प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेससँग सहकार्य तोड्नुपर्नाका कारण खुलाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गरेका हुन्।
गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँग गठबन्धन तोडेर नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ समीकरण बनाएका थिए। कांग्रेसले प्रधानमन्त्री दाहालको उक्त कदमलाई धोका र दाहालबाट राजनीतिक बेइमानी भएको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री दाहालले कांग्रेसले समर्थन फिर्ता लिएकोले फेरि विश्वासको मत लिइने पनि बताए।
१. व्यक्तिका रूपमा मलाई अप्ठेरो थिएन, राजनीतिक परिणाम निर्णायक भयो
प्रधानमन्त्री दाहालले व्यक्तिका रूपमा कांग्रेससँगको अघिल्लो गठबन्धनमा आफूलाई समस्या नरहेको पनि बताए।
‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’का रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो,’ उनले भने, ‘कांगेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन। टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन।’
११ महिना कांग्रेससँग सहकार्य भएकोमा उनले सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिए।
‘अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरा तर्फबाट उत्ति नै सद्भाव छ। तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन्, अघिल्लो गठबन्धनमा पनि त्यही भयो,’ प्रधानमन्त्री दाहालले भने।
यो पनि हेर्नुहोस्- प्रचण्डलाई रमेश लेखकले भने- तपाईंबाट धोका पाएका जम्मै एक ठाउँमा उभिए कहाँ पुग्नुहोला? (भिडिओ)
२. चुनावमा माओवादीले कांग्रेसको सहयोग पाएन
प्रधानमन्त्री दाहालले चुनावमा कांग्रेसलाई माओवादीले जुन तहको सहयोग गर्यो सोही तहमा कांग्रेसबाट सहयोग नपाइएको बताए।
‘निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन। त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो,’ उनले भने, ‘निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो।’
कांग्रेसले गत माघ ११ मा भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्न भूमिका खेलेको उनको आरोप छ।
साथै कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले एमालेको समर्थनमा कोशीमा मुख्यमन्त्री बनेको विषयलाई पनि प्रधानमन्त्री दाहालले दण्डित हुनुपर्ने विषय भनेका छन्।
‘कोशीमा कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो। गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत। राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो,’ प्रधानमन्त्री दाहालले भने।
३. महासमितिमा कांग्रेसले धर्मका नाममा हस्ताक्षर चलायो
प्रधानमन्त्री दाहालले फागुन ७ देखि १० गतेसम्म ललितपुरमा भएको कांग्रेस महासमिति बैठकका प्रस्तावमा समावेश कतिपय कुरामा पनि आपत्ति जनाए।
‘महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो, जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो। निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन,’ महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्तावलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले भने।
४. महासमितिमा धर्मका नाममा चलाएको हस्ताक्षरले संविधान प्रतिबद्धतामा आशंका
प्रधानमन्त्री दाहालले कांग्रेस महासमिति बैठक स्थलअगाडि धर्मका नाममा स्टल राखेर हस्ताक्षर चलाएकोमा पनि असन्तुष्टि जनाएका छन्।
केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा हिन्दु राष्ट्र अभियानका लागि ४१ केन्द्रीय सदस्यसहित एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो,’ उनले भने।
५. 'जनयुद्ध'लाई दानवीकरण गरियो
प्रधानमन्त्री दाहालले कांग्रेस महासमितिमा पेश भएको प्रस्तावमा 'जनयुद्ध' को न्यूनीकरण र दानवीकरण गरिएको पनि बताए।
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्दा 'जनयुद्ध' का प्रसंग उल्लेख गरेका थिए।
‘महासमितिमा पेश गरिएको प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरिएको र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो,’ उनले भने, ‘यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो।’
६. साथीहरूले प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीका रूपमा आफूलाई न्याय नगरिएको गुनासो गरेका छन्।
‘साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन,’ कांग्रेसप्रति लक्षित गर्दै उनले भने।
उनले औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा आफू नरहेको पनि बताए।
‘एक वर्ष कार्यकाल पूरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ। मेरो यो तहको प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ,’ उनले भने।
उनले औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने भन्नेमा दोस्रो विकल्प रोजेको बताए।
‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ। कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ। आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डलाई संसदबाटै जवाफ दिँदै प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एउटा राजनीतिक दलको आन्तरिक विषयमा प्रधानमन्त्री प्रवेश गरेको बताए।
‘गठबन्धन किन छोड्नुपर्यो भन्दा कांग्रेसको महासमितिले केको एउटा स्टल लगायो रे, कांग्रेस लोकतान्त्रिक पार्टी हो। हामी बहुलवादमा विश्वास गर्छौं। हामी मात्र विश्वास गर्दैनौं, अरू कतिपय साथीहरूलाई पनि सिकाएका छौं, यति हेक्का होस्। विचारहरू उठ्छन्,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै लेखकले भने, ‘प्रधानमन्त्रीज्यूले हिन्दु धर्मको कुरा गर्नुभएको छ। त्यो कांग्रेसको आधिकारिक एजेन्डा होइन। महासमितिमा त्यसमा छलफल भएर पारित भएको छैन।’
उनले अहिलेको संविधानप्रति कांग्रेसको इमान्दार प्रतिबद्धता रहेको पनि बताए। ‘माओवादीले कांग्रेसलाई विगतमा शत्रु शक्ति, दुश्मन भन्नु भएको होइन? हामीलाई रिस उठेन। शान्ति प्रक्रिया अघि बढायौं,’ लेखकले भने, ‘यो संसदमा हजुरहरूलाई ल्याउन सहयोग गरेको होइन? कांग्रेसभित्रका छलफलकै कारण आतंकित भएर गठबन्धन भत्काउनुपर्ने?’