ठेकेदार कम्पनीसँग ८० लाख रुपैयाँ घुस लिएको आरोपमा लुम्बिनी विकास कोषका इञ्जिनियर सरोजकुमार भट्टराईविरूद्ध मुद्दा दायर भएको छ।
लुम्बिनी विकास कोष भित्रका ठेक्का पट्टाको काम गर्ने निर्माण कम्पनीसँग ८० लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालीन योजना प्रमुख भट्टराईविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भट्टराईले उक्त निर्माण कम्पनीसँग नगद रकम नलिई आफूले किनेको जग्गा बिक्री गर्ने व्यक्तिको खातामा पैसा राख्न पठाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
भट्टराईले भक्तपुरको गुण्डुमा कित्ता नम्बर १३७४ र १३७५ को जग्गा खरिद गर्न ठेकेदार कम्पनीसँग घुस माग गरेको आरोप छ। सो रकम जग्गा बिक्रेता र जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा उक्त ठेकेदार कम्पनीलाई गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा ठेकेदार कम्पनीले जग्गा बिक्री गर्ने व्यक्ति र जग्गा खोजिदिने व्यक्तिको खातामा ४०/४० लाख रुपैयाँ जम्मा गर्न लगाएको उल्लेख छ।
जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा गरेको रकममध्ये ३८ लाख ७ हजार दुई सय रुपैयाँ पुनः जग्गा बिक्रेताकै खातामा पठाएको उल्लेख छ।
दुई रोपनी ९ आना १ पैसा र अर्को दुई आना एक पैसा गरी दुई कित्ता जग्गा भट्टराईले आफ्नी आमा जनकनन्दनी भट्टराईको नाममा पास गरेको अख्तियार स्रोतले बतायो।
अख्तियारले निज सरोज भट्टराई र उनकी आमा जनकनन्दीनीविरूद्ध ८० लाख बिगो कायम गरेको छ भने कसूरजन्य कार्यबाट खरिद गरेको जग्गा समेत जफत गर्न मागदाबी लिएको छ।
लामो समयसम्म लुम्बिनी विकास कोषको योजना प्रमुख बनेका भट्टराई केहि समय विकास कोषको निमित्त सदस्य सचिव समेत बनेका थिए।
लुम्बिनी विकास कोषका एक कर्मचारीका अनुसार भट्टराईले लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने कम्पनीसँग उक्त घुस रकम लिएको समेत हुन सक्ने बताए।
‘अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र पौने एक अर्ब रुपैयाँ लगानीमा लुम्बिनी अर्घाखाँची बाबुल जेभीले निर्माण गरेको थियो, सोही कम्पनीले लुम्बिनी गुरूयोजनाका अन्य कामहरू पनि गरिरहेको छ,' ती कर्मचारीले भने, 'त्यति धेरै घुस रकम ठूलो रकमको ठेक्का लिने कम्पनीले मात्रै दिन सक्छ।'
लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहलको निर्माणको काम दुई वर्ष पहिले नै सम्पन्न भइसकेको छ भने गुरूयोजनाहरू अहिले पनि जारी छन्।
लुम्बिनी गुरूयोजना अन्तर्गतका विभिन्न कामका लागि विकास कोषले २०७८ सालमा विभिन्न चारवटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।
तीन अर्ब ५० करोडका ती योजनाका लागि अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलग-अलग ठेक्का सम्झौता गरिएको थियो। अहिले ती कामहरू भइरहेका छन्।
ती कम्पनीहरूले विकास कोष भित्रको १४ किलोमिटर सडक, ५५ किलोमिटर नाली, २३ किलोमिटर ब्लकरोड, सडकको दुवैतर्फ आठ/आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार सय सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिंकेज सडक निर्माणको काम गरिरहेको विकास कोषले जनाएको छ।