सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा इसराइलले अप्रिल १ मा गरेको हवाई आक्रमणको बदला इरानले शनिबार राति लियो।
राजधानी दमास्कसस्थित सो भवनमा भएको आक्रमणमा कुद्स फोर्सका ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, जाहेदीका 'सेकेन्ड-म्यान' जनरल मोहम्मद हादी हज रहिमी र उक्त क्षेत्रमा कुद्स फोर्सका सैन्य कमान्डर जनरल होसेन अमान अल्लाहीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।
उक्त हमलाको बदला लिन इरानले शनिबार राति इसराइलमाथि सयौं ड्रोन र मिसाइलले आक्रमण गर्यो। जबाफमा आफूमाथि आक्रमण गरे झन् ठूलो हमला गर्ने भनेर इरानले इसराइललाई चेतावनी दियो। यति मात्र होइन, इसराइललाई हतियार र अरू सहायता दिएर भरथेग गर्ने अमेरिकालाई पनि बीचमा नआउनू भनेर धम्क्यायो।
यो हमलापछि इसराइलले जबाफी हमला गरे मध्यपूर्वमा ठूलो युद्ध हुने र तेलको भाउ बढ्दै गएर विश्व अर्थतन्त्रमै गम्भीर प्रभाव पर्ने खतरा उत्पन्न भएको छ।
के यस्तो अवस्था सिर्जना होला?
सबभन्दा पहिले इरानी आक्रमणको प्रभावकारिताबारे कुरा गरौं।
इरानले इसराइलमाथि करिब १५० वटा मिसाइल र त्योभन्दा धेरै ड्रोनले हमला गरेको थियो। तर करिब ९९ प्रतिशत ड्रोन-मिसाइल आफ्ना मित्र राष्ट्रहरूको सहयोगमा खसालेको दाबी इसराइलको छ। एउटा सैन्य हवाई अड्डामा मिसाइलले लागे पनि सामान्य क्षति मात्रै भएको बताइएको छ।
उक्त आक्रमणमा त्यही अड्डा नजिकैको बेरसेबा सहर छेउकी सात वर्षीया एक मुस्लिम बालिका सिकिस्त घाइते भएकी छन्। यसबाहेक अरू मानवीय क्षति भएन। ती बालिका पनि इसराइलले मुस्लिम बहुल सो क्षेत्रमा यहुदी बस्तीमा जस्तो बमबाट जोगिने आश्रयस्थल नबनाएकाले मात्रै घाइते भएकी द न्युयोर्क टाइम्सले लेखेको छ।
इरानले प्रहार गरेको हतियार इसराइलले झार्दा त्यसका टुक्राटुक्री ती बालिकाको घरको टिनको छाना छेडेर भित्र छिरेका थिए। परिवारका अरू सदस्यसँगै घर बाहिर भाग्ने क्रममा ढोका छेउमा पुगेपछि उनलाई टुक्राले लागेको थियो।
यति ठूलो आक्रमण हुँदा पनि इसराइल कसरी जोगियो त?
इसराइललाई अमेरिका, बेलायत, फ्रान्स र छिमेकी जोर्डनले सहयोग गरे। उनीहरूले आफ्ना लडाकु विमान प्रयोग गरेर इरानी ड्रोन र मिसाइलबाट इसराइललाई बचाउन सहयोग गरे। अमेरिकाले मध्यपूर्वमा रहेको आफ्नो प्याट्रियट मिसाइल डिफेन्स सिस्टम पनि प्रयोग गर्यो। जोर्डनले इसराइली विमानलाई आफ्नो देशभित्रै पस्न दियो। अनि साउदी अरेबियाले इसराइली विमानहरूलाई आफूकहाँ इन्धन भर्न दिएको द इकोनोमिस्टले जनाएको छ।
इसराइल आफैंले भने फाइटर जेटबाहेक अमेरिकी सहयोगमा विकास गरेको डिफेन्स सिस्टम प्रयोग गर्यो। इसराइलसँग आइरन डोम, स्पाइडर, डेभिड्स स्लिङ र एरो डिफेन्स सिस्टम छन्।
द वासिङटन पोस्टका अनुसार स्पाइडर सिस्टमले विमान, हेलिकप्टर लगायतबाट हुने मिसाइल आक्रमणबाट जोगाउँछ। यो सिस्टममा प्रयोग हुने रक्षात्मक मिसाइलले ६ माइल माथि (उचाइमा) र ६२ माइल टाढा पुगेर आक्रमणमा प्रयोग भएको हतियार झार्छ।
डेभिड्स स्लिङले १५ माइल उचाइ र १८६ माइल पर पुगेर ब्यालिस्टिक र क्रुज मिसाइल झार्छ। स्पाइडर र डेभिड्स स्लिङले धेरै उचाइबाट निशानामा पुग्नुअघि वायुमण्डलमा फेरि छिरेका मिसाइल नष्ट गर्छन्। इसराइलसँग भएको सबभन्दा लामो दुरीमा काम गर्ने डिफेन्स सिस्टम भने एरो हो। यसले ६२ माइल माथि र १४९१ माइल टाढासम्म पुगेर आक्रमणमा प्रयोग भएका ब्यालिस्टिक र क्रुज मिसाइल झार्छ।
इसराइलको सबभन्दा चर्चित डिफेन्स सिस्टम भने आइरन डोम हो। यसको प्रयोग कुनै देशले गर्ने मिसाइल आक्रमणको बचाउमा भन्दा पनि इरान प्रायोजित विभिन्न समूहले इसराइलको सीमा नजिकैबाट प्रहार गर्ने छोटो दुरीका कमसल रकेट र अरू हतियार रोक्न हुन्छ।
इसराइलमा कुनै देशले आक्रमण गरेको लामो समय भइसकेको थियो। अहिले इरानको आक्रमणभन्दा अघि, पछिल्लो पटक सद्दाम हुसेन नेतृत्वको इराकले सन् १९९१ को खाडी युद्धका बेलामा इसराइलमा आक्रमण गरेको थियो।
इसराइलले सन् २०११ देखि प्रयोगमा ल्याएको आइरन डोमले हमास, हिजबुल्लाह र इराक-सिरियामा रहेका शिया मिलिसियाहरूले हान्ने रकेट लगायत छोटा दुरीका हतियारबाट जोगाउँदै आएको छ।
द वालस्ट्रिट जर्नलका अनुसार आइरन डोम यताउता चलाउन मिल्ने डिफेन्स सिस्टम हो। यसलाई चाहिएको ठाउँमा पठाउन मिल्छ। यसले लगभग ५८ वर्गमाइलसम्मको क्षेत्रमा सुरक्षा प्रदान गर्छ।
यो सिस्टममा रडारले आउँदै गरेको रकेटको गति र रूटबारे सूचना दिन्छ। त्यसपछि त्यो रकेट कहाँ खस्छ भन्ने आकलन गरिन्छ। मान्छे नभएको वा क्षति नहुने ठाउँमा झर्ने देखियो भने त्यत्तिकै छोडिदिन्छ। जनधनको क्षति हुने देखियो भने ती रकेट रोक्न तमिर भन्ने मिसाइललाई ‘इन्टरसेप्टर’ (रोक्ने वस्तु)को रूपमा प्रयोग गरिन्छ। एकचोटीमा २० वटासम्म तमिर मिसाइल प्रयोग गर्न सकिन्छ। यी इन्टरसेप्टरले छोटो दुरीमा भएका रकेट, ड्रोन लगायत हतियार खसाल्छन्।
यस्तो इन्टरसेप्टर महँगो हुन्छ। एउटैमा ४०-५० हजार डलरभन्दा बढी खर्च हुन्छ। त्यसैले सस्ता ड्रोन वा रकेटविरुद्ध यसको प्रयोग गर्नु इसराइलका लागि खर्चिलो पर्छ।
द इकोनोमिस्टका अनुसार यस्तो खर्च कम गर्न इसराइलले लेजर किरण प्रयोग गरेर हतियार झार्ने सिस्टम विकास गरेको छ। यसलाई आइरन बिम नाम दिइएको छ। यसले आइरहेको हतियारमा लेजर किरण प्रयोग गर्छ र तताएर त्यो हतियार बिस्फोट गराइदिन्छ।
यो सिस्टमले आइरन डोमको लगभग एकतिहाइ दुरीसम्म मात्र काम गर्छ। तर हतियार खसाउने खर्च केही डलर मात्रै पर्छ। त्यसैले सस्ता ड्रोन र रकेट रोक्न यो राम्रो विकल्प हुन्छ। शनिबार रातिको आक्रमणमा लेजरवाला डिफेन्स सिस्टम प्रयोग भयो कि भएन भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन।
अब इरानले यति ठूलो आक्रमण किन गर्यो भन्नेबारे चर्चा गरौं।
इसराइलले सिरियाको दमास्कसस्थित वाणिज्य दूतावासमा हवाई आक्रमण गर्दा सात इरानी सैन्य अधिकृतको मृत्यु भयो। इरानले त्यसैको बदला लिएको हो।
पहिलेका घटनाका तुलनामा इरानले यसपालि कडा जबाफ दिएको छ।
सन् २०२० जनवरीमा अमेरिकाले बग्दादको विमानस्थलबाहिर ड्रोन आक्रमण गरी कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो। आफ्नो त्यति ठूलो जनरलको हत्या हुँदा पनि केही नगरी बसे 'बेइज्जत हुने' भएकाले त्यतिबेला इरान जबाफ दिन बाध्य भएको थियो। आफूभन्दा धेरै बलियो अमेरिकालाई कडा जबाफ फर्काए ऊसँग युद्ध हुने र देशै तहसनहस हुन सक्नेबारे इरान सचेत थियो। त्यसैले उसले इराकमा रहेका केही अमेरिकी सैनिक शिविरमा मिसाइल आक्रमण गरेको थियो।
पश्चिमा मिडियाहरूका अनुसार उसले कहाँ आक्रमण हुँदैछ भनेर अमेरिकालाई पहिल्यै खबर पठाएको थियो। बिस्फोटमा केही अमेरिकी सैनिकलाई चोट लागे पनि इरानले ज्यान नजाने गरी आक्रमण गरेको थियो। यसरी अमेरिकालाई इरानले सांकेतिक जबाफ मात्रै दिएपछि इसराइल पनि डराउन छोडेको थियो।
इरान र इसराइलले दशकौंदेखि छाया युद्ध चलाए पनि खुल्लमखुल्ला भिड्दैन थिए। मध्यपूर्वको सबभन्दा शक्तिशाली र आणविक हतियार भएको आक्रामक इसराइलमाथि हमला गर्न इरानले आफू प्रायोजित समूह प्रयोग गर्छ। इसराइलले पनि कहिलेकाहीँ इरानको आणविक हतियार कार्यक्रमस्थलमा आक्रमण गर्थ्यो र इरानी परमाणु वैज्ञानिक र सैन्य अधिकृतहरूको हत्या गर्थ्यो। मुख्यतः इसराइलले प्रायोजित समूहलाई पठाएको हतियार र तिनै समूहलाई निशानामा पार्थ्यो।
सन् २०२३ अक्टोबर ७ मा इरान-प्रायोजित हमासले इसराइलमाथि हमला गर्यो। यसपछि भने इसराइलले बिस्तारै सिरिया, लेबनन लगायत देशमा आक्रमण गरेर इरानी सैनिकलाई नै मार्न थालेको थियो। गत डिसेम्बरयता इसराइलले पछिल्ला तीन जना जनरलसहित १७ इरानी सैनिक कमाण्डर मारिसकेको छ।
पछिल्ला वर्षमा इरानको अर्थतन्त्र ज्यादै कमजोर छ। आणविक हतियार बनाउने प्रयास गरेको लगायत कारण देखाएर अमेरिकाले नाकाबन्दी लगाएपछि इरान चपेटामा परेको हो।
इरानमा आन्तरिक तनाव पनि छ। सन् २०२२ सेप्टेम्बरमा त्यहाँ एक घटना भयो। सही तरिकाले हिजाब नलगाएको आरोपमा एक युवती पक्राउ परिन्। ‘आचरण’ पालना गराउने पुलिसको खोरमा ती युवतीको मृत्यु भएपछि देशैभरिका महिला विरोधमा उत्रिए। त्यति बेलाको व्यापक प्रदर्शन इरानको इस्लामिक सरकारले बल्लतल्ल नियन्त्रणमा लिएको थियो।
त्यस्तै त्यहाँका सर्वोच्च नेता ८४ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी छन्। उनको उत्तराधिकारी को हुने भनेर टुंगो लागेको छैन। यस्तो अवस्थामा युद्ध गर्नु देशका लागि घातक हुन्छ। यति मात्र नभएर, सन् १९७९ को इस्लामिक क्रान्तिदेखि कायम रहेको कट्टरपन्थी तानाशाही व्यवस्थाका लागि पनि घातक हुन्छ।
इसराइलले भने इरानको यही कमजोर पक्ष बुझेर पछिल्लो समयमा इरानी सैन्य कमाण्डरहरू लगातार मारिरहेको मानिन्छ। यसरी इसराइलले हेपेर लगातार प्रहार गरिरहेको अवस्थामा इरानले प्रायोजित समूहद्वारा मात्रै जबाफ दिए इसराइल झन् आक्रामक हुँदै जान सक्छ भन्ने ठानेर पनि यसपालि जबाफी हमला गरेको मानिन्छ।
इरानले आफू नजिकैको र झण्डै हाराहारी बलियो इसराइल आगामी दिनमा धेरै आक्रामक नहोस् भनेर डर देखाउन यत्रो ठूलो आक्रमण गरेको हुन सक्छ।
अब यो आक्रमणले इरान वा इसराइल कसलाई बढी फाइदा भयो भन्ने चर्चा गरौं।
इसराइलले हमला गरे इरान चुप बस्दैन भन्ने स्पष्ट सन्देश दिनेबाहेक यो आक्रमणले इरानलाई केही फाइदा भएन। बरू त्यति ठूलो आक्रमण गर्दा पनि केही क्षति नपुगेपछि इरानको सैन्य क्षमतामाथि नै प्रश्न उठेको छ। उसका हतियारको प्रभावकारिता र प्रतिरक्षा प्रणालीबारे शंका उब्जिएको छ। शक्तिशाली र अचुक निसानासहितका हतियार भएको इसराइलले यस्तै आक्रमण गर्यो भने इरानले कसरी रोक्ला भन्ने प्रश्न पनि उठेको छ।
यसबीच अर्को चर्चा पनि छ — इरानले रूसलाई युक्रेनसँगको युद्धमा प्रयोग गर्न ड्रोन र हतियार दिएको बदलामा रूसको अत्याधुनिक मिसाइल डिफेन्स सिस्टम किनेको हुन सक्छ।
तर महँगा हातहतियार बनाउन धेरै समय लाग्छ र अर्डर गरेपछि मात्रै बनाउन थालिन्छ। त्यसैले इरानले किनेको भए पनि पाइनसकेको हुन सक्छ। इरानजस्तो ठूलो देशलाई जोगाउन यो सिस्टम धेरै संख्यामा पनि चाहिन्छ। यस्तोमा इसराइलले ठूलो हमला गर्यो भने इरानले धेरै क्षति बेहोर्नुपर्छ। अहिलेको हमलापछि इरानलाई कमजोर ठानेर इसराइलले आक्रमण गर्न सक्ने खतरा त झन् बढेकै छ।
अर्कोतर्फ इरानको हमलाअघि इसराइलसँग रूष्ट रहेका अमेरिका लगायत पश्चिमा राष्ट्र पनि नजिक आएका छन्। इसराइलले गाजामा बालबालिकासहित दसौं हजार प्यालेस्टिनीलाई बम हानेर मारेको र विस्थापितलाई खाना पुर्याउन समेत रोक लगाएकाले उनीहरू रिसाएका थिए। तर शनिबार इरानका हतियार खसाउन उनीहरूले इसराइललाई साथ दिए। इरानले थप हमला गरे त्यसविरुद्ध पनि साथ दिनेछन्। इरानको हमलाका कारण गाजामा इसराइलले उत्पन्न गराएको मानवीय संकटबाट सारा विश्वको ध्यान पनि हटेको छ।
सन् १९९१ मा खाडी युद्धका बेला सद्दाम हुसेन नेतृत्वको इराकले इसराइलमाथि धेरै पटक मिसाइल प्रहार गरेको थियो। तर त्यो हमलाको उद्देश्य बेग्लै थियो। त्यसबेला साउदी अरेबिया लगायत अरू मुस्लिम देशले इराकविरुद्ध अमेरिकालाई सहयोग गरिरहेका थिए। यस्तो अवस्थामा इराकले इसराइलमा मिसाइल छाड्दा उसले जबाफी हमला गरेर युद्धमा होमिन सक्थ्यो। अनि साउदी अरेबिया लगायतका मुस्लिम देशलाई पनि अमेरिकालाई सहयोग गरिरहन गाह्रो पर्थ्यो। इराकले त्यसबेला यही ठानेर उक्साउनका निम्ति मात्र मिसाइल छाडेको थियो।
त्यसयता तीन दशकभन्दा बढी समय बितिसक्दा इसराइलमा कसैले आक्रमण गरेका थिएनन्। यसपालि इरानले हिम्मत गर्यो, तर इसराइललाई केही घाटा भएन।
अब घटनाक्रम कसरी अघि बढ्ला?
इरान-इसराइलको युद्ध हुन्छ कि हुँदैन भन्ने कुरा गर्नुअघि हामी के कुरामा स्पष्ट हुनुपर्छ भने अहिलेको युगमा कुनै पनि देश त्यत्तिकै युद्ध चाहँदैन। युद्ध जित्ने देशले पनि धेरै जनधनको क्षति बेहोर्नुपर्छ। पछिल्ला दशकमा हतियारको ध्वंसात्मक क्षमतामा यति विकास भएको छ कि हार्ने देशले पनि धेरै क्षति गराउन सक्छ।
दोस्रो विश्वयुद्ध अघि वा त्यसको केही दशकपछिसम्म पनि युद्ध जितेको देशले हारेको देश कब्जा गरेर हार्नेको सारा साधन-स्रोतको प्रयोग आफ्ना लागि गर्थ्यो। त्यसरी केही हदसम्म युद्ध जित्नेले आफ्नो नोक्सानको पूर्ति गर्न सक्थ्यो। तर अहिले त्यसरी अर्को देश कब्जा गरेर आफ्नोमा गाभ्न वा उपनिवेश बनाउन असम्भवजस्तै भएकाले कुनै पनि देश हत्तपत्त जित्ने युद्ध पनि सुरु गर्दैन।
एक आपसमा नजोडिएका इरान र इसराइलका हकमा पनि युद्ध जितेर एकले अर्काको भूमि र साधन-स्रोत कब्जा गर्ने स्थिति नभएकाले उनीहरू पनि युद्ध चाहँदैनन्।
फेरि इरानले ठूलो आक्रमण गरे पनि ऊ यसलाई धेरै बढाउन चाहँदैन भन्ने स्पष्ट संकेत देखिएका छन्। हमलापछि इरानले आफ्नो बदला पूरा भएको र इसराइलले जबाफी हमला नगरे आफ्नो लागि यो अध्याय सकिएको बताइसकेको छ।
इरानले बदला लिन इसराइलमा हमला गरे पनि केही क्षति नभएकाले फेरि गर्ने हो कि भन्ने आशंका कतिपयको छ। तर यसपालि असफल भएकाले इरानले झन् अब फेरि हमला नगर्न सक्छ।
यस्तो हुँदा पनि अर्को खतरा भने छ। इरानलाई आफूले चलाइरहेका पारम्परिक हतियारले इसराइललाई केही क्षति नपुर्याउने रहेछ भन्ने महसुस भएको हुन सक्छ।आफूसँग आणविक हतियार नहुञ्जेल इसराइलले आक्रमण गरिरहने पो हो कि भनेर आत्तिन सक्छ। र, झन् छिटो आणविक हतियार बनाउनतर्फ लाग्न सक्छ।
सञ्चारमाध्यमहरूका अनुसार इरानको यो हमलाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एक दिनअगाडि नै जानकारी थियो। उनले इसराइल र पश्चिमा देशलाई खबर गरिसकेका थिए। अप्रिल १ मा इसराइलले दमास्कसको वाणिज्य दूतावास भवनमा आक्रमण गर्दा पनि एकदमै राम्रो योजना बनाइएको थियो। इसराइललाई त्यहाँको पलपलको जानकारी प्राप्त हुन्थ्यो। भवनबाट राजदूत र अरू गैरसैनिकहरू कति बेला निस्के भन्नेसम्मको जानकारी पाउँथ्यो। इसराइललाई यी कुरा थाहा भएको इरानले पनि स्वीकार गरेको पश्चिमा मिडियाहरूले लेखेका छन्।
यसबाट पनि इरानभित्र अमेरिकी र इसराइली गुप्तचरहरू छ्यापछ्याप्ती भएको देखिन्छ।
इरानले हमला गर्न लागेको भनेर छिमेकी देशहरू र अमेरिकालाई ७२ घन्टाअघि नै सूचना दिएको दाबी इरानी विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहियानले गरेको रोयटर्सले लेखेको छ। तर अमेरिकी सरकारका एक अधिकारीले इरानले यस्तो कुनै अग्रिम जानकारी नदिएको दाबी गरेका छन्। उनका अनुसार हमला सुरु भएपछि मात्रै स्वीस अधिकारीमार्फत इरानले जानकारी दिएको थियो। त्यसैले इरानले सकेसम्म बढी क्षति हुने गरी हमला गरेको र बिफल भएपछि इज्जत जोगाउन मात्रै इरानले त्यसो भनेको ती अधिकारीले बताएका छन्।
इरानले पूर्वसूचना दिएर हमला गरेको हो भने उसले यसलाई बढाउन चाहँदैन भन्ने प्रस्टै हुन्छ। सूचना नदिएरै त्यसो भनेको हो भने पनि विभिन्न कारणले इरान यसलाई धेरै बढाउन चाहँदैन भनेर बुझ्न सकिन्छ।
हुन त इसराइललाई इरान जबाफी हमलामा कमजोर देखिएकाले उसमाथि आक्रमण गर्न सकिन्छ भन्ने लाग्न सक्छ। तर उसलाई पनि यो सजिलो छैन। गाजामा हवाईसेना-नौसेना, मिसाइल केही नभएको इरान प्रायोजित हमासलाई सखाप पार्छु भनेर लागिपर्दा त नसकेका बेला इसराइललाई इरानसँग युद्धै सुरु गर्न अप्ठ्यारै छ।
इसराइलले इरानसँग युद्ध सुरु गर्न खोजे नै पनि अमेरिकाले रोक्ने छ। द इकोनोमिस्टका अनुसार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै बाइडेनले इरानी हमलाबाट सफलतापूर्वक आफ्नो रक्षा गर्न सक्नुलाई नै जीत मानेर अघि बढ्न भनेका छन्।
इरानसँग युद्ध गरे इरान-प्रायोजित हिजबुल्लाहले पनि लेबननबाट इसराइलमाथि युद्ध सुरु गर्नेछ। यिनसँग लड्न इसराइललाई अमेरिकी हतियारबिना असम्भवप्रायः हुन्छ। अमेरिकाले चाहे नै पनि रूससँग लड्न युक्रेनलाई हतियार दिनुपरिरहेको बेलामा इरानसँग युद्ध गर्न पुग्ने गरी इसराइललाई हतियार दिन गाह्रो हुन्छ।
तर अमेरिकीहरूलाई डर भने छ। भोलिका दिनमा इरानले छिट्टै आणविक हतियार बनाउन खोज्ला र अमेरिकाले उसलाई रोक्न केही नगर्ला भन्ने इसराइलको पहिलेदेखि नै शंका छ। त्यसैले इरानले आणविक हतियार बनाउनुअघि नै इसराइलले आक्रमण गर्न सक्छ। अझ अहिलेको इरानी हमलालाई नै इसराइलले युद्ध सुरु गर्ने बहाना बनाउन सक्छ।
यी सबैका बाबजुद अमेरिकाको अनुमतिबिना इसराइल आक्रामक हुने वा उसले युद्ध सुरु गर्ने सम्भावना छैन।
इरानलाई जबाफ दिन इसराइलले सांकेतिक वा तुलनात्मक रूपमा अलि बढी क्षति हुने हमला गर्न सक्छ। तर त्यसपछि इरानले त्यसलाई धेरै बढाउने सम्भावना कम छ। त्यसैले युद्ध सुरु भएर विश्व अर्थतन्त्रमै धक्का लाग्ने खतरा अहिले छैन। इरानको हमलापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि खासै परिवर्तन आएको छैन।
यो प्रकरण युद्धमै पुग्न सक्ने एउटा मात्रै सम्भावना भनेको इसराइली प्रधानमन्त्री नेतान्याहुको निजी स्वार्थ हो। उनी प्रधानमन्त्री पदमा नरहे भ्रष्टाचार मुद्दा चल्ने भएकाले उनले अतिवादीसँग गठबन्धन गरेका छन्। अतिवादीहरूले पहिले प्यालेस्टिनी र अहिले इरानलाई कडा जबाफ दिन नेतान्याहुलाई दबाब दिइरहेका छन्। उनीहरूले समर्थन फिर्ता लिए भने नेतान्याहुको प्रधानमन्त्री पद जाने र उनी भ्रष्टाचार मुद्दामा जेल पर्न सक्छन्। त्यसैले नेतान्याहुले उनीहरूको मागअनुसार युद्ध सुरु गर्न सक्ने झिनो सम्भावना छ।
यसमा पनि अमेरिकाले रोक्न भने सक्छ। उसै पनि प्रधानमन्त्री नेतान्याहुले निजी स्वार्थका लागि हमाससँग युद्ध लम्ब्याइरहेको आरोप बाइडेन सरकारले लगाउँदै आएको छ। अब इरानमाथि कडा हमला गर्न लागेको थाहा पाए झन् स्पष्ट शब्दमा अमेरिकाले हतियार रोक्ने धम्की दिन सक्छ। नेतान्याहुलाई आफू जोगिन सारा देशलाई खतरामा नपार्न भन्नेछ।
अमेरिकाको समर्थनबिना युद्ध सुरु गर्न नेतान्याहुजस्ता स्वार्थीलाई पनि गाह्रो हुनेछ। उनले आँटै गरे पनि यस्तो राष्ट्रघाती कदम चाल्नबाट सैनिक जनरलले रोक्नेछन्। नेतान्याहुले अक्टोबर ७ को हमास आक्रमणअघि खतराबारे गोप्य सूचना बेवास्ता गरेका थिए र युद्ध सुरु भएपछि पनि आफूले जिम्मेवारी लिनुको साटो सेनालाई दोष लगाएका थिए। त्यसैले पनि इसराइली सेनाले नेतान्याहुको स्वार्थका लागि इरानसँग युद्ध सुरु गर्ने छैन।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)