जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्द चोकबाट बलवाटोल जाने बाटोमा सरसफाइको गाडी नआएको १० दिन भयो। नियमित सरसफाइ नहुँदा सडक किनारामा दैनिक जम्मा हुने फोहोरको थुप्रो लागेको छ।
रामानन्द चोकबाट बलवाटोलतर्फ जाने बाटोका किनारमा जताततै फोहोर थुप्रिएको छ।
‘फोहोर उठाउने गाडी चोकतिर आउँछ, भित्री गल्लीमा मुस्किलले १० दिनमा एक पटक आउँछ। फोहोरको गन्ध र मच्छर (लामखुट्टे) ले हैरान पारेको छ,’ बलवाटोलमा चियानास्ताको होटल चलाउने अर्जुन राय भन्छन्, ‘उपमहानगरले केही काम गरेको छैन। फोहोर पनि उठाउँदैन। जनतासँग कर मात्रै उठाउन जानेको छ।’
टोलका बासिन्दाहरू फोहोरको थुप्रोमा आगो लगाउँछन्। फोहोरमा प्लास्टिक धेरै हुन्छ। प्लास्टिक जलेको धुवाँले धेरै हानी गरेको अर्जुनको भनाइ छ।
‘बाटोमा जताततै फोहोर जम्मा भएको हाम्रा जनप्रतिनिधिले देखेका छन्, कर्मचारीले पनि देखेका छन् तर कसैले ध्यान दिएका छैनन्,’ उनी भन्छन्, ‘गल्लीमा हिँड्नै नसकिने भएको छ। घरमा बस्न पनि मुस्किल परेको छ।’
सहरी क्षेत्रका सबैजसो भित्री सडक र गल्लीमा फोहोरको डंगुर छ। वडा नम्बर ९ र १० का अधिकांश खाली ठाउँमा फोहोर थुपार्न थालेको वर्षौं भएको छ।
स्कुल–कलेज वरिपरि पनि सडक किनारमै धेरै दिनदेखि फोहोर थुप्रिने गरेको छ। फोहोरको दुर्गन्ध निकै परसम्म फैलिन्छ।
बाह्र बिघा मैदानको पश्चिमी सडक किनारमा फोहोरको थुप्रो लागेको छ। संकटमोचन मन्दिरको उत्तरी सडक किनारामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलाएको छ।
स्थानीयवासीहरूका अनुसार फोहोर उठाउने गाडीले मानिसका घरअगाडिको मात्रै उठाउँछ। अस्पतालको फोहोर पनि सडक किनारामै फालिएको हुन्छ।
जनकपुर उपमहानगरमा फोहोर व्यवस्थापन चुनावी एजेन्डा बन्ने गरेको छ। चर्को एजेन्डा बने पनि पूर्ववर्ती जनप्रतिनिधिको कार्यकालमा फोहोर व्यवस्थापन हुन सकेन।
हालका जनप्रतिनिधिको एक वर्ष कार्यकाल पूरा हुँदा पनि अवस्था उस्तै छ। दिनप्रतिदिन फोहोर बढ्दो छ। फोहोर व्यवस्थापनको काम हुन नसकेकोमा नगरका बासिन्दा दुःखी र आक्रोशित छन्।
‘मुख्य सहर पहिलेभन्दा केही सफा भएको छ तर टोलहरूमा फोहोर बढेको छ। आक्कल झुक्कल मात्रै सफाइ हुन्छ। नेताहरू बेइमान भए,’ वडा नम्बर ९ का बासिन्दा विमल मण्डल भन्छन्, ‘स्कुल र कलेजमा फोहोरको दुर्गन्धले पढाइमा असर परेको छ।’
जनप्रतिनिधिहरू भने आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन्।
‘म निर्वाचित भएपछि ट्याक्टर र जेसिबी मगाएर सबैतिर सफा गराएको थिएँ। जेसिबी बारम्बार ल्याउन सकिँदैन। मेरो वडामा ट्याक्टरले फोहोर उठाउँछ,’ वडा नम्बर ८ का वडाध्यक्ष दिनेश सिंह भन्छन्, ‘बढी फोहोर हस्पिटलबाट हुने गरेको छ। अब कारबाही गर्छौं।’
सिंहका अनुसार अस्पतालको फोहोर पोका बनाएर जाताततै फालिएको हुन्छ। मुख्य सडकबाट केही भित्र पुर्याएर फाल्ने गरेको उनको भनाइ छ।
उनले फोहोरको थुप्रो ट्याक्टरले नियमित रूपमा किन उठाउँदैन भन्ने प्रश्नको स्पष्ट जबाफ दिएनन्।
उपमहानगरको सरसफाइ शाखाका प्रमुख श्याम ठाकुरका अनुसार सफाइको काममा दुई वटा टिपर, २१ वटा ट्याक्टर, दुईवटा म्याजिक, दुईवटा जेसिबी र दुईटा पानी ट्यांकी छन्। नाली सफा गर्न दुईटा मेसिन छन्। सिबर जेट र जेट मेसिन समेत प्रयोगमा छन्। ब्रुमर बिग्रेर थन्किएको दुई वर्ष भयो।
उपमहानगर कार्यालयले वडा नम्बर १ देखि १६ सम्मका वडा कार्यालयलाई एकएक वटा ट्याक्टर दिएको छ। एक जना चालक, फोहोर उठाउन दुई जना मजदुर र झाडु लगाउन एक जना दिएको छ।
उपमहानगरमा कुल २५ वटा वडा छन्।
अन्य वडामा सातामा दुई–तीन पटक ट्याक्टर जाने गरेको ठाकुरको भनाइ छ।
‘वडामा के कति सफाइ गर्छन्, त्यो वडालाई नै सोध्नुहोस्। हामी अनुगमन गर्न गएको उनीहरूलाई मन पर्दैन। वडाका जनप्रतिनिधिले नै सरसफाइ हेरेका छन्,’ उनी भन्छन्, ‘सबै वडामा गरी सरसफाइका लागि १८२ जना कर्मचारी छन्। हामी (सरसफाइ शाखा) रिङरोड मात्रै हेर्छौं। वडा नम्बर १७ देखि २५ सम्मको सफाइ पनि शाखाबाटै गर्छौं।’
ठाकुरले नगरका बासिन्दाको फोहोर फाल्ने बानीमा असन्तुष्टि प्रकट गरे।
उनले भने, ‘सबैले जहाँतहीँ फोहोर फालिदिन्छन्। मानिसहरू सचेत हुनु पर्यो। सरसफाइको भार एउटा शाखाले मात्र लिन सक्दैन। काम बाँडफाँड गर्न नै जनप्रतिनिधि चुनिएका हुन्। सबैले आआफ्नो काम गर्नुपर्यो।’
उपमहागरपालिकाले गत आर्थिक वर्षमा इन्धनमा साढे एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।
उपमहानगर कार्यालय जिन्सी शाखाका प्रमुख गणेशप्रसाद यादवका अनुसार उपमहानगरपालिकामा जम्मा ९३ वटा सवारीसाधन छन्। तीमध्ये ट्याक्टरसहित ४९ वटा चारचक्के र बाँकी मोटरसाइकल छन्।
‘सफाइका ट्याक्टरलाई एक ट्रिप फोहोर फाल्न चार लिटर डिजेल दिने गरेका छौं। प्रशासनिक कर्मचारीलाई महिनाको आठ लिटर र प्राविधिकलाई १० लिटर पेट्रोल दिन्छौं,’ उनी भन्छन्, ‘पुगेन भने आवश्यकता हेरेर थप्छौं।’
सहरी क्षेत्रबाट उठाइएको फोहोर वडा नम्बर १९ स्थित एक परिवारको निजी जग्गामा थुपार्ने गरिएको छ। उपमहानगरपालिकाले सात कठ्ठा जग्गा लिजमा लिएर फोहोर फाल्ने गरेको हो।
हालै महालेखा परीक्षकको कार्यालयले जनकपुर उपमहानगरपालिका कार्यालयलाई पठाएको आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक प्रतिवेदनमा सरसफाइ र कार्यालय प्रयोजनमा इन्धनमा १ करोड ५८ लाख ५७ हजार ७५३ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ।
उपमहानगर कार्यालयले सवारी प्रयोगकर्ताको गन्तव्य, दूरी, समय र इन्धन खपतको विवरण जनाउने लगबुक राखेको छैन।
प्रतिवेदनले इन्धन खपतको पुष्ट्याइँ हुनेगरी लगबुक राख्न सुझाब दिएको छ।
लगबुक नहुँदा इन्धन खपत मापदण्ड अनुसार भए–नभएको यकिन गर्न कठिनाइ हुने तथा इन्धन र सवारीसाधनको दुरूपयोग हुन सक्ने कुरा प्रतिवेदनमा लेखिएको छ।
उपमहानगरपालिकाले जेसिबी, ट्याक्टर, ट्रिपरको वार्षिक इन्धन खपतको विवरण दिए पनि ती साधान कुनकुन कार्यमा खटाएको हो, पूर्वस्वीकृति भएको हो कि होइन, कार्य सम्पन्न भयो कि भएन भन्ने प्रश्न पनि प्रतिवेदनले उठाएको छ।
उपमहानगरपालिकाले आफ्ना उपकरण र जनशक्तिका अतिरिक्त गत आर्थिक वर्षमा दसैं, तिहार, छठ र विवाहपञ्चमीमा ‘विशेष सरसफाइ’ भनेर १ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ। त्यो सबै खर्च अनियमित रहेको महालेखा परीक्षक कार्यालयको ठहर छ।
महालेखा परीक्षकको प्रतिवेदनमा जनकपुर उपमहानगरमा सफाइका लागि कुचिकार तथा सफाइकर्मी १०३ जना, दुई थान जेसिबी, २६ थान ट्याक्टर, आठ थान ट्रक रहेको उल्लेख गर्दै अन्य व्यक्तिलाई ‘डोर हाजरी’ मा राख्न तथा जेसिबी र ट्याक्टर भाडामा लिन आवश्यक नदेखिएको ठहर गरिएको छ।
प्रतिवेदनमा सरसफाइमा उपमहानगरले गरेको खर्च नियमित नदेखिएको पनि उल्लेख गरिएको छ।
ठूलो रकम खर्च हुँदाहुँदै पनि जनकपुर किन सफा हुन सकेन भन्ने प्रश्नको जबाफ जनप्रतिनिधिहरूसँग छैन।
‘धेरै दिनदेखि फोहोर उठेको छैन भनेर कसैले पनि फोन गर्दैन। मैले मेयरज्यूलाई फोहोर व्यवस्थापनमा निजीकरणको नीति लिन सुझाब दिएँ तर उहाँले मान्नुभएन,’ वडानम्बर ८ का अध्यक्ष सिंहले भने, ‘सफाइका मान्छे (सफाइ कर्मचारी) राम्ररी काम गर्दैनन्।’
फोहर व्यवस्थापनमा जनचेतना फैलाउन टोल कमिटी गठन गर्ने योजना रहेको उनले बताए।
वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी जति प्रयास गर्दा पनि फोहोर व्यवस्थापनमा सफल हुन नसकेको बताउँछन्। उनका अनुसार यसको दोष जनप्रतिनिधिको होइन, बासिन्दाहरूकै हो।
‘हामी फोहोर व्यवस्थापन गरिरहेका हुन्छौं तर सफाइ नहुनुमा यहाँका जनताको पनि कमजोरी छ,’ उनी भन्छन्, ‘जनता जागरूक हुनुपर्छ। फोहोर लिन प्रत्येक दिन ट्याक्टर आउँछ। सबै फोहोर ट्याक्टरलाई दिनुपर्ने हो तर दिएको हुँदैन। आफ्नो फुर्सदमा सडकमा फाल्छन्।’
फोहोर व्यवस्थापनका नाममा भइरहेको खर्चबारे उपमेयर किशोरी साहले अनभिज्ञता प्रकट गरे।
‘सबै काम मेयर साहेबले आफ्नै जिम्मामा राख्नुभएको छ। जिम्मेवारी शेयर (बाँडफाँड) नगरेर एकै जनामा राख्दा काम राम्रो हुँदैन,’ उनी भन्छन्, ‘सरसफाइको राम्रो नहुनु हाम्रो (जनप्रतिनिधिको) कमजोरी हो। सुधार गर्न जरुरी छ।’