नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
आइतबार भएको निर्वाचनबाट कुलमणि देवकोटा अध्यक्षमा चयन भए। अध्यक्षमा निर्वाचित भएका देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन्।
एमाले कर्णाली प्रदेश अधिवेशनमा पनि कँडेल समूहकै गुलाबजंग शाह निर्वाचित भएका थिए। त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर शाहीलाई समर्थन गरेका थिए।
प्रदेश अधिवेशनमा एकलौटी जित हात पारेका कँडेल समूहले सुर्खेत जिल्ला अधिवेशनमा पदाधिकारीतर्फ सबै पद जितेको छ।
सुर्खेतको नवौं जिल्ला अधिवेशनबाट पदाधिकारीहरूमा उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्मरप्रसाद तिवारी, उपसचिवमा सुशीला विक र टीकाराम सोमै निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष अमृतबहादुर बिसीलाई पराजित गर्दै देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन्। जम्मा खसेको ४८६ मतमध्ये देवकोटाले ३५१ मत ल्याएका छन्। पराजित भएका बिसीले १३२ मत ल्याए।
उपाध्यक्षमा बडुवालले ३४६ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी ताराकेशर गौतमले १३० मत ल्याए। सचिवमा डम्बरप्रसाद तिवारीले २९१ मत ल्याए भने उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत ल्याए।
खुलातर्फको उपसचिवमा सोमैले हरिप्रसाद अधिकारीलाई पराजित गरेका हुन्। सोमैले ३२४ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी अधिकारीले १४३ मत ल्याएका छन्।
महिला उपसचिवमा सुशीला विश्वकर्माले ३३५ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी तृप्ती विकले १३३ मत पाएकी हुन्। सदस्यहरुको भने मतगणना जारी छ। सोमबार नै मतगणना सकिने उपाध्यक्ष मोहन बडुवालले जानकारी दिए।
यस्तो छ निर्वाचित पदाधिकारीको पृष्ठभूमि
अध्यक्षमा निर्वाचित कुलमणि देवकोटा वीरेन्द्रनगरका हुन्। उनी यसअघि जिल्ला कमिटीमा उपाध्यक्ष थिए। त्यसअघिको कार्यकालमा उनी सदस्य थिए।
२०४७ सालबाट देवकोटाले राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले अनेरास्ववियु छैटौंबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। २०५४ सालको स्थानीय निकाय चुनावमा उनी साविक जर्बुटा गाविस–१ को वडाध्यक्ष निर्वाचित भएका थिए।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा संलग्न भएर उनले १५ वर्ष काम गरे। संस्थाको दुई कार्यकाल नेतृत्व पनि गरे। अहिले उनी खानेपानी महासंघको पनि केन्द्रीय उपाध्यक्ष हुन्।
उपाध्यक्षमा निर्वाचित भएका मोहनसिंह बडुवाल सुर्खेतको पश्चिम क्षेत्रका हुन्। २०५४ बाट राजनीतिक यात्रा सुरु गरेका बडुवाल पश्चिम सुर्खेतमा एमालेको लोकप्रिय नेतामा गनिन्छन्।
२०५४ सालदेखि केही समय नेकपा एमाले गाउँ कमिटी र इलाका कमिटीको नेतृत्व गरेका बडुवाल गएको संसदीय निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर २ (२) बाट उम्मेदवार पनि बनेका थिए। त्यतिबेला उनले ६ हजार २१४ मत ल्याएका थिए। त्यतिबेला नेकपा (एकीकृत समाजवादी) मा रहेका उनले गठबन्धनका कारण टिकट नपाएपछि समाजवादीकै चुनाव चिह्नमा चुनाव लडेका हुन्।
२०७१ सालमा एमालेको जिल्ला सचिव भईसकेका बडुवाल तत्कालिन एमालेमा माधव नेपाल पक्षमा थिए। एमाले फुटेपछि उनी समाजवादीमै रहे। समाजवादीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएका उनी २०८० भदौ ६ गते आफ्ना सहकर्मी तथा कार्यकर्तासहित एमालेमै समाहित भएका थिए।
सचिवमा निर्वाचित डम्मरप्रसाद तिवारी पनि २०५४ सालदेखि नै राजनीतिमा संलग्न थिए। उनी यसअघि एमालेको सुर्खेत जिल्ला कमिटी सदस्य थिए।
खुलातर्फ उपसचिवमा निर्वाचित भएका टीकाराम सोमै पूर्वशिक्षक हुन्। शिक्षकबाट सेवानिवृत्त भएपछि उनी सक्रीय रुपमा एमालेको राजनीतिमा लागेका हुन्।
महिलातर्फ उपसचिवमा निर्वाचित सुशिला विक पनि लामो समयदेखि नेकपा एमालेको राजनीतिमा संलग्न छन्। उनी यसअघिका दुई वटा स्थानीय तह निर्वाचनमा एमालेबाट गुर्भाकोट नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी थिइन्।
दुवै पटकको निर्वाचनमा उनी नेपाली काँग्रेसकी मैना विकसँग पराजित भएकी थिइन्।