नेकपा (एमाले) पार्टीका संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट दोश्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित आचार्य यसअघि पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला मन्त्री र २०७९ सालमा लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकासमन्त्री भएका थिए।
‘नेकपा एमालेका तर्फबाट चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको छ। उहाँले मुख्यमन्त्रीसँगै आज बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुहुन्छ,’ एमालेका एक नेताले भने।
ती नेताका अनुसार यसअघि लिला गिरी नेतृत्वको सरकारमा सहभागी भएर तीन महिना मात्रै मन्त्री भएकाहरूलाई नै दोहोर्याउने सम्भावना रहेको छ।
आचार्यले कुन मन्त्रालय लिने भन्ने टुंगो नलागे पनि नेकपा एमालेलेले अर्थ र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको दाबी गरेकाले ती दुई मन्त्रालयको मर्यादाक्रम मिलाएर एउटाको जिम्मेवारी आचार्यले लिने एमालेका नेताले बताए।
सकेसम्म साना दलसमेत समेटेर ४ जना मन्त्रीले शपथ लिने तयारी रहेको उनले बताए।
भागबन्डा मिलाउन सत्ता साझेदार दलहरूबी बैठक सुरू भएको छ।
यसअघि पनि पटकपटक छलफल भएको थियो। तर ती छलफल निचोडमा पुग्न नसकेपछि आइतबार बिहान सत्ता साझेदारी गर्न सहमत भएका ५ दल र स्वतन्त्र सांसद सहितको बैठक बुटवलमा सुरू भएको हो।
४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सरकारको दाबी पेस गरेका नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरालाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए।
महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले समर्थन गरेका छन्।
मुख्यमन्त्री र मन्त्रीहरूको सपथ ग्रहण आइतबार दिउँसो साढे १ बजे तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रीहरू पदवहालीको लागि प्रदेश राजधानी दाङ जाने छन्।