नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र विवाद देखिएको छ।
अध्यक्ष दुजाङ शेर्पाले अवैधानिक गतिविधि गरिरहेको आरोप संस्थापनइतर समूहका नेविसंघले लगाएका छन्।
मंगलबार प्रज्ञा भवन कमलादीमा नेविसंघको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि संगठनभित्रका आन्तरिक विषय र अध्यक्षका अवैधानिक गतिविधिलाई लिएर विवाद सिर्जना भएको छ।
अध्यक्ष शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा कांग्रेस सभापति लगायतसँग परामर्शबिनै नेविसंघ जिल्ला सभापति तोकेकोजस्ता निर्णय सच्याउन नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूको माग छ।
कांग्रेस कार्यसम्पादन समितिले नेविसंघलगायत भ्रातृ संस्थाका जिल्ला सभापति तोक्दा सम्बन्धित जिल्ला सभापतिसँग परामर्श गर्नुपर्ने निर्णय गरे पनि अध्यक्ष शेर्पाले अटेरी गरेको आरोप संस्थापनइतर समूहको छ।
साथै उनीहरूले १२ औं महाधिवेशन सुनिश्चित हुनुपर्ने बताएका छन्।
अध्यक्ष शेर्पाले फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकमा ०८१ असार ११ मा नेविसंघ महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गरेका थिए।
नेविसंघमा लामो समयदेखि महाधिवेशन भएको छैन। सभापति देउवाले शेर्पाको नेतृत्वमा ७१० सदस्यीय तदर्थ समिति गठन गरेका थिए। महाधिवेशन गर्ने गरी यो समितिलाई कांग्रेसले म्याद थप गर्दै आएको छ।
सभापति देउवा निवास बूढानिलकण्ठ पुगेर मंगलबार बिहान नेता कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूले विवाद समाधान गर्न पहल गरिदिन आग्रह गरेका हुन्।
सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएका छन्।
देउवा निवास पुगेको प्रतिनिधिमण्डलमा सहभागी केन्द्रीय सदस्य भुवन भट्टले सभापति देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएको सेतोपाटीलाई बताए।
‘मेरो घरमा जुलुस आएको छ, नेविसंघमा के विवाद भएको हो? त्यो विवाद समाधान गरेर मात्रै बैठक गर्नू,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै भट्टले भने।
कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूले अध्यक्ष शेर्पा एकलौटी ढंगले अघि बढेको र समन्वय तथा छलफलसमेत नगरेको आरोप लगाएका छन्।
‘सभापतिज्यूले नै विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति गर्नू भन्ने निर्देशन दिनुभएकोले हामीलाई अध्यक्षले वार्तामा बोलाए आजको केन्द्रीय समिति बैठकमा सहभागी हुन्छौं, नत्र हुँदैनौं,’ भट्टले भने।
सभापति देउवालाई ध्यानाकर्षण गराएर फर्केकी केन्द्रीय सदस्य प्रेमिका राना मगरले पनि विवाद हल गरेर मात्रै बैठक गर्नुपर्ने बताइन्।
‘जबसम्म विवाद समाधान हुँदैन तबसम्म हामी केन्द्रीय समिति बैठकमा भाग लिँदैनौं भनेर सभापतिज्यूलाई भनेका हौं,’ उनले भनिन्, ‘उहाँले विवाद हल गर्न निर्देशन दिनुभएको छ।’
अध्यक्ष शेर्पाले काठमाडौं, धादिङ, दोलखा, मकवानपुर, बारा, नवलपरासी बर्दघाट सुस्तापश्चिम र सुनसरी जिल्ला अध्यक्ष तोक्दा सम्बन्धित जिल्लाका कांग्रेस सभापतिसँग परामर्श नगरेको उनीहरूको भनाइ छ।
केन्द्रीय समिति बैठकअघि अध्यक्ष शेर्पाले फरक विचार र धारणा राख्नेहरूसँग छलफल नगरेको पनि उनीहरूको भनाइ छ।
सभापति देउवाले गत साउन २२ गते नेविसंघ तदर्थ समिति गठन गरेका थिए। तदर्थ समिति गठन भएको सात महिनासम्म एउटा पनि केन्द्रीय समिति बैठक बसेको छैन।
नेविसंघ अध्यक्ष शेर्पाले देखिएका विवाद समाधानका लागि आफू तत्पर रहेको बताए।
‘सभापतिज्यूले विवाद मिलाउन भन्नु भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘सभापतिज्यूले मलाई फोन गरेपछि पनि मैले साथीहरूलाई तीन पटक फोन गरिसकेँ। विवाद मिलाउन म तयार छु।’
केन्द्रीय समिति बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। ‘साथीहरूसँग छलफल गरेर बैठक बस्छ, दिउँसो १ बजेदेखि सुरू होला,’ अध्यक्ष शेर्पाले भने।