जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि त्यसका अध्यक्ष उपेन्द्र यादवलाई मधेस प्रदेशमा पनि क्षति भएको छ।
जसपा नेपालको मुख्य आधार क्षेत्र नै मधेस हो।
जसपा नेपालबाट अशोक राईसहित प्रतिनिधि सभाका ७ जना सांसद अलगिएर जनता समाजवादी गठन गरेका छन्। सोमबार नयाँ पार्टीलाई निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ।
जसपा नेपाल प्रत्यक्षतर्फ ७ जना सांसदमध्ये ६ जना मधेस प्रदेशबाटै निर्वाचित भएका छन्। तीमध्ये तीन जना सांसद राई नेतृत्वको नवगठित जनता समाजवादीमा लागेका छन्।
मधेस प्रदेश सभामा जसपाका १९ जना सांसद छन्। तर प्रदेशमा नयाँ पार्टीतर्फ अहिलेसम्म कोही खुलेका छैनन्। प्रदेशका ६ जनाभन्दा बढी सांसदले उपेन्द्र यादवलाई छाडेर राई पक्षमा लाग्ने देखिएको नवगठित जसपाका एक नेताले दाबी गरेका छन्।
निर्वाचन आयोगले मंगलबार सूचना जारी गरेर जसपा नेपालबाट स्थानीय र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई नवगठित जसपामा सनाखत गर्न २१ दिनको समय दिएको छ।
‘अहिले नेताहरू माथिकै सेटलमेन्टमा लागेका छन्। मधेसका ६/७ जना सांसद अशोक राईको सम्पर्कमा रहेको सुन्नमा आएको छ। माथि मन्त्री बनेपछि प्रदेश सरकारमा पनि नयाँ पार्टी गयो भने मन्त्री हुन पनि उपेन्द्रको साथ छोड्नेहरूको संख्या खुल्छ,’ ती नेताले भने।
उपेन्द्रलाई विभाजनपछि सबैभन्दा ठूलो धक्का सप्तरीमा लागेको छ। सप्तरीको—१ बाट प्रतिनिधि सभामा निर्वाचित नवलकिशोर साह र सप्तरीकै समानुपातिक सांसद रञ्जुकुमारी झाले नयाँ पार्टी रोजेका छन्। सप्तरीको राजनीतिमा प्रभाव भएकी रेणु यादवले समेत उपेन्द्रसँग विद्रोह गरेकी छन्।
सिराहा—४ बाट प्रतिनिधिसभामा निर्वाचित वीरेन्द्र प्रसाद महतोले समेत नयाँ जसपामा लागेका छन्। उपेन्द्रनिकट रहेका सिराहाका विजय यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी पछिल्लो समय निष्क्रिय छन्। सिराहाबाटै प्रतिनिधि सभामा निर्वाचित राजकिशोर यादव उपेन्द्रसँग लामो समयदेखि रूष्ट छन्। यद्दपी उनले भने अहिलेसम्म उपेन्द्रको साथ छोडेका छैनन।
धनुषामा तत्काल नखुले पनि उपेन्द्रसँग असन्तुष्ट कैयन् नेता राई नेतृत्वको नयाँ दलमा जान सक्ने जसपाकै नेताहरूको दाबी छ। महोत्तरीमा माओवादी छोडेका रामकुमार शर्मालाई उपेन्द्रले भित्रयाएपछि त्यहाँका प्रभावशाली नेता हरिनारायण यादवसमेत उपेन्द्रसँग असन्तुष्ट छन्।
पर्साका प्रभावशाली नेता प्रदीप यादव, वीरगञ्जका मेयर राजेशमान सिंहलगायत स्थानीय नेताहरू उपेन्द्रको साथ छोडेर नयाँ पार्टीमा लागेका छन्।
उपेन्द्र पक्षधर बारा र पर्साका अरू नेतालाई पनि आफूतिर तान्ने प्रयासमा प्रदीप यादव छन्। विभाजनले संसदीय राजनीतिमा आएदेखि उपेन्द्र मधेसमा पहिलो पटक यति कमजोर अवस्थामा पुगेका हुन्। योसँगै मधेस प्रदेशमा ७ वर्षदेखि गरिरहेको सत्ताको नेतृत्वसमेत समेत उपेन्द्रको पार्टीबाट खोसिने सम्भावना बढेर गएको छ।
यद्यपि उनीनिकट नेताहरूले भने नयाँ गठबन्धनबाट आफ्नो तृत्वको सरकार टिकाइ राख्ने बताउँछन्।
‘जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा त एकै ठाउँमा छन्। एकीकृत समाजवादी पनि हामीतिरै आउने कुरा थियो तर यकिन भइसकेको छैन। अन्तिममा जनमतलाई पनि मिलाउने प्रयास गर्छौं,’ जसपा नेपालका एक नेताले भने।
एक सय ७ सदस्यीय प्रदेश सभामा अहिले १ सय ६ जना सांसद छन्। मधेसमा सरकार टिकाइराख्न वा बनाउन बहुमतका लागि ५४ सांसद आवश्यक हुन्छ। जसमध्ये नेपाली कांग्रेसको २२, जसपा (उपेन्द्र) सँग १९, लोसपासँग ८, जनमतसँग १३ जना सांसद रहेका छन्।
सोमबार बसेकाे संसदीय दलको बैठकले प्रदेशसभा सञ्चालन गर्ने विषयमा जनमत पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ। जनमतसँग सत्ता सहकार्यको बारेमा छलफल हुन सक्ने जसपा नेपालका नेताहरू बताउँछन्।
तर जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले भने जसपा नेतृत्वमा रहुन्जेल आफूहरूले सरकारलाई समर्थन नगर्ने बताए। ‘जसपा नेपालले सरकारको नेतृत्व हामीलाई दियो भने प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा केन्द्रीय तहबाटै कुराकानी हुनसक्छ,’ उनले भने।
पार्टी विभाजनले उपेन्द्रलाई ठूलो असर परेको उनीसँग लागेका नेताहरू समेत स्वीकार्छन्।
‘पार्टी फुटेर ठूलै क्षति भएको छ। संसदीय राजनीतिमा यसले धेरै प्रभाव पार्छ। तर संगठनमा खासै प्रभाव पार्दैन। किनकि फुटेर गएकाहरूसँग जनमत छैन,’ उपेन्द्र पक्षधर नेता योगेन्द्र राय भन्छन्, ‘विभाजनको बारेमा पार्टीभित्र समीक्षा र आत्मालोचना दुवै जरूरी छ। छलफल गरेर पार्टीलाई मजबुत बनाउँछौं। विगतका कमीकमजोरी सच्याउँछौं।’