राष्ट्रिय सभा अध्यक्ष पद कुन पार्टीले लिने भन्नेमा सत्ता गठबन्धनभित्र रस्साकस्सी देखिएको छ।
सत्ताघटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेका छन्।
राष्ट्रिय सभाको सम्भावित कार्यसूचीअनुसार फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ। उक्त मिति नजिकिँदै गर्दा गठबन्धनमा रहेका दलहरूभित्र कसले उक्त पद लिने भन्नेमा होडबाजी देखिन्छ।
कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवार बनाउने तयारी गरेको छ। सिटौला गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावबाट निर्वाचित भएर आएका छन्।
माओवादीभित्र राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छाड्न नहुने मत बलियो छ।
राष्ट्रिय सभा उपाध्यक्ष माओवादीबाट उर्मिला अर्याल छिन्। उनलाई उपाध्यक्ष पदबाट राजीनामा दिन लगाएर अध्यक्षमा माओवादीले उम्मेदवार खडा गर्नुपर्ने मत हालैको स्थायी समिति बैठकमा नेताहरूले राखेका थिए। अध्यक्षमा माओवादीबाट नारायण दाहाल लगायतको चर्चा छ।
स्थायी समितिमा धारणा राखेका नेताहरूले राष्ट्रिय सभा अध्यक्ष अरू दललाई छाड्न नहुने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए।
सत्ताघटक कांग्रेस र माओवादीले नै दाबी गरेपछि राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीलाई लिएर गठबन्धनभित्र अन्यौल बढिरहेको छ।
यो पनि: राष्ट्रिय सभा अध्यक्षमा माओवादी-कांग्रेस होलान् आमनेसामने?
तर कांग्रेस भने राष्ट्रिय सभा अध्यक्ष आफूहरूले पाउनेमा ढुक्क छ।
बूढानिलकण्ठस्थित निवासमा बिहीबार अपराह्न उपसभापतिहरू, महामन्त्रीहरूसँग छलफल गरेका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले नै पाउने ब्रिफिङ गरेका हुन्।
‘राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार को हुने भन्नेमा पछिल्ला दिनमा आइरहेका कुराहरूमा केन्द्रित रहेर केही प्रसंग उठेको थियो। सभापतिज्यूले यसमा धेरै चिन्ता लिनु पर्दैन, ढुक्क हुनुस्, हामीले नै पाउँछौं भन्ने कुरा गर्नुभयो,’ एक पदाधिकारीले सेतोपाटीसँग भने।
सभापति देउवाले आफूले प्रधानमन्त्री प्रचण्डसँग बारम्बार कुराकानी गरिरहेको पनि बताएका थिए। ‘यसबारे प्रधानमन्त्रीजीसँग पनि प्रशस्त कुराकानी भएकै छ,’ देउवाको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार अपराह्न चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिनेबारे पार्टी स्थायी समितिले लिखित निर्णय नगरेको बताए।
‘स्थायी समितिका अत्यधिक सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष हामीले छोड्न हुँदैन सुझाव राख्नुभएको छ। लिखित निर्णय भइसकेको छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘भिन्न परिस्थिति थियो, कृष्णप्रसाद सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको भूमिका, संविधान निर्माणमा खेलेको सकारात्मक भूमिका खेलेको त्यो पृष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने त्यो सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो। तर त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम भिन्न ढंगले गए।’
कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित हुने अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।
‘भर्खरै सकिएको कांग्रेस महासमिति बैठकले आवश्यक नै नभएको गठबन्धन नै गरिँदैन भन्ने कुरा गर्यो,’ उनले भने, ‘रुखबाहेक गठबन्धन गर्दैनौं भनेर अहिले बोल्न कांग्रेसलाई के जरूरी थियो। यसले पनि देशभर एउटा तरंग पैदा गरेको छ, धर्मनिरपेक्षता, जनयुद्धका बारेमा अहिले किन बोलेको हो भन्ने प्रश्न त उठेको छ तर त्यसले ठूलै अन्तर परिहाल्छ भन्ने स्थितिमा हामी पुगेको छैन।’
कांग्रेस सभापति देउवा भने माओवादीले राष्ट्रिय सभा अध्यक्ष आफूहरूलाई छाड्नेमा ढुक्क छन्।
सत्ताघटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षमा एक जना मात्रै उम्मेदवार प्रस्तुत हुने बताउँछन्।
बिहीबार नै चितवन पुगेका अध्यक्ष नेपालले गठबन्धनभित्र यसबारे छलफल गरेर आवश्यक निर्णयमा पुगिने बताए।
‘यसबीचमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका बैठक भए। सबै पार्टीहरूमा विभिन्न विचार आएका छन्, कुन ढंगले अघि बढ्छ हेर्न बाँकी छ। सहमतिका लागि कुनै न कुनै उपाय निकालिन्छ,’ अध्यक्ष नेपालले भने।
राष्ट्रिय सभामा १७ सांसदसहित माओवादी सबैभन्दा ठूलो दल छ। कांग्रेसका १६, नेकपा (एमाले) का १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।
मन्त्री फेर्न देउवा अनिच्छुक
सभापति देउवा संघीय सरकारमा सामेल कांग्रेसका तर्फका मन्त्री फेर्न अनिच्छुक देखिएका छन्।
प्रधानमन्त्री दाहालले सार्वजनिक रूपमै अर्थमन्त्री प्रकाशशरण महत लगायतबारे टिप्पणी गरेका छन् भने मन्त्रिमण्डल पुनर्गठनमा सभापति देउवाको साथ खोजिरहेका छन्।
तर सभापति देउवाले अहिलेकै मन्त्रीलाई निरन्तरता दिन खोजेका छन्।
‘हाम्रातर्फबाट सरकारमा सामेल मन्त्रीहरू फेर्ने कुरा भएको छैन,’ सभापति देउवाले बिहीबार बूढानिलकण्ठस्थित निवासमा पदाधिकारीहरूसँग भने।
दाहाल नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका ९ जना मन्त्री छन्।
महासमितिका सुझावबारे फागुन २० मा छलफल
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकमा आएका सुझाव केलाउने भएको छ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव महासमितिले सर्वसम्मत पारित गरेको थियो।
उक्त प्रस्तावमाथि आएका सुझावका आधारमा केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय पनि भएको थियो। त्यसैले महासमिति सदस्यहरूले दिएका सुझाव केलाउने कांग्रेसको तयारी छ।
उपसभापति खड्का र महामन्त्रीद्वय थापा र शर्मा तथा प्रमुख सचेतक रमेश लेखक फागुन २० मा महासमितिका सुझावका सन्दर्भमा छलफलका लागि जुट्नेछन्।
महासमिति बैठकमा दुई हजार तीन सय ७३ जना सहभागी रहे पनि ६ सय ३१ जनाले मात्रै धारणा राखेका थिए।