प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेससँग गर्दै आएको गठबन्धन तोडेर एमालेसँग गठजोड गरेपछि गण्डकीमा पनि त्यसको असर देखिन थालेको छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र सामाजिक विकास मन्त्री सुशिला सिम्खडालाई बर्खास्त गरेर कदम अघि बढाएका छन्। माओवादी मन्त्रीद्वय जुग्जाली र सिम्खडा भने यसलाई बर्खास्त नभनी मन्त्रिपरिषद ‘पुनर्गठन’ भनेका छन्।
‘मुख्यमन्त्रीज्यूले बिहान फोन गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्छु भन्नुभएको थियो, यो स्वाभाविक छ,’ माओवादी मन्त्रीद्वयले सेतोपाटीलाई भने।
मुख्यमन्त्री पाण्डेले चालेको कदमप्रति एमाले भने आक्रामक बनेको छ। एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री पाण्डेको कदमलाई सत्ता उन्माद र तानाशाही प्रवृत्ति भनेका छन्।
मुख्यमन्त्रीमा सत्ता उन्माद, अप्रजातान्त्रिक भूमिका देखियो। उहाँले तानाशाही प्रवृत्ति देखाउनुभयो, यस्तो मान्छे त लागेको थिएन,’ अधिकारीले सेतोपाटीलाई भने, ‘मन्त्रीहरूलाई बोलाएर बाटो छोडिदिनुस् भनेको भए त भइहाल्थ्यो, बर्खास्त गर्नुपर्ने?’
एमाले–माओवादी गठबन्धनबाट गण्डकीको मुख्यमन्त्री कसको भागमा पर्ने केन्द्रीय नेतृत्वले नै टुंगो लगाउनुपर्नेछ। एमाले र माओवादी दुबैले मुख्यमन्त्री दाबी गरिरहेका छन्। माथिबाट आउने निर्णय पर्खिएको एमाले नेता अधिकारीले बताए।
यता, एमाले सांसद एवं निवर्तनमा भौतिक पूर्वाधार मन्त्री जुग्जालीले पनि केन्द्रबाट निर्णय आएपछि मात्र गण्डकीमा सरकार गठन प्रक्रिया अघि बढ्ने बताए।
संघीय सरकारमा बनेको गठबन्धन अनुसार गण्डकीमा सरकार बनाउन आवश्यक बहुमत पुग्दैन। गण्डकीमा सबभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ भने एमालेको २२ सिट छ। माओवादीको ८ सिटमध्ये कृष्ण धिताल सभामुख छन्। राप्रपाका २ सिट र मनाङबाट स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरूङ ‘दीपक मनाङे’ छन्।
गण्डकीका कुल ६० सदस्यीय प्रदेश सभामा एमाले–माओवादी गठबन्धनको सरकार बनाउन राप्रपाको २ सिट अनिवार्य छ। यसअघि यही गठबन्धनबाट एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बन्दा राप्रपाका पञ्चराम गुरूङ पनि मन्त्री बन्न पुगेका थिए।
अहिले अवस्था फरक छ। त्यतिबेला राप्रपा पनि संघीय सरकारसहित प्रदेशमा पनि गठबन्धनमा थियो। अहिले संघीय सरकार बनाउँदा एमाले–माओवादी गठबन्धनमा राप्रपा समावेश छैन। जसको असर प्रदेश सभामा देखिँदैछ।
प्रधानमन्त्रीलाई ४० सूत्रीय माग राखेर राप्रपा आन्दोलनमा होमिएकाले अहिलेको सरकारमा जानेबारे सोच्दा पनि नसोचेको राप्रपा गण्डकी सांसद पञ्चराम गुरूङले बताए।
‘सरकार फेरिएर देशको समस्या समाधान हुने देखिँदैन, हामी व्यवस्था फेर्ने आन्दोलनमा छौं,’ उनले भने, ‘अहिले सत्ताको जोडघटाउमा हामी जाँदैनौं।’
प्रधानमन्त्री प्रचण्डले आफूहरूले राखेको ४० सूत्रीय माग सम्बोधन गर्ने अवस्थामा सरकारलाई समर्थन गर्ने र सरकारमा जानेबारे सोच्न सकिने उनको भनाइ छ।
राप्रपाको २ सिट नपाउने हो भने एमाले–माओवादीको जम्मा २९ सिट पुग्छ। माओवादीबाट सभामुख बनेका धितालले सरकार बनाउने र गिराउने खेलमा सहभागी हुन पाउँदैनन्। एकीकृत समाजवादीका सांसद मनाङेले मात्र समर्थन गर्दा पनि यो गठबन्धनलाई बहुमत पुग्दैन। गण्डकीमा बहुमत पुग्न ३१ सिट चाहिन्छ।
उता, सरकारबाट माओवादी मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री पाण्डेलाई बहुमत जुटाउन राप्रपा र एकीकृत समाजवादीको मतले पनि पुग्दैन। कांग्रेसको २७ सिटमा राप्रपाका २ र समाजवादीका १ सिट जोड्दा ३० पुग्छ।
एमाले-माओवादी गठबन्धनको २९ सिटमा राप्रपाका २ सिट मात्र जोडियो भने पनि बहुमत अर्थात् ३१ मत पुग्छ।
यस्तो अंक गणित भएका बेला एमाले–माओवादीलाई राप्रपाले समर्थन नगर्ने हो भने प्रदेश सभा विघटनको बाटोमा जाने खतरा पनि आउन सक्छ। यसतर्फ आफूहरू सचेत रहेको राप्रपा सांसद गुरूङ बताउँछन्। यसअघि एमाले नेता अधिकारी नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका गुरूङले राप्रपाकै कारण संकट नआओस् भन्नेतर्फ आफूहरू सचेत रहेको बताए।
‘हाम्रो कारणले देशमा संकट आउने भएन, संकट आउने अवस्था देखिए हामीले उचित निर्णय लिनुपर्छ,’ उनले भने। संघीय सत्ता समीकरणमा भने राप्रपा छैन।
एकीकृत समाजवादीका सांसद दीपक मनाङे भने एमाले–माओवादी गठबन्धन सरकारलाई आफूले समर्थन जनाउने बताए। यसअघि एमाले नेतृत्वको प्रदेश सरकारलाई पनि मनाङेले समर्थन जनाएका थिए। अहिलेका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई पनि उनको समर्थन छ।
गण्डकीमा पाण्डे नेतृत्वको सरकारमा सहभागी हुन जोड गरेका मनाङेले अब बन्न नयाँ गठबन्धनबाट मन्त्री नबन्ने दाबी गरे।
‘म त सरकारमा जाँदिनँ, मन्त्री–सन्त्री हुने इन्ट्रेष्ट पनि छैन,’ उनले भने,‘कांग्रेसको सरकारलाई समर्थन गर्दिनँ, एमालेको सरकारलाई गर्छु, अलिकति बजेट माग्छु जिल्लाको विकासमा लाग्छु।’
यो पनि: प्रचण्डजीले माथि समीकरण तोड्नुभयो, मैले गण्डकीमा तोडेँ: मुख्यमन्त्री पाण्डे