रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको तानाशाही शासनको चर्को विरोध गर्ने प्रजातन्त्रवादी नेता अलेक्सी नभाल्नीको गत शुक्रबार मृत्यु भएको छ।
रूसी जेलमा रहेका ४७ वर्षीय नभाल्नी र पुटिनबीच लामो समयदेखि राजनीतिक मतभेद मात्र होइन, उनीहरूको व्यक्तित्वमा धेरै भिन्नता पनि थिए।
शारीरिक रूपमा पुटिनको उचाइ जम्मा ५ फुट ७ इन्च छ, जबकि नभाल्नी ६ फुट २ इन्च अग्ला थिए। व्यवहारमा पुटिन हरदम रिसाइरहे जस्ता देखिन्छन्, जबकि नभाल्नी जहिल्यै हाँसिरहन्थे।
राजनीतिक रूपमा पुटिन आफूलाई रूसी इतिहासका शक्तिशाली र बर्बर शासकहरूकै उत्तराधिकारी मान्छन्, जबकि नभाल्नी औसत मान्छेका रूपमा प्रस्तुत हुन्थे।
मुख्य भिन्नता भने यी दुई जनाको डरसँगको सम्बन्ध हो।
पुटिन आफ्ना विरोधीहरूलाई डर देखाएर वा हत्या गरेर चुप लगाउन माहिर छन्। उनले डरकै भरमा शासन चलाइरहेका छन्। नभाल्नीलाई भने पुटिनको डरले कहिल्यै छोएन। उनी भित्रभित्रै डराए होलान्, तर आफ्नो मनको डर बाहिर कहिल्यै देखाएनन्। सामाजिक सञ्जालमा पुटिनका भ्रष्टाचार पर्दाफास गर्न समेत पछि परेनन्।
नभाल्नीको यही निडरताबाट वाक्क भएरै पुटिनले उनलाई तह लगाउन हत्या गराएको हुनुपर्छ भन्ने अड्कल काटिएको छ।
घटनाक्रमहरूले पनि यस्तै देखाउँछन्।
सन् २०२० अगष्ट २० को कुरा हो। साइबेरियाको टम्स्क सहरबाट राजधानी मस्को फर्किने क्रममा नभाल्नी जहाजमै बेहोस भए। उनलाई मार्न 'नभिचोक' भन्ने प्रतिबन्धित 'नर्भ एजेन्ट' प्रयोग गरिएको थियो भन्ने पछि सार्वजनिक भयो। यस्तो घातक विष खासगरी रूसजस्ता शक्तिशाली राष्ट्रका सैनिक जासुसले मात्र प्रयोग गरेको इतिहास छ। यसबाट नभाल्नीलाई मार्ने षड्यन्त्रमा पुटिनको हात रहेको देखियो।
नभाल्नी बेहोस भएपछि पाइलटले जहाजलाई अम्स्क सहरमा आकस्मिक अवतरण गराए। उनलाई अस्पताल लगियो। जर्मनीबाट आएका चिकित्सकले विदेश लैजान सिफारिस गरेपछि बर्लिन पुर्याइयो। कतिले ४८ घन्टा बितेपछि शरीरमा नभिचोकको अंश भेटिँदैन भनेर वा लग्न अनुमति दिइएको दाबी गर्छन्।
त्यति बेला कोमामा पुगेका नभाल्नीले फेरि बिस्तारै बोल्न, खान र हिँड्न सिके। नभिचोकले पनि नभाल्नीको ज्यान लिन सकेन।
यसरी मृत्युको मुखबाट फर्केका नभाल्नी अब विदेशमै बस्लान् र बिस्तारै उनको प्रभाव कम हुँदै जाला भन्ने पुटिनको सोच हुन सक्छ। तर पाँच महिनामै उनी छाती फुलाएर जर्मनीबाट रूस फर्के। र, आफ्नो निडरताले पुटिनको रिसको आगोमा घ्यू थपे।
रूस फर्केपछि नभाल्नीलाई सन् २०१४ को ठगी मुद्दामा पक्राउ गरियो। त्यति बेला महिनाको दुईपटक कारागार सेवामा हाजिर हुने सर्तमा उनलाई छाडिएको थियो। उनले बर्लिनमा उपचाररत रहँदा उक्त सर्त तोडेको भन्दै अदालतले ३० दिन हिरासतमा राख्न आदेश दियो।
आदेश जे भए पनि नभाल्नी त्यसपछि कहिल्यै मुक्त भएनन्।
उनलाई विभिन्न आरोपमा सजाय सुनाउने र जेल सार्ने क्रम जारी राखियो। गत डिसेम्बरमा उनलाई आर्कटिक सर्कलभन्दा माथि रहेको 'आइके-३ पेनल कोलोनी' जेल लगिएको थियो। त्यहाँ पुर्याइएको दुई महिनामै गत शुक्रबार उनको निधन भयो।
जेलबाट मात्र होइन, उनी आफ्नो जीवनबाटै मुक्त भए!
कारागार अधिकारीका अनुसार उनी हरेक दिनझैं हिँडेर फर्केका थिए। फर्किनेबित्तिकै बेहोस भए। त्यसपछि होसमा फर्काउन सकिएन। अमेरिकी पत्रिका 'द न्यूयोर्कर' ले उनको मृत्यु 'पल्मनरी इम्बोलिज्म' (जमेको रगतले फोक्सोमा जाने रगत रोकिनु) का कारण भएको जनाएको छ।
मृत्युको कारणबारे स्वतन्त्र जाँच भएको छैन। उनको हत्या गरिएको हो कि रोगले नै मृत्यु भएको हो भन्ने पुष्टि हुन सकेको छैन। अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले सन् २०२२ पछि नभाल्नीलाई झन्डै तीन सय दिन एकान्तवासमा राखिएको लेखेको छ। जेलको खराब स्थिति र मानसिक तनावले उनको ज्यान गएको हुनसक्ने अनुमान पनि गरिन्छ।
अर्को अमेरिकी अखबार 'द वासिङ्टन पोस्ट' ले चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ, 'नभिचोकजस्तो विषालु पदार्थको असरबाट बाँचेका धेरै उदाहरण छैनन्। यो विषले मान्छेको मस्तिष्क र स्नायु प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ। यही असर जटिल बन्दै गएर नभाल्नीको मृत्यु भएको हुनसक्छ।'
कारण जे भए पनि राष्ट्रपति चुनावको एक महिनाअघि नभाल्नीको मृत्यु हुनुले पुटिनलाई आफ्नो ठूलो काँडा पन्छिएजस्तो सन्चो भएको हुनुपर्छ!
उनको मृत्युको खबर आएकै दिन पुटिन एक औद्योगिक पार्कमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी थिए। त्यहाँ उनी अरू बेलाभन्दा धेरै प्रसन्न देखिएको पश्चिमी मिडियाहरूले लेखेका छन्।
नभाल्नीको जन्म सन् १९७६ मा भएको थियो। बेलायती पत्रिका 'द इकोनोमिस्ट' को सह-प्रकाशन '१८४३' का अनुसार उनका बुबा तत्कालीन सोभियत संघको मिसायल फौजमा लेफ्टिनेन्ट कर्नेल थिए भने आमा अकाउन्टेन्ट थिइन्। उनका हजुरबुबा र हजुरआमा अहिले युक्रेनमा पर्ने चेर्नोबिल सहरनजिकै बस्थे। उनी छुट्टीमा त्यहाँ घुम्न जान्थे।
चेर्नोबिल आणविक दुर्घटना हुँदा नभाल्नी १० वर्ष पनि पुगेका थिएनन्। तर तत्कालीन कम्युनिस्ट शासकले उक्त घटना कसरी ढाकछोप गर्न खोज्यो भन्ने उनको परिवारले राम्ररी देख्यो।
उनको परिवारको आर्थिक स्थिति तुलनात्मक राम्रो थियो। कम्युनिस्ट शासनको अन्त्यतिर रूसले भोगेको आर्थिक संकटको मारबाट भने उनीहरू पनि मुक्त रहन सकेनन्। त्यति बेला दूध किन्न लामो लाम बस्नुपरेको र चुइङ गमधरि खान नसकेको स्थिति उनले वर्णन गरेका थिए।
सन् १९९१ मा सोभियत संघ विघटनपछि केही समय आर्थिक संकट रह्यो। त्यसपछि बिस्तारै सुधार हुँदै गयो। त्यति बेला विश्वविद्यालय पढ्दै गरेका नभाल्नीले कानुनमा स्नातक गरेपछि १९९८ मा एउटा बैंकमा राम्रो जागिर पाए।
त्यसै वर्ष छुट्टी मनाउन टर्की जाँदा समुद्री किनारमा उनले युलियालाई भेटे र प्रेममा परे। पछि उनीहरूको विवाह भयो।
उनको जिन्दगीको सबभन्दा महत्वपूर्ण 'टर्निङ प्वाइन्ट' सन् १९९९ को अन्तिम दिनलाई मानिन्छ, जब तत्कालीन रूसी राष्ट्रपति बोरिस येल्तसिनले अप्रत्यासित रूपमा राजीनामा दिए।
येल्तसिनको राजीनामापछि पुटिन सुरूमा कार्यवाहक र पछि चुनाव जितेर पूर्णकालीन राष्ट्रपति बने।
पुटिनको शासनमा रूसले द्रुत आर्थिक विकास गर्न थाल्यो। तर गुप्तचर पृष्ठभूमिका पुटिनले बिस्तारै रूसमा तानाशाही शासन गर्न थाले।
प्रजातान्त्रिक विचारधारा भएका नभाल्नीलाई यो सब ठिक लागेन। यहीँबाट राजनीतिमा उनको प्रवेश भयो। नभाल्नीले धेरै अन्तर्वार्तामा पुटिनकै कारण आफू राजनीतिमा आएको बताएका थिए।
नभाल्नीले आफ्नो राजनीतिक यात्रा उदारवादी यबलोको पार्टीबाट गरेका थिए। उनी बिस्तारै भ्रष्टाचारविरोधी राजनीतिक अभियानमा लागे। उनमा वैचारिक गहिराइ त थिएन, तर पुटिनको तानाशाही शासन रूसका लागि ठिक छैन भन्ने उनले राम्ररी बुझेका थिए।
पछि पुटिनको विरोध गर्ने चरम दक्षिणपन्थीहरूसँग सहकार्य गर्दै उनले मुसलमान र आप्रवासीहरूको विरोधमा उग्र नाराबाजी गरे। उनले त्यति बेला आफू परिपक्व नभएको र पुटिनको विरोध गरेकै कारण दक्षिणपन्थीहरूसँग सहकार्य गरेको प्रस्टीकरण दिएका थिए। त्यति बेलाका आफ्ना अभिव्यक्तिका लागि उनले माफी पनि मागेका थिए।
नभाल्नीमा वैचारिक क्षमता नभए पनि फिल्म र कार्टुन सिरिजहरू हेर्ने बानीले भिडिओ बनाउने क्षमता भने धेरै थियो। यही क्षमता उपयोग गर्दै उनले पुटिन शासनमा भएका भ्रष्टाचारको विरोधमा भिडिओ बनाए र ब्लगहरू लेखे।
यसबीच उनले सरकारी स्वामित्वका कम्पनीहरूको सेयर किने र कम्पनीको साधारणसभामा कडा प्रश्नहरू सोध्न थाले।
रूसी संविधानले दुई कार्यकालभन्दा धेरै राष्ट्रपति बन्ने अनुमति दिँदैन थियो। यही संवैधानिक प्रावधानका कारण सन् २००८ मा पुटिनले आफ्ना विश्वासपात्र डिमित्री मेडभेडेभलाई राष्ट्रपति बनाए र आफू प्रधानमन्त्री बने।
२०११ को संसदीय चुनावमा पुटिनले धाँधली गरेको आरोप लगाउँदै रूसमा ठूलो प्रदर्शन भयो। यस्तोमा पुटिनले अर्को कार्यकालका लागि फेरि राष्ट्रपतिमा उठ्ने घोषणा गरे। यसले विरोध झन् बढ्यो, जुन पुटिनको चुनावी विजयपछि पनि जारी रह्यो।
त्यो बेला पुटिनका सबै विरोधी आफ्ना मतभिन्नता थाती राखेर एकजुट भएका थिए। यसका बाबजुद उनीहरूले पुटिनलाई सत्ताच्यूत गर्न सकेनन्।
सन् २०१२ मा फेरि राष्ट्रपति भएपछि पुटिनले पहिलेभन्दा बढ्ता तानाशाही व्यवहार देखाए र विरोधीहरूमाथि क्रूर दमन गर्न थाले।
त्यति बेला प्रतिपक्षको प्रतिनिधि अनुहार बोरिस नेम्त्सोभ थिए। नभाल्नी भने अनलाइन भिडिओ र ब्लगहरूमा मात्र सीमित थिए। त्यही क्रममा जब उनी पक्राउ परे, उनको चर्चा चुलियो। उनी आफ्नो राजनीतिमा जमे।
नभाल्नीले सन् २०१३ मा मस्कोको मेयरमा उम्मेदवारी दिए। उम्मेदवारी दिनु मात्र के थियो, उनलाई पहिलेको ठगी मुद्दामा जेल सजाय सुनाइयो। त्यो सजायले कानुनी मान्यता पाइनसकेकाले नभाल्नीलाई चुनाव लड्न दिनुपर्छ भन्ने सरकारी वकिलको जिकिर थियो। अदालतले उक्त जिकिर स्वीकार गर्यो।
त्यति बेला रूसमा निष्पक्ष चुनाव हुन्छ भनेर देखाउने प्रयोजनले जित्ने सम्भावना नभएका नभाल्नीलाई छाडिएको थियो भन्ने पश्चिमी मिडियाहरूको दाबी छ।
नभाल्नीले भने यो अवसरको भरपुर सदुपोग गरे र चुनाव हारे पनि २७ प्रतिशतभन्दा धेरै मत ल्याएर राजनीतिक रूपमा स्थापित भए।
सन् २०१५ फेब्रुअरी २७ मा क्रेमलिन छेवैको पुलमा मध्यरात नेम्त्सोभको गोली हानी हत्या गरियो। त्यसपछि नभाल्नी पुटिनका मुख्य विरोधीका रूपमा स्थापित भए।
सन् २०१८ को चुनावमा नभाल्नीले पुटिनविरूद्ध राष्ट्रपतिमा उम्मेदवारी दिन खोजेका थिए। तर उनलाई पुरानो मुद्दा देखाएर चुनाव लड्न दिइएन। त्यसअघि मस्को मेयरको निर्वाचनमा जित्ने सम्भावना नदेखेर उठ्न दिइए पनि यसपालि उनको लोकप्रियताले पुटिन तर्सिएका थिए।
नभाल्नीले भने हरेस खाएनन्।
उनले पुटिन सरकारबाट भएका भ्रष्टाचारविरूद्ध चोटिला भिडिओहरू बनाइरहे र पुटिनको विरोध जारी राखे। सँगसँगै, पुटिनका विरोधीहरूलाई एकत्रित गर्ने प्रयास पनि गरे। यही प्रयासको फलस्वरूप स्थानीय चुनावहरूमा पुटिनका उम्मेदवारबाहेक जो विपक्षी उम्मेदवार सबभन्दा बलियो छ, उसैलाई सबैले भोट हाल्ने रणनिति अपनाइयो। यसले धेरै ठाउँमा पुटिनका उम्मेदवार पराजित भए।
नभाल्नीको यही राजनीतिक सक्रियता र प्रभावकारी विरोधले रिसाएका पुटिनले उनलाई मार्ने आदेश दिएका थिए। तर नभिचोकजस्तो खतरनाक विषालु पदार्थ प्रयोग गर्दा पनि नभाल्नीको ज्यान गएन। बरू उनी पहिलेभन्दा निडर रूपमा पुटिनको विरोधमा उभिए।
उनले जर्मनीमा स्वास्थ्य लाभ गर्ने क्रममा एउटा भिडिओ पोस्ट पनि गरेका थिए। त्यो भिडिओमा उनले एक गुप्तचरसँग फोनमा कुरा गर्दै आफूलाई मार्न विष प्रयोग गरिएको स्वीकार गर्न लगाएका छन्। ती गुप्तचरले कट्टुमा विष लुकाएको बताएका थिए। त्यसपछि नभाल्नीले 'इतिहासले पुटिनलाई कट्टुमा विष राख्ने शासकका रूपमा याद गर्नेछ' भनेर मजाक उडाएका थिए।
उनले जर्मनीबाट रूस फर्किनेबित्तिकै 'पुटिन्स प्यालेस: द स्टोरी अफ द वर्ल्ड्स लार्जेस्ट ब्राइब' शीर्षकको भिडिओ आफ्नो युट्युब च्यानलमा पोस्ट गरे। झन्डै दुई घन्टा लामो त्यो भिडिओमा कसरी पुटिनले एक अर्ब डलरभन्दा बढी खर्च गरेर 'ब्ल्याक सी' किनारमा आलिसान दरबार बनाए भनेर सार्वजनिक गरिएको थियो।
उनले ड्रोन प्रयोग गरेर खिचिएको फुटेजका आधारमा पुटिनको विलासी दरबार देखाएका थिए। उक्त दरबारमा हुक्का बार, आइस हकी रिंक, ८५० डलर पर्ने ट्वाइलेट ब्रस लगायत धेरै विलासी वस्तु र सुविधाहरू भएको उनको दाबी थियो। केही दिनमै त्यो भिडिओ १० करोडभन्दा धेरैपटक हेरियो।
जर्मनीबाट फर्केपछि जब उनलाई गिरफ्तार गरियो, उनले कहिले पनि आफू डराएजस्तो अनुभूति गराएनन्। अदालत लगिँदा होस् वा जेलभित्र खिचिएको भिडिओमा होस्; उनी जहाँ पनि निर्भीक र निडर नै देखिए। शारीरिक रूपले गलेका भए पनि उनको अनुहार सधैं उज्यालो हुन्थ्यो। उनी पुटिनको सत्ताविरूद्ध घोचपेच गरिरहन्थे।
मृत्यु हुनु एक दिनअघिको भिडिओमा पनि नभाल्नी एकदमै हँसिला देखिएका थिए। अदालतसामु उपस्थित उनले न्यायाधीशलाई भनेका थिए, 'मलाई अदालतले बारम्बार जरिवाना तिराउँदै आएको छ। जरिवाना तिर्दा तिर्दा मेरो पैसा सकिइसक्यो। बरू तपाईंले केही पैसा पठाइदिएको भए हुन्थ्यो!'
नभाल्नीलाई 'रोमान्टिक विद्रोही' भनिन्छ। विद्रोही मात्र नभएर उनी रोमान्टिक प्रेमी पनि थिए। उनले आफ्नी पत्नी युलियाको जन्मदिनमा जेलबाटै सामाजिक सञ्जालमार्फत आफूहरूको पहिलो भेटबारे चर्चा गरेका थिए।
उनले लेखेका थिए —
'युलिया, मैले हाम्रो भेटबारे लेख्न धेरैचोटि प्रयास गरेँ। तर प्रत्येकचोटि एकाध वाक्य लेखेपछि डर र तनावले मेरो हात रोकिन्थ्यो। त्योभन्दा अगाडि म केही लेख्नै सक्दिनथेँ। आज पनि मलाई त्यस दिन तिमीसँग भेट नभएको भए मेरो जिन्दगी के हुन्थ्यो होला भनेर डर लाग्छ। त्यो साँच्चिकै मेरो जिन्दगीको सुखद संयोग थियो। त्यो पल मैले तिमीतिर नहेरी अर्को दिशामा हेरिरहेको हुन सक्थेँ। वा, तिमीले मतिर नहेरी मुख मोडेकी हुन सक्थ्यौ। तर त्यो एक सेकेन्डले मेरो जिन्दगीलाई नयाँ दिशा दियो। त्यो पल मैले तिमीलाई नहेरेको भए र त्यही पल तिमीले पनि मलाई नहेरेकी भए मेरो जिन्दगी अर्कै हुन सक्थ्यो। सबथोक अर्कै हुन सक्थ्यो। म सायद यो पृथ्वीकै सबभन्दा दु:खी मान्छे हुन्थेँ। त्यति बेला हामीले एकअर्कालाई हेर्नु कस्तो गज्जब भयो! त्यही घटनाले म अहिले आफ्नो टाउको हल्लाउँदै, ती सबै कुरा सोच्दै, निधारमा हात चलाएर भन्न सक्छु- हैट, कस्तो अनौठो दुःस्वप्न!'
उनले सामाजिक सञ्जालमा गरेको अन्तिम पोस्ट पनि युलियाप्रति नै समर्पित थियो। उनले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफू हरक्षण युलियासँग नजिक छु भनेर लेखेका थिए।
पत्नीप्रति प्रेमभाव दर्शाएको दुई दिनमै उनको मृत्यु भयो।
नभाल्नीको मृत्युपछि समवेदना दिन भेला भएका सयौंलाई पुटिन सरकारले गिरफ्तार गरिसक्यो। चुनावको ठ्याक्कै अगाडि भएको यो घटनाले तत्काललाई पुटिनले राहतको सास फेरेका हुन सक्छन्।
इतिहासले भने नभाल्नीलाई 'पुटिनका प्रखर विरोधी' का रूपमा सधैं सम्झिरहनेछ।