सुन्धारा क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले गत बुधबार साँझ बल प्रयोग र कुटपिट गर्यो।
सुन्धारामा सडकभन्दा अलग सानो पार्कजस्तो ठाउँमा राति साढे सात बजेपछि व्यापार-व्यवसाय गर्दै आएका व्यक्तिहरूमाथि नगर प्रहरीले कुटपिट गरेको हो। नगर प्रहरीका कुटाइबाट घाइते भएका ६ जना व्यवसायीलाई उपचार गर्न अस्पताल नै लैजानुपरेको थियो।
यो पनि: 'जंगी शासन कस्तो हुन्छ देखिस्' भन्दै भ्यानभित्रै सडक व्यवसायीमाथि बुट र लाठी
नगर प्रहरीले हानेको लाठीले फुटपाथ व्यवसायीका शरीरमा चोट र निलडाम बसेका छन्। उनीहरूले हरेक साँझ करिब साढे ७ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका थिए।
बालेन शाह मेयर भएर आएपछि पनि यो निरन्तर जारी थियो। सडक छेउमा ठेला, साइकलमा फलफूल-तरकारी बेच्नेहरूमाथि धेरै अघिदेखि महानगरले धरपकड गरेको भए पनि सुन्धाराको यो ठाउँमा यसरी व्यापार गर्नेहरूलाई बल प्रयोग गरेको थिएन। तर बुधबार साँझ एक्कासि महानगर प्रहरीको ठूलो टोली गएर धरपकड गर्यो। दुई पक्षबीच झडप भयो। पक्राउ परेका कतिपयलाई नगर प्रहरीले भ्यानभित्रै 'जंगी शासन कस्तो हुन्छ देखिस्' भन्दै लाठी र बुटले पिटेको व्यवसायीहरूले बताएका छन्।
यसरी विपन्न समुदायका नागरिकहरूले आफ्नो जीविका चलाउन गर्दै आएको फुटपाथ व्यवसायमाथि बारम्बार महानगरले अमानवीय व्यवहार गर्दा पनि महानगरका वडाअध्यक्षहरू र काठमाडौंका सांसदहरू यसरबारे किन नबोलेको भन्दै मानिसहरूले आलोचना र प्रश्न गरेका छन्।
काठमाडौं उपत्यकाका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले काठमाडौं जस्तो फुटपाथ व्यवसायीलाई पूर्ण निषेध गरेर धरपकड गरेका छैनन्। उनीहरूले निश्चित ठाउँ र समय दिएर व्यवस्थापन गरेका छन्। फुटपाथ व्यवसायीको व्यवस्थापन गर्नुको साटो काठमाडौं महानगर भने धेरै अघिदेखि फुटपाथ व्यवसायलाई निमिट्यान्न पार्ने गरी अघि बढेको छ।
सेतोपाटीले काठमाडौंका सांसदलाई फुटपाथ व्यवसायीमाथिको ज्यादतीमा तपाईंहरू किन चुप भनेर सोधेको छ।
के भन्छन् त काठमाडौंका सांसदहरू?
प्रकाशमान सिंह, सांसद, काठमाडौं क्षेत्र नम्बर १
काठमाडौं देशकै राजधानी हो। काम गरेर खाने अवसर खोज्दै मानिसहरू स्वाभाविक रूपमा राजधानी आउने नै भए। काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेर फुटपाथ व्यवसाय गर्न दिनुपर्ने हो।
छिमेकी ललितपुर महानगरमा चाहिँ निश्चित स्थानहरू तोकिएको छ। समय पनि तोकेको छ। त्यहीअनुसार फुटपाथ व्यवसाय चलिरहेको छ।
काठमाडौं महानगरले पनि निश्चित स्थान तोकिदिएर, समय दिएर व्यवस्थापन गरे त राम्रो हुने थियो। जबरजस्ती गर्नु राम्रो कुरा होइन।
हामी जनप्रतिनिधि भएकाले यो विषयमा कुराहरू संसदमा पनि स्वाभाविक रूपमा उठिहाल्छ।
विराजभक्त श्रेष्ठ, सांसद काठमाडौं, क्षेत्र नम्बर ८
यसलाई दुई तरिकाले हेरौं, महानगरले पैदलयात्री, सवारी साधन आदिलाई सहजीकरण हुने गरेर फुटपाथ खुला गर्न खोजेको थियो, अतिक्रमण हटाउन खोजेको थियो त्यसलाई एउटा तरिकाले हेर्न सकिन्छ।
महानगरवासीदेखि यहाँ अस्थायी रूपमा बसोबास गर्नेहरूका लागि सडक सहजीकरण, आवागमन व्यवस्थापनको दृष्टिले केही गर्न खोज्नुभयो, त्यसलाई अझै व्यवस्थित र एउटा विधिमा ढालेको भए अझै राम्रो हुन्थ्यो, तथापि त्यहाँसम्म उहाँले आफ्नो क्षेत्राधिकारको काम गर्नुभयो होला भनेर हामी चुप थियौं।
तर यसको व्यवस्थापनको नाममा बुधबार बेलुका जुन हिंसा भयो, अमानवीय गतिविधि भयो, यो एकदमै गलत भयो।
हामी लोकतन्त्रमा छौं। त्यसरी धपाइएका मानिसहरू को हुन्, उनीहरूले के गरिरहेका थिए भनेर हेर्नुपर्ने हुन्छ। यसमा विचार गर्नुपर्ने हुन्छ।
दुई छाक टार्न उनीहरू सडकमा आश्रित छन्। छोराछोरीको शिक्षा–दीक्षाका लागि उनीहरू संघर्षरत छन्। उनीहरू चोरी, डकैतीमा संलग्न, डाँका गरी हिँड्ने, भ्रष्टाचारमा संलग्न हुन् त? होइनन् नि।
यसरी धरपकड, हुलहुज्जत, ज्यादती नगर्दासम्म त हामीले महानगरको क्षेत्राधिकार हो, व्यवस्थित गरिरहनुभएको होला भनेर टीकाटिप्पणी गरेका पनि थिएनौं। बुधबार बेलुकीको घटना हृदयविदारक छ। मानिसको बाँच्न पाउने मौलिक हकमाथि कै आक्रमण हो यो। अरू तरिकाले सम्बोधन नै गर्न सकिँदैन, समाधान नै गर्न सकिँदैन भन्ने जसरी जुन तरिकाले कुटपिट गरियो त्यो निन्दनीय छ।
न उनीहरू आन्दोलित भएका थिए। न उनीहरूले छुट्टै राज्यको माग गरेका थिए, देशै टुक्र्याउने अभिव्यक्ति पनि दिएका थिएनन्, किन कुटपिट गरियो?
काठमाडौं महानगरपालिका हेरी त अरू सरकार निकै संयम भएको देखिन्छ। आफूलाई चित्त नबुझेका कुरामा प्रदर्शन, विरोध गर्दा अरू सरकारले त्यति बल प्रयोग गरेका छैनन्।
अतः महानगरले फुटपाथ व्यवसायीमाथि गलत गर्यो। अविलम्ब सच्याओस्।
काठमाडौं संघीय राजधानी हो। अवसरको खोजीमा देशभरबाट मानिसहरू आउँछन्। आश्रित भइरहेका छन्। उनीहरूलाई रचनात्मक तवरले सघाउने, विधिको दायरामा ल्याउने ठाउँ प्रशस्तै छन्।
काठमाडौंका खुला ठाउँ पहिचान गरौं। हाट बजारको अवधारणामा जाऔं। समय, सीमा तोकौं। अहिले अर्थतन्त्र ह्रासोन्मुख छ। त्यसो गर्दा त्यसमा पनि सुधार आउँछ। मानिसहरू स्वरोजगार, आत्मनिर्भर हुन्छन्। रोजगारीका क्षेत्र बढ्न सक्छ। बजार चलायनमान हुन्छ।
उदाहरणका लागि साँझपख बटुवाहरू घर फर्किने बाटामा त्यसरी हाटबजार चलाउन सकिन्छ। त्यसरी हाट बजार चलाउँदा कर उठाउन सकिन्छ। महानगरकै आम्दानी बढ्छ।
कर लिएका महानगरको पनि संरक्षण गर्नुपर्ने, व्यवस्थित गर्नुपर्ने दायित्व सिर्जना हुन्छ। बेलुकीको आठ बजेदेखि १० बजेसम्म त्यसरी व्यापार व्यवसाय गर्न सकिन्छ।
मैले सानो उदाहरण मात्र प्रस्तुत गरेको हुँ। यस्ता अनेक विधिको खोजी गरेर फुटपाथ व्यवस्थित गर्न सकिन्छ।
सोविता गौतम, सांसद, काठमाडौं क्षेत्र नम्बर २
सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा स्थानान्तरित भए। काठमाडौंमा अनपेक्षित रूपमा जनसंख्या बढ्यो। रोजीरोटीका आवसरहरू खोजिन थालिए। त्यही बेलादेखि फुटपाथमा सामान राखेर व्यापार गर्ने क्रम बढ्न सुरू भएको देखिन्छ। अहिले पनि नेपालभरबाट मान्छे रोजगारी, शिक्षाको खोजीमा काठमाडौं आउने गर्छन्। बाच्न र दुई छाक टार्न देशभरिबाट काठमाडौंलाई सहारा बनाएका छन्।
मानिस र सवारीको चाप बढेसँगै सडक–फुटपाथ व्यवसायीहरूका कारण आवागमनमा असर पुगेको पनि सत्य हो।
तर निश्चित समय, निश्चित दिन, र निश्चित स्थान तोकेर नियमित निरीक्षणमार्फत् हाटबजारको अवधारणा अनुसार व्यवस्थापन गर्न सकिन्छ।
देशको सबैभन्दा शक्तिशाली महानगरले व्यवस्थापनको कुनै उपाय नै नभए जसरी कुटपिट गरेर धपाउनु चाहिँ समस्याको समाधान होइन। धरपकड, खोसाखोस, कुटपिटले यसको समाधान दिँदैन। समाधानको विधि यो कुनै हालतमा मान्न सकिँदैन।
हिंसाको सहारा लिनुको सट्टा, व्यापारीहरूलाई नियमभित्र बाधेर तिनीहरूको व्यवस्थापन र सहयोग गर्ने प्रणालीहरूको विकास गर्नुपर्छ। कानुनको दायराभित्र रहेर अनुगमन र मार्गदर्शन गर्ने उपायहरू कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ।
फुटपाथबाट आफ्नो र परिवारको पेट पाल्ने कुरा छ। उनीहरूलाई रूवाएर, भोकै राखेर समस्याको समाधान हुँदैन। फुटपाथको समस्या समाधान होला तर अर्को समस्याले जन्म लिन सक्छ।
गगन थापा, सांसद, काठमाडौं क्षेत्र नम्बर ४
ठूलो ठूलो सहरहरूमा देशको अर्थतन्त्र चलायमान बनाउन सिंगो इकोसिष्टमले काम गर्नुपर्छ। त्यसका लागि सबै खालका आर्थिक समूहका मानिसले कुनै न कुनै हिसाबले त्यो बजारमा ठाउँ पाए भने बल्ल त्यहाँको अर्थतन्त्र चलायमान हुन्छ।
खुला आकाशमुनि गरिने सानो आर्थिक क्रियाकलाप (फुटपाथ व्यवसाय) सहरको अभिन्न अंगजस्तै हो। यो नभई अर्थतन्त्रको कल्पना गर्न सकिन्न। यसलाई निचोर्दै गर्दा यसको प्रभाव धेरै ठाउँमा पर्छ। जो यसमा काम गर्छन् त्यसको आम्दानीले सहरका अरू कुरा चल्छन्।
पहिले त स्थानीय सरकार के कुरामा प्रस्ट हुनुपर्यो भने- यसको व्यवस्थापन गर्ने हो, विस्थापन होइन। सहरमा खुला व्यवसाय गर्ने मानिसहरूलाई पूरै हटाएर वा खाली गरेर सहर सुन्दर बनाउँछु भन्ने सोचाइबाट पहिले बाहिर निस्किनुपर्यो।
यसलाई व्यवस्थापन गर्ने हो भन्ने सिद्धान्ततः स्वीकार गरेपछि मात्र व्यवस्थापनका उपायभित्र छिर्न सकिन्छ। यसपछि स्थानीय सरकारका आफ्ना प्राथमिकता हुन्छन्। सहर ठूलो र अव्यवस्थित छ। यसभित्र केही कुरालाई विधिले बाँध्नुपर्छ र व्यवसाय गर्नेले पनि विधि मान्नैपर्छ, त्यो तरिकाबाट जानुपर्यो।
खुला व्यापारले सहरलाई कुरूप बनाउँदैन।
अत्यधिक बल प्रयोग गरिएको घटना बाहिर आएका छन्। यो कुराको छानबिन हुनुपर्छ। बल प्रयोग भएका घटना बाहिर आएका छन् यसलाई बेवास्ता गरेर बस्यो भने त भोलि पनि यस्ता घटना दोहोरिन सक्छन्। यो घटनामाथि सम्बन्धित निकायबाट छानबिन होस्।
काठमाडौं मात्र होइन, देशभरका स्थानीय तहले सहरको अर्थतन्त्रलाई बुझ्नुपर्यो।
फुटपाथ व्यवसायीहरूमाथि धरपकड भएदेखि संघीय संसद चलेको छैन, आज चल्छ र यो विषयमा कुरा उठ्छ।
सन्तोष चालिसे, सांसद, काठमाडौं क्षेत्र नम्बर ३
फुटपाथमा व्यवसाय गरिरहेकाहरूलाई काठमाडौं महानगरले ठाडै लखेटेर जहासुकै जाओस् भनेर भन्न मिल्दैन। उनीहरू पनि यो मुलुकका जनता हुन्। उनीहरूलाई फुटपाथबाट उठाउँदै गर्दा व्यापार व्यवसाय गर्ने अर्को ठाउँ दिनैपर्छ।
गरिखानेलाई गरिबलाई काम गरेर खानै नदिने जबरजस्ती गर्न मिल्दैन। सहर सफा बनाउने नाममा गरिब जहाँसुकै जाऊन् भनेर भन्न एउटा स्थानीय सरकारले भन्न मिल्छ? मिल्दैन।
काठमाडौंलाई जस्तै फुटपाथ व्यवसायी व्यवस्थापन समस्या ललितपुरलाई पनि हुँदो हो, तर उसले त मिलायो त। फुटपाथ व्यवसाय गर्न दिइरहेकै छ। तर काठमाडौंमा भकाभक लठ्ठीले हानेर भागाभाग गराएर रूवाबासी गराउन मिल्छ? यो मिल्दैन।
यो विषयमा संघीय संसदमा कुरा उठ्छ। विचरा! गरिब, दु:खी कहाँबाट आएर फुटपाथमा केही सामान राखेर बसेको हुन्छ। यो चिसोमा बेलुकी १० बजेसम्म पनि फुटपाथमै बसिरहेको हुन्छ। बाध्यता अनेक हुन्छन्। उनीहरूलाई नगर प्रहरी लगाएर चुटेर समस्याको समाधान हुँदैन।
यसको विकल्प दिनुपर्छ महानगरले। जबरजस्ती हुँदैन। ठाउँ दिने हो अनि त्यहाँ जाऊ भन्ने हो। नसक्ने के छ महानगरले? महानगरको आफ्नो मात्रै कुराले हुन्न, जनताका पनि कुरा सुन्नुपर्छ। म पनि मेयर भइसक्या व्यक्ति हुँ, व्यापार गर्ने वैकल्पिक ठाउँ दिएर मात्रै हटाउनुपर्छ।
राजेन्द्रकुमार केसी, सांसद, काठमाडौं क्षेत्र नम्बर १०
फुटपाथ व्यवसायीलाई काठमाडौं महानगरले व्यवस्थित गर्नुपर्छ। अव्यवस्थित हिसाबबाट सडक पेटीमा व्यापार गर्नेलाई भने हटाउनैपर्छ तर उनीहरूलाई कुनै वैकल्पिक ठाउँ दिनुपर्छ।
जस्तै पहिले खुलामञ्चबाट खुद्रा व्यापारीहरूलाई हटाएर भृकुटीमण्डपभित्र राखिएको थियो। यसैगरी बिहान-बेलुकी मिलाएर, निश्चित ठाउँ तोकेर फुटपाथ व्यवसाय गर्न दिनुपर्छ।
मेयर बालेन शाहसहित महानगरले फुटपाथ व्यवसायीलाई निश्चित ठाउँ छुट्टाइदिएर रोजीरोटीको वातावरण बनाइदिनुपर्छ। विदेशतिर पनि व्यवस्थापन गरेर फुटपाथमा व्यापार गर्न दिएको देखिन्छ। यो समस्या समाधान गर्न महानगरले निकास खोज्नुपर्छ।
हामी जनताका यस्ता समस्याका बारेमा संसददेखि विभिन्न फोरमहरूमा बोलिराखेकै छौं। काठमाडौं सहरलाई व्यवस्थित गर्ने विषयमा मेयर बालेन शाह र राजनीतिक पार्टीको मात्र नभएर समग्र काठमाडौंकै कुरा हो। सबैको इच्छा भनेको फुटपाथ व्यवसायीको पनि रोजीरोटी सुनिश्चित होस्, सडकपेटीमा पनि अवरोध नहोस् भन्ने नै होला त्यसैले निकास खोज्नैपर्छ।