इरानले शनिबार राति तीन सयभन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको जवाफ इसराइलले शुक्रबार दिएको छ।
यो समाचार तयार पार्दासम्म इसराइलले यो हमलाको आधिकारिक जिम्मेवारी लिएको छैन। साथै कति र के कस्ता हतियार प्रयोग भए र इरानमा के-कति क्षति भयो भन्ने पनि यकिन छैन।
शुक्रबार बिहान मध्य इरानको इस्फाहन सहरनजिक रहेको सेनाको हवाई अड्डामा इसराइलले आक्रमण गरेको इरानी अधिकारीहरूले पुष्टि गरेको भनेर द न्यू योर्क टाइम्सले जनाएको छ।
इस्फाहनभन्दा झण्डै ५०० माइल उत्तरमा पर्ने तबरिजमा भएको इसराइली आक्रमणलाई निस्तेज पारेको पनि इरानले दाबी गरेको छ। इसराइलसँग सिमाना जोडिएको इरानलाई समर्थन गर्ने सिरियाले पनि दक्षिणी सिरियामा इसराइलले मिसाइल आक्रमण गरेको जनाएको छ।
इस्फाहन सहर रहेको इस्फाहन प्रान्तमा इरानका युरेनियम प्रशोधन केन्द्रसहित केही मुख्य आणविक प्रयोगशाला छन्।
इरानको आणविक कार्यक्रम निगरानी गर्ने इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीका अनुसार इरानको कुनै पनि आणविक स्थलमा क्षति भएन भनेर द वासिङ्टन पोष्टले लेखेको छ।
सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा इसराइलले अप्रिल १ मा गरेको हवाई आक्रमणको बदला इरानले शनिबार राति लिएको थियो।
राजधानी दमास्कसस्थित सो भवनमा भएको आक्रमणमा कुद्स फोर्सका ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, जाहेदीका 'सेकेन्ड-म्यान' जनरल मोहम्मद हादी हज रहिमी र उक्त क्षेत्रमा कुद्स फोर्सका सैन्य कमान्डर जनरल होसेन अमान अल्लाहीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।
उक्त हमलाको बदला लिन इरानले शनिबार राति इसराइलमाथि सयौं ड्रोन र मिसाइलले आक्रमण गर्यो। जबाफमा आफूमाथि आक्रमण गरे झन् ठूलो हमला गर्ने भनेर इरानले इसराइललाई चेतावनी दियो। यति मात्र होइन, इसराइललाई हतियार र अरू सहायता दिएर भरथेग गर्ने अमेरिकालाई पनि बीचमा नआउनू भनेर धम्क्यायो।
शनिबारको इरानी हमलापछि इसराइलले जबाफी हमला गरे मध्यपूर्वमा ठूलो युद्ध हुने र तेलको भाउ बढ्दै गएर विश्व अर्थतन्त्रमै गम्भीर प्रभाव पर्न सक्ने भनेर कतिपय डराएका थिए। तर अहिलेसम्मको इरानी प्रतिक्रिया हेर्दा यो प्रकरण धेरै नबढ्ने देखिन्छ।
इरानी दूतावास परिसरमा इसराइलले हमला गरेर तीन जनरलसहित सात इरानी सैन्य अधिकृत मारेपछि इरानले जबाफ दिनैपर्ने हुन्थ्यो। त्यसरी नै तीन दशकभन्दा लामो समयपछि आफ्नो भूमिमा कुनै देशले प्रत्यक्ष आक्रमण गरेपछि इसराइलले पनि जबाफी हमला गर्नैपर्ने हुन्थ्यो। जुन उसले शुक्रबार गर्यो।
इरानले शनिबार हमला गरेदेखि नै यसको जबाफ दिने बताइरहेको इसराइलले यो हमलाको आधिकारिक जिम्मेवारी समेत नलिएको, र इसराइल-इरान दुवैले पछिल्लो आक्रमणलाई खासै महत्व नदिएकाले दुवै देश यो मामिलालाई धेरै बढाउन चाहँदैनन् भनेर बुझ्न सकिन्छ।
आफ्नो भूमिमा भएको हमलाको जबाफ दिनैपर्ने बाध्यतामा इसराइलले शुक्रबार इरानमा साङ्केतिक आक्रमण गरेको भनेर बुझिन्छ। यसको जबाफ इरानले नदिन पनि सक्छ र दिए पनि शनिबार राति गरेको हमलाभन्दा सानो आक्रमण गरेर दिनेछ।
यसरी दशकौंदेखि छाया युद्ध गरिरहेका इरान र इसराइलबीच प्रत्यक्ष युद्ध हुने खतरा अहिलेका लागि टरेको मान्न सकिन्छ।
इरानले शनिबार इसराइलमाथि करिब १५० वटा मिसाइल र त्योभन्दा धेरै ड्रोनले हमला गरेको थियो। तर करिब ९९ प्रतिशत ड्रोन-मिसाइल अमेरिका, बेलायत, फ्रान्स र छिमेकी जोर्डन लगायतको सहयोगमा खसालेको दाबी इसराइलले गरेको थियो। एउटा सैन्य हवाई अड्डामा मिसाइलले लागे पनि सामान्य क्षति मात्रै भएको थियो। त्यसबाहेक अन्त कतै केही नोक्सान भएको थिएन।
इरानले हमला गर्न लागेको भनेर छिमेकी देशहरू र अमेरिकालाई ७२ घन्टाअघि नै सूचना दिएको दाबी गरेर यो प्रकरणलाई धेरै बढाउन चाहँदैन भन्ने स्पष्ट सङ्केत दिएको थियो। अमेरिकाले भने हमला सुरू भएपछि मात्रै स्वीस अधिकारीमार्फत् इरानले जानकारी दिएको भन्दै आफ्नो हमला विफल भएपछि इज्जत जोगाउन मात्रै इरानले त्यसो भनेको दाबी गरेको थियो।
इसराइलमा व्यापक क्षति गर्ने गरी नै र पूर्वजानकारी नदिइकनै इरानले हमला गरेको भए पनि आफ्नो हमला सफल नभएपछि इरान हच्किएको हुन सक्छ। शनिबारको हमलालगत्तै इरानले आफ्नो बदला पूरा भएको र इसराइलले जबाफी हमला नगरे आफ्नो लागि यो अध्याय सकिएको बताएर पनि यसलाई बढाउन नचाहने सङ्केत गरेको थियो।
अब इरान र इसराइलले किन यो प्रकरणलाई धेरै बढाउन चाहेनन् भनेर विस्तृतमा चर्चा गरौं।
अहिलेको युगमा कुनै पनि देश त्यत्तिकै युद्ध चाहँदैन। युद्ध जित्ने देशले पनि धेरै जनधनको क्षति बेहोर्नुपर्छ। पछिल्ला दशकमा हतियारको ध्वंसात्मक क्षमतामा यति विकास भएको छ कि हार्ने देशले पनि धेरै क्षति गराउन सक्छ।
दोस्रो विश्वयुद्धअघि वा त्यसको केही दशकपछिसम्म पनि युद्ध जितेको देशले हारेको देश कब्जा गरेर हार्नेको सारा साधन-स्रोतको प्रयोग आफ्ना लागि गर्थ्यो। त्यसरी केही हदसम्म युद्ध जित्नेले आफ्नो नोक्सानको पूर्ति गर्न सक्थ्यो। तर अहिले त्यसरी अर्को देश कब्जा गरेर आफ्नोमा गाभ्न वा उपनिवेश बनाउन असम्भवजस्तै भएकाले कुनै पनि देश हत्तपत्त जित्ने युद्ध पनि सुरू गर्दैन।
एक आपसमा नजोडिएका इरान र इसराइलका हकमा पनि युद्ध जितेर एकले अर्काको भूमि र साधन-स्रोत कब्जा गर्ने स्थिति नभएकाले उनीहरू पनि युद्ध चाहँदैनन्।
पछिल्ला वर्षमा इरानको अर्थतन्त्र ज्यादै कमजोर छ। आणविक हतियार बनाउने प्रयास गरेको लगायत कारण देखाएर अमेरिकाले नाकाबन्दी लगाएपछि इरान चपेटामा परेको हो।
इरानमा आन्तरिक तनाव पनि छ। सन् २०२२ सेप्टेम्बरमा त्यहाँ एक घटना भयो। सही तरिकाले हिजाब नलगाएको आरोपमा एक युवती पक्राउ परिन्। ‘आचरण’ पालना गराउने पुलिसको खोरमा ती युवतीको मृत्यु भएपछि देशैभरिका महिला विरोधमा उत्रिए। त्यति बेलाको व्यापक प्रदर्शन इरानको इस्लामिक सरकारले बल्लतल्ल नियन्त्रणमा लिएको थियो।
त्यस्तै त्यहाँका सर्वोच्च नेता ८४ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी छन्। उनको उत्तराधिकारी को हुने भनेर टुंगो लागेको छैन। यस्तो अवस्थामा युद्ध गर्नु देशका लागि घातक हुन्छ। यति मात्र नभएर, सन् १९७९ को इस्लामिक क्रान्तिदेखि कायम रहेको कट्टरपन्थी तानाशाही व्यवस्थाका लागि पनि घातक हुन्छ।
इसराइलले भने इरानको यही कमजोर पक्ष बुझेर पछिल्लो समयमा इरानी सैन्य कमाण्डरहरू लगातार मारिरहेको थियो। यसरी इसराइलले हेपेर लगातार प्रहार गरिरहेको अवस्थामा इरानले प्रायोजित समूहद्वारा मात्रै जबाफ दिए इसराइल झन् आक्रामक हुँदै जान सक्छ भन्ने ठानेर पनि इरानले शनिबार जबाफी हमला गरेको थियो। इरानले आफू नजिकैको र झण्डै हाराहारी बलियो इसराइल आगामी दिनमा धेरै आक्रामक नहोस् भनेर डर देखाउन त्यत्रो ठूलो आक्रमण गरेको थियो।
यसलाई बढाउनै चाहेको भए पनि शनिबारको आफ्नो त्यत्रो ठूलो आक्रमण समेत विफल भएपछि इरानले यो प्रकरणलाई बढाउने स्थिति थिएन। इसराइलले शुक्रबार साङ्केतिक हमलामात्रै गरेको र खासै क्षति पनि नभएकाले इरानलाई पनि यसको कडा जबाफ दिने बाध्यता हुँदैन।
इरान जबाफी हमलामा कमजोर देखिएकाले उसमाथि भीषण आक्रमण गर्न सकिन्छ भन्ने लागेर इसराइलले आक्रामक हुने अवसर भने लिन सक्थ्यो। तर इसराइललाई त्यति सजिलो थिएन। गाजामा हवाई सेना-नौसेना, मिसाइल केही नभएको इरान-प्रायोजित हमासलाई सखाप पार्छु भनेर लागिपर्दा त नसकेका बेला इसराइललाई इरानसँग युद्धै सुरू गर्न अप्ठ्यारै थियो र छ पनि।
इसराइलले इरानसँग युद्ध सुरू गर्न खोजे नै पनि अमेरिकाले रोक्थ्यो। शनिबारको इरानी हमलालगत्तै इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमलाबाट सफलतापूर्वक आफ्नो रक्षा गर्न सक्नुलाई नै जित मानेर अघि बढ्न भनेका थिए भनेर अन्तर्राष्ट्रिय मिडियाले लेखेका थिए। अरू पश्चिमा देशले पनि इसराइललाई यो प्रकरणलाई धेरै नबढाउन भनेका थिए।
इरानसँग युद्ध गरे इरान-प्रायोजित हिजबुल्लाहले पनि लेबननबाट इसराइलमाथि युद्ध सुरू गर्ने खतरा थियो। गाजामा हमाससँग लडिरहेको इसराइललाई अमेरिकी हतियारबिना इरान र हिजबुल्लाहसँग पनि एकै पटक युद्ध गर्न असम्भव प्रायः थियो। अमेरिकाले चाहे नै पनि रूससँग लड्न युक्रेनलाई हतियार दिनुपरिरहेको बेलामा इरानसँग युद्ध गर्न पुग्ने गरी इसराइललाई हतियार दिन गाह्रो हुने थियो।
यसरी इरान र इसराइल दुवैको आ-आफ्नो सीमितता र विशेष गरी इसराइलमाथि अमेरिकाको दबाबका कारण इरान र इसराइलको युद्ध भएर विश्व अर्थतन्त्रमै धक्का लाग्ने खतरा अहिलेलाई टरेको छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)