नेकपा (माओवादी केन्द्र) ले कर्णालीको मुख्यमन्त्री नछाडने अडान अहिलेसम्म कायमै राखेको छ।
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) लाई दिने सहमति भएको थियो। तर माओवादीले मुख्यमन्त्री छाड्न नसकिने अडान राखिरहेको छ।
एमालेले माओवादीको निर्णय कुर्दैछ। अहिले कर्णालीमा माओवादी संसदीय दल नेता राजकुमार शर्मा मुख्यमन्त्री छन्। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कर्णाली मुख्यमन्त्री एमालेलाई छाड्न भनिसकेका थिए।
तर मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिन मागेका छैनन्। उनीले चौथो पटक विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेका छन्।
एमालेको प्रदेश संसदीय दलले संघको सहमतिअनुसार आफूले नेतृत्व पाउनुपर्ने अडान राखेको छ।
‘माओवादीले पनि एमालेलाई कर्णाली छाड्न प्रष्ट निर्देशन दिइसकेको छ,’ संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले भने, ‘हामी नेतृत्व पाउनेमा ढुक्क छौं, उहाँहरु (माओवादी केन्द्रको संसदीय दल) को निर्णयको पखाइमा छौं।’
एमालेले मुख्यमन्त्री शर्माले राजीनामा दिनुको विकल्प नभएको बताएको छ। संघको सहमतिविपरीत मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे सहयोग नगर्ने एमालेका सांसद जीतबहादुर मल्लले बताए।
मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने गरी प्रस्ताव प्रदेश सभामा पेश गरेका छन्। माओवादीले तत्काल निर्णय नदिएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि दुई बजेसम्मका लागि स्थगित गरिएको छ।
‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने नै भन्ने कुरा माओवादीबाट आयो, केही समय स्थगित गरेर अन्तिम निष्कर्षअनुसार आज २ बजे बन्द हस्ताक्षर गरौंला भन्ने भएको छ,’ प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने।
माओवादीभित्र आन्तरिक छलफलका लागि केन्द्रबाट २ जना नेताहरु कर्णाली गएका छन्। पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता कालीबहादुर मल्ललाई छलफल गर्न अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पठाएका हुन्।
संघबाट गएका नेताहरुसहित बसेर संसदीय दलबाट आवश्यक निर्णय लिइने माओवादीका कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिं परियारले जानकारी दिए।