मधेस प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउँदै नेकपा (एमाले) लाई लिएर मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार मन्त्रिपरिषद पुनर्गठन गरे।
कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका सांसदलाई मन्त्री बनाउने सूचना आइतबार नै मुख्यमन्त्रीले एमालेलाई दिएका थिए।
एमालेबाट को-को मन्त्री बन्ने टुंगो लागेको थिएन। आफू मन्त्री बन्ने कुरा एमाले संसदीय दल नेता सरोजकुमार यादवले पार्टीका सांसदहरूलाई जानकारी दिएका थिएनन्।
यादवले सोमबार दिउँसो मोबाइल अफ गरेका थिए। आफ्ना बाबुको जनकपुर प्रादेशिक अस्पतालमा अपरेशन रहेकोले मोबाइल अफ गरेको उनको भनाइ थियो।
यस्तै कांग्रेसका मन्त्रीहरूलाई पनि आफूहरूलाई मुख्यमन्त्रीले बर्खास्त गर्न लागेको सूचना थियो। गृह तथा सञ्चारमन्त्री रहेका मोहम्मद समिमले मुख्यमन्त्रीले कुनै पनि बेला मन्त्री पदबाट हटाउन सक्ने भएकोले आफू गाडी छाड्न सप्तरीबाट जनकपुर भएको सोमबार दिउँसो बताएका थिए।
एमालेका सांसदहरू भने मन्त्रिपरिषद सोमबार नै पुनर्गठन हुन्छ भन्नेमा विश्वस्त थिएनन्। मन्त्रिमण्डल पुनर्गठनबारे समाचार आउन थालेपछि उनीहरूले सोधिखोजी गरेका थिए।
मन्त्री बन्न एमाले केन्द्रीय नेतृत्वले टुंगो लगाएको दाबी गरेका सांसद राजकुमार लेखीले मन्त्रिपरिषद पुनर्गठनको भने सोमबार जानकारी नै नपाइएको बताए। तर सोमबार दिउँसै मुख्यमन्त्री यादवले एमाले संसदीय दल नेता यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिसकेका थिए। साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्री यादवलाई शपथग्रहण गराएकी थिइन्।
यादव शपथ लिन पुगेपछि मात्रै एमाले पनि सरकारमा सामेल भयो भन्ने जानकारी पाएको एमालेका सांसदहरू दाबी गर्छन्।
‘केन्द्रीय नेतृत्वबाट एकैपटक चार जना मन्त्रीले शपथ लिने निर्देशन थियो। तर हामी थाहै नदिई मोबाइल स्वीच अफ गरेर संसदीय दल नेताले मन्त्री सुटुक्क मन्त्री खानु भयो,’ मन्त्री बन्ने सूचीमा नाम रहेको दाबी गरेका एमालेका एक सांसदले भने, ‘मन्त्रीमा कसलाई पठाउने भन्ने कुरा संसदीय दलबाट प्रदेश प्रमुख कार्यालयमा पत्र नै गएको छैन।’
मन्त्री यादवले भने आफू एमाले संसदीय दल नेता भएकोले मन्त्री बन्ने निष्कर्षमा पुगेको बताए। उनकाअनुसार सत्तारूढ दलहरूसँग छलफल भएपछि एमालेले चार मन्त्री लिने र एक राज्यमन्त्री लिने सहमति भएको छ।
भौतिक पूर्वाधार, गृह तथा सञ्चार, शिक्षा तथा संस्कृति, स्वास्थ्य मन्त्रालय एमालेले लिने सहमति बनेको उनले बताए। उनले मन्त्री बन्न पार्टीमा आकांक्षी धेरै भएकोले पनि अप्ठेरो परेको बताएका छन्।
‘मन्त्री बन्न धेरै आकांक्षी छन्। त्यसैले हामीलाई अप्ठेरो भएको पनि हो। बुवाको अपरेशन भएकोले मोबाइल अफ गरेको थिएँ। लुकेर कहिँ शपथ हुन्छ र?,’ उनले भने। केन्द्रीय नेतृत्वहरूसँग छलफल गरेर बाँकी मन्त्री टुंगो लगाउने उनले बताए।
यसअघि कसलाई मन्त्री बनाउने भन्नेबारे दुई पटक केन्द्रीय नेतृत्वसँग एमाले मधेसले छलफल गरिसकेको छ। पार्टी कार्यालय च्यासलमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवलगायत पदाधिकारीसँग बसेर छलफल भएको एक सांसद बताउँछन्।
‘माथि जसरी थोरै समय मन्त्री भएर समीकरकण फेरिँदा हट्नु परेका मन्त्रीलाई दोहोर्याइयो। त्यहीअनुसार प्रदेशमा पनि पहिले मन्त्री भएकालाई नै अवसर दिने कुरा भएको थियो,’ छलफलमा पुगेका एमाले मधेसका एक नेताले भने, ‘त्यसबेला संसदीय दल नेता मन्त्री नबन्ने कुरा उठेको थियो। तर उहाँ सोमबार सुटुक्क मन्त्री हुनुभयो। आलोपालो मुख्यमन्त्री बन्दा संसदीय दल नेता मुख्यमन्त्री बन्ने कुरा थियो।’
दोस्रो चरणमा भने अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले मधेसका नेताहरूले छलफल गरेका थिए। त्यसक्रममा चार जना मन्त्री बन्ने तय भएको थियो। ‘संसदीय दल नेता यादव मन्त्री नबन्ने अध्यक्ष ओली निवासको छलफलको पनि निष्कर्ष थियो,’ ती नेताले दाबी गरे, ‘तर महासचिव शंकर पोखरेलले भने यादवलाई मन्त्री बनाउनुपर्ने अडान राख्नुभएको थियो।’
त्यो छलफलमा सचिव रघुवीर महासेठले महोत्तरीकी प्रदेश सभा सदस्य शारदादेवी थापा र धनुषाका लखनलाल दासलाइ मन्त्री बनाउन अडान लिएका थिए।
साथै सुमन प्याकुरेलले सप्तरीका सांसद राजकुमार लेखी र लीलानाथ श्रेष्ठले सिरहाका सत्रुधन सिंहलाई मन्त्री बनाउनपर्ने अडान राखेका थिए।
‘शारदा, लखनलाल दास, राजकुमार र शत्रुधनलाई मन्त्री बनाउन अन्तिममा सहमति जुटेको थियो। तर अचानक अहिले दलका नेता कसरी मन्त्री बन्नु भयो हामी त चकित परेका छौं,’ ती नेताले भने।