काठमाडौंको जडिबुटीमा सोमबार नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बसेको छ।
अध्यक्ष बाबुराम भट्टराईनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुँदा अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षधर उपस्थित भएनन्।
किन? यसको कारण छ।
गत शनिबार (चैत ३ गते) बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा माओवादी महासचिव देवप्रसाद गुरूङ र नेसपा महासचिव रमेशप्रसाद यादवबीच पार्टी एकता गर्नेसहित चार बुँदे सहमति भएको थियो।
माओवादीसँग पार्टी एकता गर्ने भनिएको यो सहमतिको बुँदामा अध्यक्ष भट्टराई पक्षको विमति छ। भट्टराई पक्षले आइतबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरेका थिए, जहाँ २६ जनामध्ये २० जना सदस्य सहभागी भए।
अध्यक्ष भट्टराई पक्षले बालुवाटारमा भएको सहमतिलाई अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठसहित केही मानिसहरू माओवादीमा समाहित भएको रूपमा टिप्पणी गर्दै आएको छ।
२०७९ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेसपाले आफ्ना उम्मेदवार माओवादीकै चुनाव चिन्हमा खडा गरेको थियो। सर्लाही क्षेत्र नम्बर २ बाट अध्यक्ष यादव र सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट श्रेष्ठ निर्वाचित भएका थिए।
माओवादीसँग एकता गर्ने/नगर्नेमा पार्टीभित्र विवाद देखिएपछि हालै भट्टराईले संघीय संसद सचिवालयमा पत्राचार गरी आफ्ना सांसदलाई नेसपाकै मान्यता दिन माग गरेका थिए। तर संसद सचिवालयले ती सांसद कानुनी रूपमा माओवादीकै हुने जबाफ दियो।
कानुनी रूपमा माओवादीकै सांसद हुने भएपछि अध्यक्ष यादव र श्रेष्ठलगायत माओवादीसँग नै पार्टी एकताको पक्षमा उभिएका छन्। अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवले माओवादीसँग एकता गर्ने सहमति गरेका थिए, जुन कुरा अर्का अध्यक्ष भट्टराईलाई जानकारी थिएन।
दुई पार्टीबीच एकता गर्ने, एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा महाधिवेशनमा टुंगो लगाउने, एकताका लागि वैचारिक एकरूपता र संरचनात्मक तयारी गर्न कार्यदल गठन गर्ने सहमति बाहिरिएपछि भट्टराई पक्षले यो सहमति खारेज गर्ने निर्णय गरेको थियो।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट भट्टराईले नेसपा बनाउँदा महिन्द्र राय यादव सँगै आएका थिए। सहअध्यक्ष श्रेष्ठ 'जनयुद्ध' देखि नै भट्टराईका 'सहयोद्धा' हुन्। भट्टराईसँगको लामो सहकार्य छाड्दै श्रेष्ठ पनि माओवादीसँग एकताका पक्षमा उभिए।
श्रेष्ठ 'जनयुद्ध' का बेला पाँच वर्ष तीन महिना जेल बसे। २०७२ सालमा भट्टराईले तत्कालीन नेकपा माओवादी परित्याग गरे। माओवादी पोलिटब्यूरो सदस्य छाडेर श्रेष्ठले नयाँ शक्ति गठनमा भट्टराईलाई सहयोग गरेका थिए।
यसबीचमा भट्टराईको राजनीतिक जीवनमा पनि उथलपुथल भयो। एकपछि अर्को दलमा उनी सक्रिय रहे। भट्टराई जुन दलमा जान्छन् त्यही दलमा श्रेष्ठ पनि गए। नयाँ शक्ति, समाजवादी पार्टी, जसपा हुँदै नेसपा सहअध्यक्षसम्म बनेका थिए।
यतिमात्र होइन, ०६३ को अन्तरिम व्यवस्थापिका सदस्य रहिसकेका श्रेष्ठले भट्टराई प्रधानमन्त्री हुँदा (०६८ भदौदेखि ०६९ फागुनसम्म) प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए।
भट्टराई नेतृत्वको नेसपाका सहअध्यक्ष श्रेष्ठ ०७९ को प्रदेश सभा चुनावमा माओवादीको चुनाव चिन्हबाट उठेर सिन्धुलीबाट जिते। ०७९ माघदेखि उनी बागमतीको आन्तरिक मामिला तथा कानून मन्त्री छन्।
श्रेष्ठ सोमबार काठमाडौंमा बसेको नेसपा केन्द्रीय समिति बैठकमा उपस्थित भएनन्। सेतोपाटीले श्रेष्ठसँग भट्टराईको साथ छाड्नुपर्नाका कारण सोधेको छ। जबाफ दिँदै उनले व्यक्तिगत रूपमा भट्टराईसँग सम्बन्ध राम्रो रहे पनि राजनीतिक विचारमा कुरा नमिल्दा साथ छाडेको प्रतिक्रिया दिए।
‘म बाबुराम भट्टराई वा अरू कुनै व्यक्तिका पछाडि लागेको मानिस होइन। आफूलाई वैचारिक र राजनीतिक रूपमा जुन ठाउँमा जहिलेसम्म ठिक लाग्छ, त्यो बेलासम्म साथ दिने हो,’ श्रेष्ठले भने, ‘हिजो भट्टराईसँगै भन्दै गर्दा उहाँले वैचारिक र राजनीतिक रूपमा उठाएका कुरालाई समर्थन गर्दै आएको हो।’
आफू व्यक्तिगत रूपमा भट्टराईको 'फलोअर्स' नभएको उनले बताए।
‘यो त विचारको कुरा हो, अहिलेको सन्दर्भमा बाबुरामजी र मेरो बीचमा वैचारिक र राजनीतिक अलिकति भिन्नता देखियो,’ उनले भने, ‘पार्टी एकता गरेर जानुपर्ने आजको अपरिहार्य आवश्यकता भन्ने मेरो बुझाइ रह्यो, उहाँले पार्टी एकता होइन, वैकल्पिक नै बनाएर जानुपर्छ भन्ने बुझाइ रह्यो। बुझाइमा हाम्रो फरक परेपछि एक ठाउँमा बस्ने अवस्था करिब अन्त्य भयो।’
नेसपामै बस्ने अवस्था करिब-करिब अन्त्य भएको तर भट्टराई वा आफू कसैले पनि यसबारे घोषणा भने गरिनसकेको उनी बताउँछन्।
‘विचारमा फरक परेपछि एकै ठाउँमा बस्ने अवस्था करिब-करिब अन्त्य भएकोजस्तो देखिँदैछ। अन्त्य भइसकेको घोषणा उहाँ वा मैले गरिसकेको छैन। तर उहाँको केन्द्रीय समिति बैठकले के निर्णय गर्छ, त्यो निर्णय हेरेर भन्न सकिन्छ,’ उनले भने।
भट्टराईसँग व्यक्तिगत नभई वैचारिक र राजनीतिक सम्बन्धकै कारण एक ठाउँमा उभिन नसकिएको उनको भनाइ छ। ‘वैचारिक र राजनीतिक सम्बन्ध भोलि फेरि मिल्न सक्छ, हामी एकै ठाउँमा हुन पनि सक्छौं,’ उनले भने, ‘त्यसलाई अन्यथा बुझ्न हुन्न।’
बालुवाटारमा माओवादीसँग पार्टी एकता गर्ने सहमति भएपछि भट्टराई र श्रेष्ठबीच कुराकानी भएको छैन।
‘नेसपाको दुईतिरको केन्द्रीय समिति बैठक राख्नुपर्ने अवस्था देखिएको छ, यस्तो अवस्थामा उता (भट्टराई) तिर कुरा गर्ने सम्भावना हुँदैनथ्यो, गरेका पनि छैनौं,’ उनले भने, ‘बेलुकीसम्म उहाँहरूको केन्द्रीय समितिको निर्णय पर्खन्छौं, त्यसबाट थप निर्णय हुन्छ।’
उनले व्यक्तिगत सम्बन्ध भने भट्टराईसँग सुमधुर नै रहिरहने बताए। ‘भट्टराई असल मानिस हो, उहाँसँग मेरो सम्बन्ध सधैंभरि सुमधुर नै रहिरहन्छ,’ श्रेष्ठले भने।