नेपाली कांग्रेस कोशीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि सम्भावित ७ उम्मेदवारका नाम केन्द्रीय कार्यालय सानेपा पठाएको छ।
भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम केन्द्रमा पठाएको कोशी सभापति उद्धव थापाले बताए।
इलाम क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति हुँदै प्रदेशमा आएको नाम कोशीले गत चैत १० गते बेलुकी केन्द्रीय कार्यालयमा पठाएको थियो।
उम्मेदवारका आकांक्षीका नाम थाती राखेर कांग्रेस इलाम २ मा आन्तरिक रूपमा केन्द्रित छ। को उम्मेदवार बलियो छ आन्तरिक रूपमा बुझेपछि उम्मेदवार तय गर्ने कांग्रेसको योजना छ।
गत फागुन ७ देखि १० गतेसम्म गोदावरी चलेको महासमिति बैठकले अबका चुनावमा उम्मेदवार तयअघि पाइलट प्रोजेक्टका रूपमा प्राइमरी इलेक्सन गर्ने महामन्त्री विश्वप्रकाश शर्माको प्रस्ताव पारित भएको थियो। यो प्रस्ताव महासमिति सदस्यका सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जन हुन बाँकी नै छ।
कांग्रेसले उम्मेदवार तय गर्नुअघि प्राइमरी इलेक्सन गर्न अहिले सम्भव नभए पनि आन्तरिक रूपमा 'लोकप्रिय उम्मेदवार' खोजी गरेको जनाएको छ।
महामन्त्री शर्माले पार्टीले अनौपचारिक रूपमा इलाम २ का विभिन्न ठाउँमा मानिसहरू खटाएको जानकारी दिए।
‘उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस भइसकेको छ,’ उनले भने, ‘सँगसँगै हामीले इलाम २ का विभिन्न ठाउँमा आन्तरिक रूपमा बुझ्न मानिसहरू परिचालन गरेका छौं।’
विभिन्न गाउँमा खटिएका उनीहरूले उम्मेदवार र पार्टीको अवस्था तथा आमनागरिकका गुनासा पनि पार्टीलाई जानकारी गराउनेछन्।
‘उम्मेदवार को हुन्छ एउटा विषय भयो, योभन्दा पनि कांग्रेसले चुनाव जित्ने रणनीतिसाथ हामीले तयारी गरिरहेका छौं, यहाँ हाम्रो अवस्था राम्रै छ, अलिकति मेहनत गर्ने हो र सबै एकजुट हुने हो भने हामी चुनाव जित्छौं,’ उनले भने।
महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले इलाम २ का गतिविधि र पार्टीले लिनुपर्ने रणनीतिबारे सुष्म रूपमा हेरिराखेको एक नेताले बताए।
‘महामन्त्री शर्मालाई इलाम २ को चुनावमा औपचारिक निर्णय गरेर खटाइएको होइन। सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा, शर्माबीच सल्लाह गरेर रणनीतिक कार्यका लागि शर्मा केही समयदेखि झापा तथा इलाम क्षेत्रमा छन्,’ ती नेताले भने।
कांग्रेसले चैत २० गतेसम्म इलाम २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ को उम्मेदवार तय गरिसक्नेछ। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ।
‘भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापामध्ये एक जना उम्मेदवार हुने देखिन्छ,’ ती नेताले भने, ‘अहिले नै यो बलियो भन्न सकिन्न। चैत १९, २० गतेसम्म आन्तरिक रूपमा बुझ्छौं।’
कांग्रेसले यसपालि पनि इलाम २ मा एमालेसँगै मुख्य प्रतिस्पर्धा हुने सोचेको छ। एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
‘अहिले सत्ताघटक माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवारी घोषणा गर्छन् र अन्तिममा कम्युनिष्टहरू मिलौं, गठबन्धनमा दीर्घायूको सन्देश दिऔं भनेर माओवादी र समाजवादीले उम्मेदवारी फिर्ता लिएर एमालेका नेम्वाङलाई समर्थन गर्छन्, हाम्रो प्रतिस्पर्धा उनैसँग हुनेछ,’ ती नेताले भने।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा तत्कालीन सत्ता गठबन्धनको साझा उम्मेदवार कांग्रेस जिल्ला सभापति खड्का थिए। उनको मुख्य गरी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङसँग प्रतिस्पर्धा भएको थियो, नेम्वाङले चुनाव जितेका थिए।
गत भदौ २६ गते नेम्वाङको निधन भएपछि इलाम २ रिक्त छ।
०७९ मंसिरको चुनावमा नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।
रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए भने मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले एक हजार तीन सय ६३ मत ल्याएका थिए। राप्रपाका गणेशबहादुर दुलालले ५१० मत ल्याएका थिए।
समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार एक सय ५३, रास्वपाले ४ हजार ६ सय ८६, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९०६, एकीकृत समाजवादीले ५८६ मत ल्याएका थिए।
बझाङ क्षेत्र नम्बर १ को १ मा ०७९ मंसिरको चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार सिंह १७ हजार १ सय १२ मतसहित विजयी भए भने एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए।
सिंहको गत असार ५ गते बझाङमा भएको दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ।
कांग्रेसबाट बझाङ प्रदेश सभाका लागि १० जना आकांक्षीका नाम सिफारिस भएको छ।
जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको कांग्रेस बझाङले जनाएको छ।
कांग्रेसले संसदीय समिति बैठक गरेर उम्मेदवार तय गर्छ। उक्त समितिमा केन्द्रीय पदाधिकारीहरू छन्।