नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन सत्र सकिएलगत्तै सोमबार अपराह्न सभापति शेरबहादुर देउवाले नजिकै बसेका महामन्त्री गगन थापालाई इसारा गरे- जाऊँ!
महामन्त्री थापाले महासमितिमा पेश गर्ने सांगठनिक प्रस्तावको एउटा कुरा सभापति देउवालाई चित्त बुझेको छैन। यसबारे छलफल गर्न बूढानिलकण्ठस्थित निवासमा देउवाले पदाधिकारीहरू र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन्।
देउवाले हातले गरेको इसारा- बूढानिलकण्ठ जाऊँ, प्रस्तावका बारेमा उतै छलफल गरौं भन्ने हो।
'अबदेखि चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने र रूख चिह्नबाहेक अरूमा मत हाल्न बाध्य नपार्ने' कुरा महामन्त्री थापाको प्रस्तावमा छ।
यो कुरा प्रस्तावबाटै हटाउने पक्षमा सभापति देउवा छन्। त्यसैले उनले महामन्त्री थापासँग यसबारे तारन्तार छलफल गरिरहेका छन्।
सभापति देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा राखिएको 'कोशी प्रकरण' मा पनि असन्तुष्टि जनाएका छन्। तर यसबारे थप विवाद देखिएको छैन।
यो पनि: महासमितिमा पेश गर्ने गगन र विश्वप्रकाशको प्रस्तावका कतिपय कुरामा देउवाको आपत्ति
अहिले कांग्रेससहित दलहरूको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री छन्। गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री बन्ने समझदारी छ।
सभापति देउवाले गठबन्धनबारे महासमितिमा छलफल गर्न चाहेका छैनन्।
उनले 'गठबन्धन गर्ने वा नगर्ने कुरा पार्टीको रणनीतिक विषय भएको' बताउँदै अहिले नै यसबारे छलफल गर्न आवश्यक नरहेको अडान राखेका छन्।
आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने विषयमा महासमितिमा छलफलको प्रस्ताव बन्यो भने यसले अहिलेको सत्ता गठबन्धनमा विश्वासको संकट पैदा हुने भय देउवामा देखिन्छ।
महासमितिमा पेश हुने महामन्त्री थापाको सांगठनिक प्रस्तावमा गत फागुन ३ र ४ गते सानेपामा भएको केन्द्रीय समितिमा छलफल भएको थियो।
केन्द्रीय सदस्यहरूले दिएका महत्वपूर्ण सुझावसमेत थापाले प्रस्तावमा समेटिसकेका छन्।
छपाइ गर्न प्रेसमा पठाउनुअघि सभापति देउवाले प्रस्तावबाट गठबन्धनका कुरा हटाउनुपर्ने अडान राखे। जसले गर्दा प्रस्ताव पेश गर्ने पूर्वसन्ध्यासम्म पनि प्रस्ताव छपाइ हुन सकेको छैन। मंगलबार बिहान ९ बजे महासमिति बैठक बस्दैछ।
प्रस्तावका कुराबारे सभापति देउवा र महामन्त्री थापाबीच निरन्तर छलफल भइरहेको छ। सोमबार बिहान पनि बूढानिलकण्ठमा उनीहरूले छलफल गरे तर कुनै निचोडमा पुगेनन्।
यो पनि: भविष्यमा गठबन्धन गर्ने/नगर्ने निर्णय परिस्थितिका आधारमा हुन्छः देउवा
छलफलमा सभापति देउवा र महामन्त्री थापाबीच के कुरा भयो? निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार उनीहरूको संवाद यस्तो छ:
शेरबहादुर: अब हुने चुनावमा गठबन्धनका बारेमा अहिले नै प्रस्तावमा केही कुरा नलेखौं। चुनाव आउन धेरै वर्ष बाँकी छ, त्यसबेला के हुन्छ के, जे हुन्छ त्यही बेला निर्णय गरौंला नि!
गगन: मेरो प्रस्तावको पूरा सार नै त्यही हो, अबदेखि चुनावमा गठबन्धन गर्न हुन्न भन्ने। चुनावी गठबन्धनले कांग्रेसलाई क्षति गर्यो। अरूका चुनाव चिह्न र उम्मेदवारलाई भोट हाल्न बाध्य पार्दा वर्षौंदेखि रूख चिह्नमा भोट हाल्दै आएकाहरू हामीसँग रिसाएका छन्।
शेरबहादुर: यो कुरा म बुझ्छु, तर यो त पार्टीको रणनीतिक कुरा हो, अहिलेदेखि भन्ने कुरा होइन।
गगन: तपाईंहरूले राम्रोसँग मेरो प्रस्ताव पढ्नु भएको छैन भन्ने मलाई लाग्छ। पार्टीमा ८ लाख ६९ हजार क्रियाशील सदस्य छौं। तर हामीलाई भोट हाल्ने लाखौं मानिसहरू छन्। उनीहरूको भावना र चाहना पनि बुझ्नुपर्यो भन्ने हो।
कांग्रेसका नेताहरूलाई नचिन्नेले पनि डेमोक्र्याट भएकै आधारमा रूखमा भोट हालेको छ। यो कुरा बुझ्नुपर्यो। हामीले गठबन्धन गर्दा डेमोक्र्याट, जो नेताहरू चिन्दैन तर रूख चिह्न चिन्दछ, उनीहरूको मन दुखेको रहेछ, यो सुधार्नुपर्ने आवश्यकता छ।
शेरबहादुर: सुधार गर्नुपरे चुनावकै बेला सुधार गर्ने हो।
गगन: हामीले अहिले नै कसैसँग गठबन्धन गर्दैनौं भनेर नीति लियो भने कांग्रेस पार्टी आफैँ बन्छ। चुनावका बेला सुधार गर्ने भन्दै बसियो भने त यतिका समय छ, त्यो बेलासम्म त पार्टी नै सकिइसक्छ, अनि के सुधार्ने?
शेरबहादुर: तै पनि महासमितिमा छलफल गर्ने प्रस्तावमा गठबन्धनका कुरा नराखौं!
गगन: तपाईं गठबन्धनको कुरा मात्रै भन्नुहुन्छ, मेरो प्रस्तावको पूरा सार नै गठबन्धन गर्दा पार्टीलाई क्षति भयो, पार्टी कमजोर भयो, यसलाई सुधारौं भन्ने हो। हामीले चुनावअघि नै गठबन्धन गर्दा रूखमा मत हाल्ने लाखौं शुभेच्छुकको मन खलबल्याएका छौं। अब जे भयो भयो, उप्रान्त गठबन्धन गर्दैनौं भन्यो भने कांग्रेस फेरि जाग्छ।
यो पनि: गठबन्धन गर्दा ७ प्रतिशत लोकप्रिय मत र १३.२ प्रतिशत मतदाता गुमायौं: गगन थापा
शेरबहादुर: यस्तो कुरा अहिले बोल्न हुन्न।
गगन: मैले महासमितिमा पेश गर्ने प्रस्तावमै मेरो कुरा नहुने, मूल मर्म नै मारेर कसरी पेश गरूँ?
शेरबहादुर: म झन् सभापति हुँ, अहिले यो कुरा छलफल गर्न हुन्न भन्ने मलाई लागेको विषयलाई कसरी पार्टीको दस्तावेजमा राख्ने त?
गगन: मुख्य कुराको मर्म मार्ने गरी प्रस्तावलाई काँटछाँट गर्न हुन्न।
शेरबहादुर: त्यो प्रस्तावमा मेरो कुरा छैन भने किन पेश गरिराख्ने त? त्यहाँ लेखेको कुरा मेरो 'आइडिया नै होइन'।
गगन: मेरो प्रस्तावको चुरो कुरो गठबन्धन गर्न हुन्न यसले पार्टीलाई बिगार्यो भन्ने हो। यो कुरा फालेर बाँकी ३० पेजचाहिँ के गर्नुहुन्छ? मुख्य कुरा नै गठबन्धन गर्न हुन्न भन्ने ग्रासरूटको सुझाव छ।
शेरबहादुर: ल, ल छलफल गर्दै जाऊँ न!
पढ्नुस् महामन्त्री थापाको प्रस्ताव: