ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक चल्यो।
सनराइज सम्मेलन केन्द्रमा दुई हजार तीन सय ७३ महासमिति सदस्य सहभागी बैठकको सतहमा महत्वपूर्ण एजेण्डाहरूमा छलफल थियो भने पर्दा पछाडि ती एजेण्डाविरूद्ध दाउपेच थिए। बैठकमा ६ सय ३१ जनाले धारणा राखेका थिए।
तिनै दाउपेचको परिणाम स्वरूप उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव महासमितिले सर्वसम्मतिले पारित गरे पनि 'परिमार्जनसहित केन्द्रीय समितिबाट अनुमोदन गर्ने' वाक्य घुसाइएको छ।
यो पनि: कांग्रेस महासमिति बैठकले निकालेको ११ निष्कर्ष
आफूहरूले नरूचाएका केही विषय महामन्त्रीद्वय थापा र शर्माले प्रस्तावमा राखेकोमा केन्द्रीय समितिबाट परिमार्जन गर्ने दाउमा सभापति शेरबहादुर देउवा पक्ष छ।
त्यसैले महासमितिले लिएका निष्कर्षको बुँदा नम्बर १० मा- महासमितिमा उपसभापति, महामन्त्रीहरूले पेश गरेको प्रस्तावले कांग्रेसको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ। बन्द सत्रमा पेश यी प्रस्तावमा सहभागी सदस्यहरूबाट महत्वपूर्ण सुझाव प्राप्त भएका छन्। ती सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिले सर्वसम्मतिले पारित गर्दछ,’ लेखिएको छ।
महासमितिले पास गरेका प्रस्ताव केन्द्रीय समितिले पारित गर्दा महासमितिको निर्णयको मर्मअनुसार गरिन्छ कि सभापति देउवासहित उनी पक्षका केन्द्रीय सदस्यका तजबिजका आधारमा भन्ने शंका कतिपय महासमिति सदस्यले उठाएका छन्। किनकी केन्द्रीय समितिमा सभापति देउवा पक्षका ८२ प्रतिशत सदस्य छन्। र उनीहरूले निर्णय आफूअनुकूल गर्न सक्छन्!
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माको हस्ताक्षरसहित फागुन १० मा जारी महासमितिको निष्कर्षका ११ बुँदाभित्र ‘कांग्रेस अबदेखि एक्लै चुनाव लड्ने, उम्मेदवार छान्न प्राइमरी इलेक्सन गर्ने र नेताहरूको एक्जिट पोलिसी’ लगायत महासमितिबाट पारित प्रस्तावका महत्वपूर्ण कुरा नै छुटाइएको छ।
ती कुरा छुटाइएकोमा कांग्रेसभित्र आलोचना भएको छ। महासमिति सदस्य भूपेन्द्रजङ्ग शाहीले महासमितिको निर्णयमा कहीँ कतै पनि गठबन्धन नगर्ने कुरा नराखिएकोमा असन्तुष्टि जनाएका छन्।
‘महासमितिको विशेष निर्णय भनेर आधिकारिक रूपमा जारी गरिएको विज्ञप्तिमा कहीँकतै पनि गठबन्धन नगर्ने भनेर एक शब्द पनि लेखिएको छैन,’ उनले भने, ‘उल्टै महासमिति सदस्यहरूको भावनाविपरीत यही गठबन्धनलाई निरन्तरता दिने भनिएको छ।’
उनले महासमितिको निर्णय केन्द्रीय समितिले परिमार्जन गर्न नहुनेमा जोड दिएका छन्। ‘अनि महासमितिले गरेको निर्णय केन्द्रीय समितिले परिमार्जन गर्ने हो भने त यो बृहत महासमिति मेलाको के अर्थ भयो र?,’ शाहीको प्रश्न छ।
महामन्त्री थापा र शर्माको प्रस्तावमा पहिले समर्थन, पछि विरोध
महामन्त्री थापा र अर्का महामन्त्री शर्माले फागुन ८ गते महासमितिमा सांगठनिक र समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दा अधिकांश सदस्यले ताली लगाएको र पक्षमा हुटिङ गरेको देखिन्थ्यो।
तर भोलिपल्ट फागुन ९ गते यी प्रस्तावमाथि छलफल गर्न महासमिति सदस्यहरूलाई चार समूहमा बाँडियो।
समूहगत छलफलमा धारणा राखेकाहरूले 'सुगा रटाइ' शैली अपनाए। गुट नेताले जे बोल्छन्, त्यही दोहोर्याए!
उद्घाटन सत्रपछि महामन्त्रीहरुको प्रस्तावका विरूद्ध बोल्न देउवा पक्षका कतिपय महासमिति सदस्यहरूलाई ‘एसएमएस सर्कुलर'नै गरिएको कतिपय महासमिति सदस्यले बताएका छन्। त्यसको प्रभाव समूहगत छलफलमा देखियो।
रूकुमका महासमिति सदस्य नन्दबहादुर विष्टले सभापति देउवाको बचाऊमा समूहगत छलफलमा कविता नै सुनाए:
आमा म बौलाहा होइन
मलाई बौलाहा भन्नेहरू नै बौलाहा हुन्
पार्टी सानो हुँदा पनि देउवालाई नै गाली गर्ने,
पार्टी ठूलो हुँदा पनि देउवालाई नै गाली गर्नेहरू बौलाहा हुन्
यी बाट भविष्य बन्दैन!
सभापति देउवा र संस्थापन इतर (तत्कालीन अवस्थामा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला र गगन थापा) पक्षबाट महासमिति सदस्य बनेकाहरूले समूहगत छलफलमा प्रस्तावका एजेन्डा केन्द्रितभन्दा पनि आफ्ना गुटका नेताका फाइदा हेरेर धारणा राखेका थिए।
कांग्रेसको स्वरूप र संरचना सुधारका लागि महामन्त्री थापाले २० प्रस्ताव गरेका थिए। यसमा महासमिति सदस्यले खासै बहस गरेको सुनिएन। मिडिया सेन्टरबाट कोशी-सुदूरपश्चिम समूहका महासमितिको समूहगत बैठक प्रत्यक्ष सुन्न सकिन्थ्यो भने अन्यत्र चलेका बन्द सत्रमा भित्र के कुरा गरिरहेका छन् बाहिर प्रष्ट सुनिन्थ्यो।
यो पनि: कांग्रेसको स्वरूप बदल्न महामन्त्री थापाका २० प्रस्ताव
सभापति देउवा पक्षका अधिकांश सदस्यहरुले 'अहिले नै किन गठबन्धनबारे बोल्नुपर्यो? ओली-प्रचण्ड बालुवाटारमा भेटिसके, अब एमाले र माओवादी मिल्छन्, ०७४ कै जस्तो प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेस २३ सिटमा खुम्चने? नजिकै राष्ट्रिय सभा अध्यक्ष चुनाव आउँदैछ, कृष्णप्रसाद सिटौलाको के हुन्छ, ओठ सुक्ला' जस्ता 'गठबन्धनमैत्री' कुरामा समय खर्च गरेका थिए।
महामन्त्रीहरूले प्रस्ताव पेश गर्दा ताली सुनिए पनि समूहगत छलफलमा भने आलोचना भयो। समूहगत छलफलमा 'एसएमएस सर्कुलर'को प्रभाव परेको एक महासमिति सदस्यले बताए। त्यसैले पहिले ताली बजाएकाहरूले बन्द सत्रमा भने महामन्त्रीद्वयका प्रस्तावमा विरोध गरेको दाबी उनको छ।
‘गठबन्धनका पक्षमा बोल्न भनिएको छ भनेर मधेसका पाँच-सात जना महासमिति सदस्यले मोबाइलमा एसएमएस नै देखाउनुभयो। त्यहीअनुसार बन्द सत्रमा धारणा राख्ने काम भयो,’ ती सदस्यले भने।
महामन्त्री थापाको प्रस्तावलाई महासमिति बैठकबाटै अस्वीकृत गर्ने योजनामा सभापति देउवा पक्ष थियो। महासमिति बैठक स्थलमा यसबारे चर्चासमेत चलेको थियो।
गोदावरीमै बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा पनि सभापति देउवाले 'गठबन्धनबारे अहिले नै केही निर्णय नगरौं' भनेका थिए। तर त्यहाँ पनि महामन्त्री थापाले अडान छाडेनन्। किनभने फागुन ७ को बेलुकी बूढानिलकण्ठको छलफलमा देउवाकै सहमतिमा सांगठनिक प्रस्ताव तयार पारेर छपाइका लागि पठाइएको थियो।
यो पनि: अन्ततः गगनको प्रस्तावमा सहमति जनाए देउवाले
महासमितिमा भोटिङ गर्दा पार्टीमा थप विवाद सिर्जना हुने, सन्देश नराम्रो नजाने र महासमिति बैठक समेत लम्बिने भएपछि गोदावरीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले बीचको बाटो खोज्यो- महासमितिले सबै प्रस्ताव पारित गर्ने, सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जनसहित अनुमोदन गर्ने र समापन समारोहमा केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वपदाधिकारी र पदाधिकारीलाई बोल्न समय दिने, समापन समारोहमा त्यसै गरियो।
एक्लै चुनाव लड्ने पक्षमा मञ्चबाटै शशांक र डिनाको समर्थन
कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला पनि पार्टीलाई गठबन्धनको आवश्यकता नपर्ने बताउँछन्। उनले यो कुरा महासमिति समापन सत्रकै मञ्चबाट भनेका हुन्।
‘हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देखिनँ। गठबन्धन आफ्नो साथीहरूसँग गर्नुस्,’ कोइरालाले भने, ‘वर्षमा ३६४ दिन कांग्रेस भएर हिँड्ने, मत हाल्ने दिन अन्यत्रै हाल्ने, यस्तो कांग्रेस हामीलाई चाहिँदैन।’
उनले चुनाव अघिको गठबन्धन दुर्भाग्य हो भनेका छन्।
‘गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ,’ उनले भने, ‘चुनावअघिको गठबन्धन दुर्भाग्य हो।’
यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले कांग्रेससँग एक्लै चुनाव लड्ने तागत र क्षमता रहेको बताइन्।
‘एक्लै लड्न सक्ने तागत र क्षमता छ हामीसँग छ। तर हिजोका दिनमा क्रियाशील सदस्यकै हराएको भोट खोज्न सकिएन भने यसले भोलिका दिनमा अर्को परिस्थिति जन्मिन्छ,’ उनले मञ्चबाटै भनिन्।
०७९ को चुनावमा कतिपय संघीय र कतिपय प्रदेश निर्वाचन क्षेत्रमा रूख चिन्ह नभएकोमा गुनासा आएको उनले बताइन्।
‘०७९ को चुनावमा कति संघीय, कति प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले रूख हेर्नै पाएन, भेट्नै पाएन, देख्नै पाएन भन्ने कुरा पनि यहाँ आएको छ। यो तथ्य हो। गुनासो छ साथीहरूको। म त्यो कुरा स्वीकार्छु,’ उनले भनिन्, ‘तर विगतमा रूख चिन्ह हुँदा क्रियाशील सदस्यकै भोट हराएको विषय यहाँ किन उठेन?’ उनले भोटसँग नोट साट्ने बिचौलिया प्रवृत्तिले कांग्रेसलाई रूवाएको पनि बताइन्।
महामन्त्री शर्माले एक्जिट पोलिसी र प्राइमरी इलेक्सन निर्णय भयो भन्दा फिस्स हाँसे पूर्णबहादुर
महामन्त्री विश्वप्रकाश शर्माले महासमिति समापन सत्रमा पार्टी रूपान्तरणका लागि प्रस्ताव पारित भएको बताए।
‘कुनै पनि तहबाट उम्मेदवार उठाउँदा त्यहीका साथीले उम्मेदवार छनौट गर्न पाउने गरी प्राइमरी इलेक्सन गर्ने पाइलट प्रोजेक्टको रूपमा लैजाने निर्णय भएको छ,’ शर्माले भने, ‘निर्वाचित भएर गएपछि कसले कति शासन गर्ने विषय पनि उठेको छ। एक्जिट पोलिसीको बारेमा महासमितिले निर्णय गरेको छ- कुनै पनि निर्वाचित भएर आएको व्यक्तिले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसदको शपथ लिनेछ।’
महामन्त्री शर्माले महासमितिबाट पारित विषय कांग्रेसले अबलम्बन गर्ने बताए।
‘महासमितिले पारित गरेको यो विषयलाई कांग्रेस आफूले अबलम्बन गर्नेछ र देशको संविधानमा अंकित गर्न प्रस्ताव गरेर जानेछ। इतिहासदेखि नै कांग्रेसले जे निर्णय गरेको छ त्यसको कार्यान्वयन गर्दै गएको छ,’ उनले भने।
महामन्त्री शर्माले यसो भनिरहँदा उपसभापति पूर्णबहादुर खड्का फिस्स हाँसेका थिए।
उपसभापति खड्काको दाबी- महासमितिले एउटा मात्रै निर्णय गर्यो
महासमिति समापन समारोहमा महामन्त्री शर्मापछि बोलेका उपसभापति पूर्णबहादुर खड्काले एक मात्रै निर्णय भएको बताए।
‘महासमिति बैठकबाट एकता सन्देश गएको छ। चार दिनसम्म बहस गर्दा छलफल गर्दा तलमाथि भए होलान्, निष्कर्षमा एकताबद्ध भएर एक प्रस्ताव पास भएको छ,’ उनले भने, ‘एउटा मात्रै निर्णय गरेका छौं, तीन प्रस्तावमा आएका सुझावलाई समावेश गरेर केन्द्रीय समितिले ती सबै प्रस्तावलाई परिमार्जन गरेर अन्तिम टुंगो लगाउँछ।’
सभापति शेरबहादुर देउवाले भने महासमितिले पारित गरेका प्रस्ताव परिमार्जन गर्ने विश्वास दिलाउँछु भनेका थिए। ‘साथीहरूले उठाएका कुराहरू केन्द्रीय समितिमा व्यापक छलफल गरेर परिमार्जन गर्नेछौं भन्ने विश्वास दिलाउँछु,’ सभापति देउवाले भने।
प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले परिमार्जन हुँदा धेरै कुरा निर्णयका रूपमा आउने बताए।
‘महासमितिमा एजेन्डा प्रस्तुत गर्ने साथीहरूको मुद्दा फ्याट्टै निर्णय भएन भन्ने लागेको होला। परिमार्जन हुँदा धेरै कुरा निर्णयका रूपमा आउँछन्,’ उनले भने, ‘र जसको निर्णयका रूपमा आउँदैन, ती मुद्दाहरू कुनै दिन बहुमतमा हुन्छन्। हामीले यसपालि अल्पमतलाई कदर गरेको हो। प्रक्रियामा नआएकोले हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव नै बनेन, प्रक्रियामा आएको भए भोटिङ हुन सक्थ्यो। महामन्त्रीले राखेको प्रस्ताव निर्णय गराउन उहाँले कोसिस गर्नुभएको होला, तर त्यहाँ माहौल नै बनेन,’ उनले भने।
महासमितिबाट पारित विषय केन्द्रीय समितिमा परिमार्जन गर्ने कुरा छैन विधानसम्मत
नेपाली कांग्रेसको विधान २०१७ (दसौं संशोधन) को धारा १९ मा केन्द्रीय महासमितिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ।
जसमा भनिएको छ, ‘केन्द्रीय महासमितिले एउटा केन्द्रीय महाधिवेशन समाप्त भई अर्को केन्द्रीय महाधिवेशन प्रारम्भ नहुँदासम्मको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक केन्द्रीय महाधिवेशनको सबै कार्य गर्न सक्नेछ।’
विधानको यो व्यवस्थाले नेतृत्व चयनबाहेक महासमितिले सबै निर्णय गर्न सक्ने भनेको छ।
कांग्रेसले ०७८ मंसिरमा महाधिवेशन गरेर नेतृत्व चयन गरिसकेको थियो भने नीतिबारे चर्चा नै गरेको थिएन। त्यसैले यसपालि नीतिसमेत बनाउने गरी महासमिति बैठक गरेको थियो।
विधानको धारा २२ मा केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ। जसको १ नम्बर बुँदामा लेखिएको छ, ‘केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनका निर्णय कार्यान्वयन गर्ने, गराउने र कार्यान्वयन भए, नभएको अनुगमन गर्ने।’
साथै महासमितिमा प्रस्ताव पेश गर्न सक्ने अधिकार भने केन्द्रीय समितिलाई छ। त्यसैले कांग्रेसले फागुन ३ र ४ गते महासमितिमा पेश गरिने प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल गरेको थियो।
विधानको धारा २२ अनुसार केन्द्रीय समितिलाई महासमितिबाट पारित प्रस्ताव परिमार्जनको अधिकार छैन, बरू निर्णय कार्यान्वयन गर्ने/गराउने र अनुगमन गर्नुपर्ने हुन्छ।
समूहको छलफलको सुझाव सुनाउँदा गुट अनुसारको निष्कर्ष सुनाइयो
समूह नेतासमेत रहेका सुदूरपश्चिम कांग्रेस सभापति वीरबहादुर बलायरले छलफलमा उठेका विषय महासमिति हलमा सुनाएका थिए।
‘गठबन्धन चुनावअघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने महासमिति सदस्यहरूको धारणा आयो, यो तत्कालीन समयले माग गर्ने विषय हो,’ समूहगत छलफलमा उठेका कुरा सुनाउँदै उनले भने, ‘अहिले नै गठबन्धन गर्ने वा नगर्ने निर्णय लिन अलि हतार हुन्छ भन्ने कुरा आएको छ।’
उनले यसअघि गठबन्धन पार्टीको निर्णयबाटै भएकोले त्यसलाई निरन्तरता दिन इमान्दारिता देखाउनुपर्ने कुरा पनि आएको सुनाएका थिए।
बागमती र गण्डकीका महासमिति सदस्य रहेको समूहगत छलफलका बुँदा बागमती सभापति ईन्द्र बानियाँले सुनाए।
उनले केन्द्रदेखि वडासम्म समिति भद्दा भएकोले बैठक बस्न कोरम नै नपुग्ने समस्या भएकोले विधान संशोधन गरी सानो समिति बनाउन सुझाव आएको सुनाए।
‘पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरी वडाबाटै चुनाव जितेर आउनुपर्ने व्यवस्था गर्न सुझाव आएको छ,’ उनले भने, ‘प्रत्येक जिल्लाबाट कम्तीमा १ जना केन्द्रीय सदस्य हुने व्यवस्था गरौं भन्ने सुझाव प्राप्त छ।’
उनले आगामी चुनावदेखि कांग्रेसले अरूसँग गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने सुझाव पनि आएको सुनाएका थिए। ‘कतिपयले भने गठबन्धनबिना जित्न सकिँदैन भन्नुभएको छ। तर एक्लै चुनाव लड्नुपर्छ भन्ने सुझाव पनि छ,’ उनले भने।
बानियाँले बन्द सत्रमा समूहगत छलफलका बुँदा सुनाउँदै गर्दा गठबन्धन चाहिन्छ भन्ने कतिपय महासमिति सदस्यहरू बसेको कुर्सीबाट उठेर मञ्चतर्फ गए। उनीहरूको होहल्लाले कार्यक्रम करिब १५ मिनेट रोकिएको थियो।
कांग्रेसले मञ्चबाट पटक-पटक 'साथीहरू जय नेपाल, साथीहरू जय नेपाल, आफ्नो ठाउँमा गएर बस्नुस्' भन्नु परेको थियो भने मञ्चमा प्रहरी र फ्लोरमा स्वयमसेवक परिचालन गरिएको थियो। महामन्त्री थापाले सबैलाई आफ्नो ठाउँमा बस्न भनेपछि उनीहरू फर्किएका थिए।
समूहगत छलफलमा महासमिति सदस्य नै नरहेकालेसम्मले गठबन्धनका पक्षमा धारणा राखे।
स्याङ्जाका मेखलाल श्रेष्ठले गठबन्धनका पक्षमा बोलेका हुन्। उनी महासमिति सदस्य होइनन्, कांग्रेस गण्डकी उपसभापति हुन्।
महासमिति सदस्यले नै बोल्न नपाएकोमा नियमविपरीत महासमिति सदस्य नरहेका श्रेष्ठलाई धारणा राख्न दिएकोमा गोरखा सभापति नन्दप्रसाद न्यौपानेले आपत्ति जनाएपछि श्रेष्ठलाई हलबाट बाहिर निकालियो।
यो पनि: महासमिति सदस्य नभएकाले बोलेपछि कांग्रेस बैठकमा विवाद
श्रेष्ठका भनाइ रेकर्डबाट हटाइएको थियो भने गण्डकी सभापति शुक्रराज शर्मा र बागमती सभापति ईन्द्र बानियाँले श्रेष्ठलाई बोल्न दिइएकोमा माफी नै मागेका थिए।
ललितपुरका एक जना वडाध्यक्ष पनि महासमिति हलभित्रै गएर बसेको पाइएपछि बाहिर निकालिएको थियो।
मधेस र कर्णालीका महासमिति सदस्यलाई एकै समूहमा राखेर छलफल गराइएको थियो। छलफलमा आएका सुझाव मधेस सभापति कृष्ण यादवले सुनाए।
उनले मधेसमा कांग्रेस ठूलो पार्टी भए पनि गठबन्धनभित्र अर्कै दलले मुख्यमन्त्री पाएकोमा अब कांग्रेसले नै सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव आएको बताए। साथै चुनावमा अन्तर्घात हुने गरेको उनको भनाइ थियो।
‘मधेसमा अन्तर्घात हुन्छ अनि चुनाव हारिन्छ भन्ने कुरा उठेको छ। टिकट नपाउनलेले नै हराउन लाग्छ,’ उनले भने, ‘अन्तर्घात नगरे कांग्रेसलाई मधेसमा कसैले हराउन सक्दैन। तर यहाँ हराउन भूमिका खेल्नेलाई पार्टीले पुरस्कृत गर्छ भन्ने गुनासा पनि आएका छन्।’
यी पनि:
कांग्रेस महासमिति बैठकमा उपसभापति खड्काले पेश गरे नीति प्रस्ताव (पूर्णपाठ)
यस्तो छ महामन्त्री गगन थापाले महासमितिमा पेश गरेको प्रस्ताव
गठबन्धनलाई कायम राखेर नै काम गर्नुपर्ने अभिभारा कांग्रेसको छः महामन्त्री शर्मा (पूर्णपाठ)
अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्नु हो: अर्थमन्त्री (पूर्णपाठ)
महासमिति बैठकमा शेखर कोइरालाले राखेका ११ कुरा