नेपाली कांग्रेसको महासमति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।
राजनीतिक स्थायित्व , रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता भन्ने मुल नाराका साथ महासमिति बैठक सुरू भएको हो।
बैठकलाई ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले स्वागत गरेका छन्। मञ्चमा पदाधिकारी, पुर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइरालालाई राखिएको छ।
देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य रहेको सत्ता साझेदार दल कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ।
महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइँदैछ।
बैठक उद्घाटनलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।
ती प्रस्तावहरूमा चार वटा समूह बनाएर छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
चार समूह हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुनेगरी बनाइने उनले बताए।