सत्तारूढ दलहरूले संघबाट प्रष्ट निर्णय नदिएपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा विश्वासको मत लिने प्रक्रियामा जुटेका छन्।
सोमबार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गराए भने उनले मंगलबारको प्रदेश सभाबाट विश्वासको मत लिनेछन्।
संघमा गठबन्धन टुटेपछि गत फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। माओवादी संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको छ।
यसअघि पनि विभिन्न राजनीतिक घटनाक्रममा उनले तीन पटक विश्वासको मत लिएका थिए। चौथो पटक विश्वासको मत लिन लागेका मुख्यमन्त्री शर्मालाई हालको समीकरणअनुसार नेकपा (एमाले) ले मत दिने वा नदिने निर्णय गरिसकेको छैन।
संघको सत्ता समीकरणअनुसार एमालेको कर्णाली प्रदेश सभा दलले आफूले सरकारको नेतृत्व गर्नुपर्ने माग गरिरहेको छ।
संघका सत्तारूढ दलका शीर्ष नेतृत्वले सुरूमा कर्णालीको मुख्यमन्त्री एमालेले लिने प्रारम्भीक खाका बनाए पनि आधिकारिक रूपमा निर्देशन भने दिइसकेको छैन।
अहिलेको गठबन्धनअनुसार कर्णालीमा एमाले निर्णायक दल हो। माओवादीका १३ र एमालेका १० जना सांसद छन्। कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत पाउन २१ सांसदको साथ चाहिन्छ।
विश्वासको मत दिने वा नदिने भन्नेमा संघको आधिकारिक निर्देशन कुरिरहेको एमाले कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक टेकराज पछाईले बताए।
‘उहाँले हामीसँग सल्लाह गरेर विश्वासको मत लिने तय गर्नुभएको होइन, यस विषयमा केन्द्रबाट पनि स्पष्ट निर्देशन आइसकेको छैन,’ उनले भने, ‘हामी अहिलेसम्म एमालेले नेतृत्व गर्न पाउनुपर्छ भन्नेमा छौं, त्यसअनुसार अनुरोध पनि गरिरहेका छौं, अब हामी भोलिको दिनसम्म निर्देशन पर्खिन्छौं।’
मंगलबारसम्म पनि केन्द्रबाट स्पष्ट निर्देशन नआए संसदीय दलभित्र आन्तरिक छलफल गरेर निर्णयमा पुग्ने उनले बताए। तर अहिलेको गठबन्धनलाई असर पर्ने गरी एमालेले कर्णालीका कुनै कार्य नगर्ने उनले बताए।
कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले अहिलेको सत्ता गठबन्धन दलहरूसँग अनौपचारिक रूपमा विश्वासको मत लिने विषयमा कुराकानी भएको बताए। विश्वासको मत लिने अन्तिम समय आएकाले मुख्यमन्त्रीले औपचारिक छलफल नगरी प्रक्रियामा गएको उनको भनाइ छ।
अहिलेको गठबन्धनअनुसार कर्णालीमा राजकुमार शर्माले विश्वासको मत पाएमा २३ मत (सभामुखबाहेक) पाउँछन्। ४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना सांसद छन्।