इलाम क्षेत्र नम्बर २ मा यसपालि पनि नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले हार व्यहोरे।
वैशाख १५ मा भएको उपनिर्वाचनमा खसेको मत गणना मंगलबार बिहानीपख सकिएको थियो।
परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ २७७७२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
कांग्रेस जिल्ला सभापतिसमेत रहेका खड्काले २१९४२ मतमात्रै ल्याए।
इलाम-२ मा यसपालि कांग्रेस एक्लै चुनाव लडेको थियो। सत्तारूढ एमालेले नेकपा (माओवादी केन्द्र) सहितसँग तालमेल गरेको थियो।
एमालेको बलियो सांगठनिक मत र माओवादी केन्द्रलगायत दलको सहयोगका सामु कांग्रेसका खड्का हारे।
‘न वंशवाद, न अवसरवाद मात्र सेवा भाव' र 'मर्दापर्दा डम्बर खड्का' नारासहित कांग्रेसले खड्कालाई मैदानमा उतारेको थियो। एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएपछि त्यसप्रति लक्षित गर्दै कांग्रेसले 'राजतन्त्रमा जस्तो गणतन्त्रमा पनि वंशवादकै निरन्तरता' भनेर टिप्पणी गरेको थियो।
यो कुरा कांग्रेसकै हकमा बझाङमा भने ठ्याक्कै उल्टो थियो। बझाङ प्रदेश सभा उपनिर्वाचनमा कांग्रेसले अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाएको थियो। उनी २०७९ मा चुनाव जितेका पृथ्वीबहादुर सिंहका छोरा हुन्। पृथ्वीबहादुरको निधनपछि वैशाख १५ मै भएको उपनिर्वाचनमा सिंहलाई हराउँदै यहाँ पनि एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। इलाम-२ मा वंशवादको विरोध गरेको कांग्रेसले बझाङमा वंशवादलाई निरन्तरता दिएको थियो।
इलाम-२ मा कांग्रेसका खड्का २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार सुवाससँग ११४ मतान्तरले हारेका थिए। त्यसबेला एमाले एक्लै र कांग्रेसका खड्कालाई माओवादी, एकीकृत समाजवादीसहित तत्कालीन सत्ता गठबन्धनले सघाएको थियो।
गठबन्धन गर्दा पनि खड्काले चुनाव हारे। उनले २९९०६ मत ल्याएका थिए भने नेम्वाङले ३००२० मतसहित जितेका थिए। झिनो मतान्तरले चुनाव हारेको र जिल्ला सभापति पनि रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले यसपालिको उपनिर्वाचनमा खड्कालाई नै टिकट थमाएका थिए।
इलाम-२ मा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हो। यसपालि पनि त्यस्तै देखियो। गठबन्धन गरेर २०७९ मा एमालेलाई चुनौती दिएको कांग्रेसले यसपालि एक्लै गठबन्धनसहितको एमालेलाई टक्कर दिन सकेन।
एमाले उम्मेदवार सुहाङले २७७७२ मत ल्याउँदा कांग्रेसका खड्का २१९४२ मै रोकिए। उनीहरूबीच ५८३० को मतान्तर छ। आफूले पहिले ल्याएको मत पनि जोगाउन नसक्दा कांग्रेसका खड्का फराकिलो मतान्तरसहित हारेका हुन्।
खड्का आफै प्रत्यक्षतर्फ उम्मेदवार हुँदा २०७९ मा कांग्रेसले इलाम-२ मा समानुपातिकतर्फ २२३३३ मत ल्याएको थियो। पार्टीलाई रूख चिह्नमा प्राप्त त्यो मत पनि खड्काले जोगाउन सकेनन्। २०७९ को चुनावमा कांग्रेसले समानुपातिकतर्फ ल्याएको मतभन्दा कम मत यसपालि खड्काले ल्याए। कांग्रेसलाई समानुपातिकमा त्यसबेला मत दिएका ३९१ जनाले यसपालि खड्कालाई मत हालेनन्।
सेतोपाटीले पाँच दिनसम्म इलाम-२ का ४२ वडा पुगेर १०९६ जना मतदातासँग कुराकानी गर्दा कांग्रेसको केही मत स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू र रास्वपाका उम्मेदवार मिलन लिम्बूले काट्ने देखिएको थियो।
अब हामी इलामका ४२ वडामा कांग्रेसले ल्याएको मतबारे चर्चा गरौं।
कांग्रेसका खड्काले इलाम नगरपालिकाबाहेक अन्य पालिकामा पहिलो मत ल्याउन सकेनन्।
इलाममा २०४०३ सदर मतमध्ये ८५०५ मतसहित कांग्रेस पहिलो बन्यो। खड्काले इलामको वडा नम्बर १ मा ८००, २ मा ५१५, ३ मा ८०३, ४ मा ६७५, ५ मा ९४४, ६ मा ८३०, ७ मा ६८०, ९ मा १०९२, ११ मा ४५६ मत ल्याए।
देउमाई नगरपालिकामा सदर मत १६०६६ छ। यहाँ एमाले पहिलो र कांग्रेसले दोस्रो मत ल्याएको देखिन्छ। कांग्रेसले ५०५१ मतमात्रै पायो। वडा नम्बर १ मा ५२८, २ मा ३९७, ३ मा ७५७, ४ मा ४८९, ५ मा ७१६, ६ मा ६२५, ७ मा ४४१, ८ मा ३३६ र ९ मा ७६२ मत ल्याएको छ।
माई नगरपालिकाका ३ वटा वडा मात्रै इलाम-२ मा पर्छन्। यहाँ एमालेले पहिलो मत पायो भने दोस्रो मत मुढाले ल्याउँदा कांग्रेस तेस्रोमा खुम्चियो। ४५८० मत सदर भएकोमा कांग्रेसले १०६२ मतमात्रै ल्यायो। वडा नम्बरर ६ मा ३३५, ७ मा २२३ र ८ मा ५०४ मत ल्याएको हो।
फाकफोकथुम गाउँपालिकामा सदर मत ९५२४ छ। यहाँ एमालेले पहिलो मत ल्यायो भने कांग्रेस दोस्रो भयो। कांग्रेसले ३२५८ मत ल्याएको छ। वडा नम्बर १ मा ६५७, २ मा ४९८, ३ मा ५०३, ४ मा ५३९, ५ मा २७२, ६ मा ३१३ र ७ मा ४७६ मत ल्याएको देखिन्छ।
माङसेबुङ गाउँपालिकामा कांग्रेसले १४८० मत ल्याएको छ। यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू (मुढा चिह्न) ले सबैभन्दा बढी मत (२६३९) ल्याएका छन्। कांग्रेसले माङसेबुङ वडा नम्बर १ मा ४३६, २ मा ३५१, ३ मा ३१३, ४ मा ११८, ५ मा ४९ र ६ मा २१३ मतमात्रै ल्याएको छ।
चुलाचुली गाउँपालिकामा सदर मत ११०१२ छ। यहाँ एमाले पहिलो, मुढा दोस्रो हुँदा कांग्रेस तेस्रोमा खुम्चिएको छ। कांग्रेसले २५८६ मतमात्रै ल्यायो जबकी एमालेले ४०४७ र मुढाले ३२९९ मत ल्याएका छन्।
कांग्रेसले वडा नम्बर १ मा ५०१, २ मा ६९१, ३ मा ३३०, ४ मा २८६, ५ मा ३२९ र ६ मा ४४९ मत ल्याएको छ।
अब हामी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवार भएकाहरूले पाएको मत हेरौं।
इलाम-२ मा पर्ने स्थानीय तहका वडाहरूमा कांग्रेसले ३२९७८ मत पाएको थियो। कतिपय वडामा कांग्रेसले त्यसबेला माओवादीलगायत दलसँग गठबन्धन गरेको थियो। माङसेबुङमा गठबन्धन गरे पनि एउटै वडा जित्न सकेको थिएन।
२०७९ को स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकामा ८ वटा वडाध्यक्ष जितेको थियो। कांग्रेसले त्यसबेला वडा नम्बर १ मा ११८१, २ मा ६२६, ३ मा ७२७, ४ मा ९६८, ५ मा १४१८, ६ मा १२२७, ७ मा ९६२, ८ मा ९१३, ९ मा १५११, ११ मा ९६७ र १२ मा १००२ गरी कूल ११५१२ मत ल्याएको थियो।
यसपालि वैशाख ११ मा भएको उपनिर्वाचनमा इलाममा कांग्रेसका उम्मेदवार खड्काले जम्मा ८५०५ मतमात्रै ल्याए। यो मत २०७९ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले पाएकोभन्दा ३००७ ले कम हो।
देउमाइ नगरपालिकामा कांग्रेसले ४ वटा वडा जितेको थियो। वडा नम्बर १ मा ८६८, २ मा ६९७, ३ मा १२२०, ४ मा ६४३, ५ मा ९४८, ५ मा ९१०, ७ मा ७४१, ८ मा ७२८ र ९ मा १४१२ गरी कूल ८१६७ मत ल्याएको थियो।
देउमाईमा पनि खड्काले २०७९ मा वडाध्यक्षका उम्मेदवारले ल्याएको मत जोगाउन सकेनन्। खड्काले यसपालि यहाँ ५०५१ मतमात्रै ल्याएका थिए। यो पहिलेकोभन्दा ३११६ मतले कम हो।
माई नगरपालिकाका ३ वडामध्ये एउटा मात्रै कांग्रेसले जितेको थियो। वडा नम्बर ६ मा ८५८, ७ मा ६०७ र ८ मा ६९६ गरी कूल २१६१ मत ल्याएको थियो। माईमा पनि खड्काले पुरानो मत जोगाएनन्। खड्काले यसपालि यहाँ १०६२ मात्रै मत ल्याए। यो मत २०७९ मा वडाध्यक्ष उम्मेदवारले ल्याएको भन्दा १०९९ ले कम हो।
फाकफोकथुम गाउँपालिकामा कांग्रेसले ४ वटा वडा जितेको थियो। वडा नम्बर १ मा ८०४, २ मा ७१४, ३ मा ६७२, ४ मा १०१९, ५ मा ५४५, ६ मा ४७६ र ७ मा ७५९ गरी कूल ४९८९ मत ल्याएको देखिन्छ। खड्काले यसपालि यहाँ ३२५८ मत ल्याए। २०७९ मा वडाध्यक्ष उम्मेदवारहरूले ल्याएकोमध्ये १७३१ मत खड्कालाई आएन।
माङसेबुङ गाउँपालिकामा ३ वटा वडामा मात्र कांग्रेसले उम्मेदवारी दिएको थियो। वडा नम्बर १ मा ६४०, ४ मा २७१ र ६ मा ३२४ गरी कूल १२३५ मत ल्याएको थियो। यो गाउँपालिकामा यसपालि खड्काले १४८० मत ल्याए। २०७९ मा कांग्रेस वडाध्यक्ष उम्मेदवारले ल्याएकोभन्दा २४५ बढी मत खड्काले ल्याएका छन्।
चुलाचुली गाउँपालिकाको वडा नम्बर १ बाहेक अरू सबै कांग्रेसले जितेको थियो। वडा नम्बर १ भने लिम्बुवानले जितेको थियो। कांग्रेसले वडा नम्बर १ मा ५२७, २ मा ८६७, ३ मा १०९८, ४ मा ८२९, ५ मा ७०४ र ६ मा ८८९ गरी कूल ४९१४ मत ल्याएको थियो। यसपालि खड्काले यो पालिकामा २५८६ मत मात्रै ल्याए। २०७९ को चुनावमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले पाएको मतमध्ये उनले २३२८ मत तान्न सकेनन्।
इलाम-२ मा २०८१ वैशाख १५ को उपनिर्वाचनमा २०७९ मंसिरको भन्दा मतदाता ४२२ जना थपिएका थिए। कांग्रेसले विगतमा पाएकै मत पनि जोगाउन नसक्दा कांग्रेस जिल्ला सभापतिसमेत रहेका खड्का यसपालि पनि पराजित भएका छन्।
यससँगै कांग्रेसमा टिकट लिन पनि लामो रस्साकस्सी चलेको थियो। इलामबाट सिफारिस भएका भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम कोशी प्रदेश कांग्रेस कार्यसमितिले केन्द्रीय कार्यालय पठाएको थियो।
पार्टीभित्र विवाद र अन्तर्घात नहोस् भनेर उम्मेदवार टुंग्याउनुअघि सभापति देउवाले आकांक्षीहरूलाई निवास बूढानीलकण्ठमै बोलाएर छलफल गरेका थिए। संस्थापनइतर पक्षका नेताहरूको विरोधकै बीच सभापति देउवाले खड्कालाई टिकट दिएका थिए।