राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचन नजिकिएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलासहित नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका छन्।
आइतबार बिहान करिब २० मिनेट बालुवाटारमा सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्।
फागुन २९ गते मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव तोकिएको छ भने सोमबार मनोनयन दर्ताको कार्यक्रम छ।
मनोनयन दर्ताको पूर्वसन्ध्यामा कांग्रेसका नेताहरूले प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्।
कोशीबाट गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचित भएका सिटौलालाई कांग्रेसले शनिबार राष्ट्रिय सभा दलको नेता चयन गरेको थियो।
दल नेता चयन भएपछि सिटौला पार्टीका नेताहरू थापा र लेखकलाई लिएर आइतबार बालुवाटार पुगेका हुन्। सुरूमा महामन्त्री थापाले 'प्रधानमन्त्रीलाई भेट्नभन्दा पनि अस्तिसम्म गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्षलाई भेट्न आएको' बताएका थिए।
त्यसपछि सिटौलाले कुरा राखे।
‘तपाईंले मलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्ने बचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ,’ सिटौलाले प्रधानमन्त्री दाहालसँग गरेका कुराकानी उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंले कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो।’
सिटौलाले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए।
प्रधानमन्त्री दाहालले भने सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन आफू सकारात्मक भए पनि पार्टीका साथीहरू नमानेको प्रतिक्रिया दिएका थिए। ‘म त सकारात्मक थिएँ नि, साथीहरूले मान्दै मानेनन्,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।
गत फागुन १७ गते पनि सिटौला र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा छलफल भएको थियो।
‘त्यस दिन राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै राख्ने हल्ला छ के हो भन्दा तपाईंले होइन भन्नुभयो। तपाईंलाई नै कोसिस गर्दैछु भन्नुभएको थियो, तर दुई दिनपछि गठबन्धन नै फेर्नुभयो,’ सिटौलाले प्रधानमन्त्री दाहाललाई भने, ‘फागुन २० मा हामी फेरि भेट्ने कुरा थियो, तर गठबन्धन नै भत्काउनुभयो।’
नयाँ सत्ता गठबन्धनबीच माओवादीले राष्ट्रिय सभा अध्यक्ष र नेकपा (एमाले) ले उपाध्यक्ष पद लिने सहमति भइसकेको नेताहरूको दाबी छ।
प्रधानमन्त्री दाहालले सिटौलासहित कांग्रेसका नेताहरूलाई शान्ति प्रक्रियादेखि बाँकी काममा 'सँगै रहने' बताएका थिए।
‘मैले पटक-पटक राम्रोसँग अगाडि बढौं भनेर कुरा गरेँ। एउटा मन्त्री फेरौं भन्दा पनि भएन, प्रभावकारी काम गरौं भन्दा पनि भएन, एक्कासी आएर गठबन्धन नगर्ने नीति लिनुभयो, अनि हामीलाई आतंककारी घोषणा गर्ने बेलाजस्तो गरी महासमितिको प्रतिवेदन बनाउनुभयो,’ प्रधानमन्त्री दाहालका भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने।
तर कांग्रेसका नेताहरूले भने धोका भएकोले सहकार्य गर्न गाह्रो भने प्रतिक्रिया दिएका छन्।
‘मलाई र कांग्रेसलाई नै तपाईंले धोका दिनुभयो, अब सजिलो गरी चल्छ भन्ने नसोच्नुहोला,’ प्रधानमन्त्री दाहाललाई यत्ति भनेर सिटौलासहित कांग्रेसका नेताहरू बालुवाटारबाट निस्किए।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवार उठाउने विषयमा आइतबार अपराह्न ४ बजे निवास बूढानीलकण्ठमा संसदीय दल कार्यसमिति बैठक राखेका छन्।
शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य दलहरूसँग पनि छलफल गरी राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठूलो दल छ।
कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।
प्रधानमन्त्री दाहालले कांग्रेससँग सहकार्य नतोड्दा राष्ट्रिय सभा अध्यक्ष सिटौलालाई बनाउने चर्चा थियो। गठबन्धन फेरिएपछि कांग्रेसले सिटौला वा अरू नै कसलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छैन।
यो पनि:
गठबन्धन भत्केपछि देउवाले किन बढाए सक्रियता?
कांग्रेसको निष्कर्ष- गठबन्धन तोड्न 'प्रचण्डले बनाएका कथा' मा अल्झन हुन्न
भेटुम् भन्दै ओलीले दिनमै दुईपल्ट फोन गर्थे, भेटिनँ, प्रचण्ड भित्रभित्रै भेट्दा रहेछन्: देउवा
प्रधानमन्त्री प्रचण्डले खुलाए कांग्रेससँग सहकार्य तोड्नुका ६ कारण