिने निष्कर्षमा एमाले पुगेको छ।
नेपाली कांग्रेसले भने 'पहिचानवादी'ले मत काट्दा र एमालेले गठबन्धन गर्दा पराजय भोग्नु परेको बताएको छ। कांग्रेसले इलाम र बझाङ उपनिर्वाचन परिणामबारे औपचारिक रूपमा समीक्षा भने गरेको छैन।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले इलाममा गठबन्धन हुनु र पहिचानवादीले मत काट्दा पार्टीले अपेक्षाअनुसार मत नल्याएको र बझाङमा आन्तरिक व्यवस्थानमा चुक्दा परिणाम हात पार्न नसकिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम-२ मा पार्टीका उम्मेदवारले जित्न नसके पनि सिक्न सकेको बताएका छन्।
‘इलाममा जित्न सकिएन, सिक्न सकियो। कुनै इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।
रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ६ का सांसद शिशिर खनालले इलाम-२ मा यसपालि रास्वपाले चार गुणाले मत बढाएको र एमाले तथा कांग्रेस दुवैको मत घटेको तर्क गरेका छन्।
खासमा इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभाको मतपरिणाम कसरी विश्लेषण गर्ने र यसको सन्देश कसरी बुझ्ने? हामीले इलाम र बझाङमा प्रमुख दलका उम्मेदवारले २०७९ र यसपालि ल्याएका मत र त्यसमा देखिएको ट्रेन्डको विश्लेषण गरेका छौं। त्यसको आधारमा तत्काललाई के निष्कर्षमा पुग्न सकिन्छ भनेर हेरेका छौं।
पहिले बझाङको प्रदेश सभाको निर्वाचन परिणामको कुरा गरौं।
२०७९ मंसिरको चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले जिते। सवारी दुर्घटनामा उनको निधन भएपछि उपनिर्वाचन भएको थियो। बझाङमा दलहरूले गठबन्धन गरेनन्, एक्लाएक्लै भिडे। यहाँ मतदाता ६१७४८ थिए, ३०३३७ मत खस्यो।
एमाले उम्मेदवार दमनबहादुर भण्डारी ११,६१३ मतसहित प्रदेश सभा सदस्य विजयी भए। २०७९ मा यहाँ एमालेका उम्मेदवारले १३३३६ मत ल्याएका थिए। यसपालिको उपनिर्वाचनमा बझाङमा मत नै कम खसेकाले एमालेले पाएको मत पनि केही कम देखिएको हो। तर खसेको मतको अनुपातमा एमालेले आफ्नो मत हाराहारी कायम गरेको देखिन्छ।
एमालेको निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। उनका बुबाले दुई वर्षअघि जितेको सिट उनले जोगाउन सकेनन्। किनभने गएको चुनावमा कांग्रेसले गठबन्धनका कारण माओवादी र एकीकृत समाजवादीको पनि मत पाएको थियो। त्यतिखेर कांग्रेसका पृथ्वीबहादुर १७११२ मत ल्याएर निर्वाचित भएका थिए।
यसपालि उनका छोराले ११३४६ मत पाए। तर यसपटक माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएको २५१४ मत जोड्ने हो ६ हजार बढी मत हुन्छ। दुई वर्ष अघि कांग्रेसले पाएको १७ हजार बढी मतमा ६ हजार घटाउने हो भने कांग्रेसको मत त्यहाँ ११ हजार जति नै हो भन्ने प्रष्ट देखिन्छ।
यसरी बझाङमा प्रमुख दुई दल कांग्रेस र एमालेले पाएको मत लगभग स्थिर देखिन्छ।
बझाङमा प्रदेश सभाको उपनिर्वाचनमा रास्वपाले भाग लिएको थिएन। तर गणतन्त्रवादी दलहरुको साख घटेको र राजाका समर्थक बढेको तर्क गरिरहेको राप्रपाले भने उम्मेदवार उठाएको थियो। यसपालि बझाङको निर्वाचनले भने राप्रपाको दाबीलाई पुष्टि गर्ने कुनै आधार दिएन। बरु राजावादी दल राप्रपाको जनाधार थप खस्किएको देखायो।
२०७९ को चुनावमा यहाँ राजावादी भनेर चिनिएका दुई दल राप्रपा नेपाल र राप्रपाबाट उम्मेदवार थिए।
त्यसबेला राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६ र राप्रपाका हरिलाल भट्टराई ४०४ मत ल्याए। यसपालि कमल थापा नेतृत्वको राप्रपा नेपालबाट बझाङमा उम्मेदवारी नै परेन भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका उम्मेदवारले पहिलेकै भोट जोगाएनन्। राप्रपाका किशोर खड्काले २४२ मतमात्रै ल्याए।
अब इलाम-२ को कुरा गरौं।
एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७७७२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भए। भलै सुहाङले बुवा सुवासले २०७९ मंसिरको चुनावमा पाएको जति मत पाएनन्। हृदयघातका कारण सुवासको निधन भएपछि यहाँ उपनिर्वाचन भएको थियो।
त्यसबेला सुवासले ३० हजार २० मत ल्याएका थिए। अर्कोतर्फ कांग्रेस, माओवादी, एकीकृत समाजवादीले गठबन्धन गरी कांग्रेसका डम्बर खड्कालाई साझा उम्मेदवार बनाएका थिए।
गठबन्धनसँग एमालेका सुवास प्रतिस्पर्धामा उत्रिए, जिते पनि। यसपालि एमालेले माओवादी, परिवार दल र नेत्रविक्रम चन्द 'विप्लव' समूहसँग पनि तालमेल गर्यो, तैपनि सुवासको जति मत सुहाङको आएन।
मतदाता र मतदान गर्ने दुवैको संख्या बढ्दा पनि बुवा सुवासको भन्दा सुहाङको २२४८ कम मत आयो।
बझाङ-१ को प्रदेश सभामा दुई वर्ष अघि दलहरुले समानुपातिकतर्फ पाएको मतको संख्या निर्वाचन आयोगले पनि राखेको छैन। बझाङका दुइटा प्रदेश सभा क्षेत्रका समानुपातिक मत एकै पटक गणना गरिएको थियो। तर इलाम-२ मा प्रतिनिधि सभामा दुई वर्ष अघि प्रमुख दलहरुले पाएको समानुपातिक तर्फको मत संख्या भने हामीले आयोगबाट लिएका छौं।
कुनै पनि निर्वाचन क्षेत्रमा कुन दलको पकड कति छ भनेर जनाउने सबैभन्दा प्रभावकारी सूचक नै ती दलहरुले पाएको समानुपातिक मत हो।
यसरी हेर्दा ०७९ मा इलाम-२ मा एमालेले समानुपातिकतर्फ २६५६२ मत ल्याएको थियो। यो मत भने सुहाङले यसपालि पनि जोगाए। एमालेले पाएको यो समानुपातिक मत भन्दा सुहाङले १२ सयजति बढी मत ल्याए। तर यसपालि एमालेलाई माओवादी केन्द्रले पनि सघाएको थियो।
अघिल्लो निर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाँच हजार बढी मत ल्याएको थियो। यसपालि सुहाङले एमालेले दुई वर्ष अघि समानुपातिकमा पाएको सबै मत जोगाएका भए र माओवादी केन्द्रको पनि सबै मत ल्याएका भए उनको मत थप केही हजारले बढ्नु पर्थ्यो, तर त्यस्तो देखिएन। एमाले र माओवादीको केही मत अरु उम्मेदवारमा गएको देखिन्छ।
कांग्रेसका उम्मेदवार डम्बर खड्का यसपालि २१९४२ मत ल्याएर सुहाङसँग पराजित भए। २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२,३३३ मत ल्याएको थियो। यसरी हेर्दा कांग्रेसलाई ०७९ मा रूख चिह्नमा मत हालेकामध्ये ३९१ जनाले मात्र यसपालि उपनिर्वाचनमा खड्कालाई मत दिएनन्। यसको अर्थ कांग्रेसले इलाम-२ मा आफ्नो मत लगभग जोगायो तर नयाँ मत थप्न सकेन।
रास्वपाले यसपालि इलाम-२ मा निकै जोडबल गरेको थियो। यहाँ निर्वाचन जित्न सके वा निकटतम प्रतिद्वन्द्वी बन्न सके उसले भन्दै आएको ‘मिसन-८४’ लाई ठूलो बल पुग्ने उसको आश थियो। त्यो आशा निराशामा बदलिइएको छ। यो दलका उमेदवार एमाले र कांग्रेससँगको प्रतिस्पर्धामा टिक्नै सकेनन्। उनी तेस्रो पनि भएनन्। रास्वापाका मिलनकुमार योङहाङ लिम्बू ५०५० मत ल्याएर चौथो बने।
रास्वपाका उमेदवार प्रकाश सापकोटाले २०७९ को चुनावमा १३८० मत ल्याएका थिए। सायद त्यही भएर हो रास्वापाका नेताहरुले यहाँ आफ्ना उम्मेदवारले झण्डै चार गुणाले मत बढाएको दाबी गरेका छन्।
तर अघिल्लो पटक नै यहाँ रास्वापालाई समानुपातिकतर्फ घण्टीमा ४६८६ मतदाताले मत दिएका थिए। त्यस आधारमा हेर्ने हो भने यसपालि घण्टीमा थप ३६४ जनाले मात्र मत दिएका छन्।
यसरी हेर्ने हो भने इलाम-२ को प्रतिनिधि सभा निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा एमाले, कांग्रेस र रास्वापाको मतमा खासै धेरै ठूलो परिवर्तन आएको देखिन्न।
यसपालि इलाम-२ मा उल्लेख्य मात्रामा मत तान्नेमा मुढा चुनाव चिन्न लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बू देखिए। उनले ११ हजार बढी मत पाएका थिए।
कहाँबाट आयो त यो मत?
२०७९ र यसपालिको मत परिणामालाई तुलना गरेर हेर्दा, डकेन्द्रले सुवास नेम्वाङले आफ्नो व्यक्तित्वका कारण तानेको जनजाति मत, माओवादीको उल्लेख्य मत, कांग्रेसको थोरै मत र स-साना पहिचानवादी दलहरूको मत तानेर ११ हजार बढी मत पुर्याएको देखिन्छ। आउने चुनावमा पहिचानवादी शक्ति कमजोर बन्यो भने त्यसको लाभ एमालेलाई हुन सक्छ भने यो शक्ति थप बलियो भयो भने एमालेलाई केही क्षति हुनेछ।
'राजा'सँग अब नयाँ समझदारी नबनाए देश नजोगिने तर्क गरिरहेको राजावादी दल राप्रपाका उमेदवारले यसपालि इलाम-२ को निर्वाचनमा प्रगति गरे कि गरेनन्?
२०७९ को चुनावमा राप्रपा उम्मेदवार गणेशप्रसाद दुलालले ५१० मत ल्याएका थिए भने समानुपातिकतर्फ राप्रपाले ११९१ मत ल्याएको थियो। यसपालि राप्रपा उम्मेदवार लक्ष्मी गुरूङले जम्मा ४०४ मत मात्रै ल्याए। यो पहिलेको चुनावमा राप्रपाले प्रत्यक्षतर्फ पाएकोभन्दा १०६ र समानुपातिकको दाँजोमा ७८७ ले कम हो। त्यसले राप्रपाको देश बचाउन राजा चाहियो भन्ने नाराको इलाम-२ मा कुनै सुनुवाइ भएको देखिन्न।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले यसपालि ४०८ मत ल्याए। गएको चुनावमा समानुपातिकतर्फ सो दलले जम्मा ५८६ मत ल्याएको थियो। राईले समानुपातिक मतभन्दा १७८ कम मत पाएका छन्।
यो सबैको निचोड के हो?
इलाम-२ मा २०७९ र २०८१ को निर्वाचनमा दलहरूको लोकप्रियताको सुई खासै दायाँ वा बायाँ सरेको देखिन्न। यसको लाभ ठूला दलहरुलाई हुन्छ भने जनमत बदलेर ठूला दलहरूलाई चुनौती दिन खोज्ने साना र नयाँ दलहरूलाई इलामको उकालो छिचोल्न अझै कठिन छ भन्ने स्पष्ट देखिन्छ।