नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितले गण्डकी सरकारमा दाबी गरेका छन्।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास पुगेर आइतबार एमाले, माओवादी केन्द्र र स्वतन्त्र हैसियत मागेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन्।
गण्डकीका सभामुख कृष्ण धिताल माओवादीबाट २०७९ मंसिरको चुनावमा निर्वाचित भएका थिए। सभामुख भएपछि उनले पार्टी आबद्धता त्यागेका थिए। सभामुख धिताललाई समेत जोडेर गठबन्धनले बहुमत पुर्याएर सरकारमा दाबी गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।
‘निर्वाचन आयोगमा भएको रेकर्डअनुसार हाम्रा ८ जना सांसद हुनुहुन्छ, एमालेका २२ जना छन्। स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ जोडेर ३१ मत सहित सरकारको दाबी गरिएको छ,’ उनले भने।
सभामुखले सरकार गठन र विघटनमा मत दिन नपाउने कानुनी व्यवस्था रहे पनि गठबन्धनले सभामुख जोडेर सरकारको दाबी गरेको हो।
नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा चैत ५ गते सहभागी भएका नेकपा (एकीकृत समाजवादी) बाट स्वतन्त्र हैसियत मागेका सांसद दीपक मनाङे पनि गठबन्धनसँग मिलेका छन्।
एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्दा मनाङे पनि उपस्थित भएका थिए। गण्डकीमा सभामुख जोडेर सत्ता गठबन्धनले ३१ मत पुर्याए पनि विश्वासको मत लिँदा सभामुखले मतदान गर्न पाउँदैनन्। त्यतिबेलासम्म राप्रपाका २ सांसदले साथ दिने एमाले नेताहरुको विश्वास छ।
गण्डकीका सबैभन्दा ठूलो दल कांग्रेसले पनि सरकार दाबी गर्ने तयारी गरेको थियो। कांग्रेसको २७ सिट, राप्रपाको २, माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका १ र दीपक मनाङे गरी ३१ मत पुर्याउने कांग्रेसको तयारी थियो।
यसअघि विश्वासको मत नपाउने अवस्था देखिए पछि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए। त्यही दिन प्रदेश प्रमुख भट्टले ७ दिनको समय दिएर संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतको सरकार दाबी पेस गर्न आह्वान गरेका थिए।
((शीर्षक सम्पादन गरिएको)