पार्टी केन्द्रीय सदस्यको संख्या घटाएर चुस्त-दुरूस्त बनाउने र ती सबै केन्द्रीय सदस्यहरू निर्वाचित भएर आउने प्रस्तावमाथि छलफल गर्न हुन लागेको विधान सम्मेलनको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रले फेरि केन्द्रीय सदस्य थपेको छ।
शुक्रबार र शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले १८ जना केन्द्रीय सदस्य थपेको हो।
थपिएका केन्द्रीय सदस्यहरू आइतबार चलेको केन्द्रीय कमिटी बैठकमा सहभागी पनि भइसकेका छन्।
थपिएका केन्द्रीय सदस्यहरूमा लालबहादुर सुस्लिङ, शंकर राई, रिपुप्रसाद राई, महादेव महतो, टंक गिरी र रामसुर बुढा छन्।
यस्तै माओवादीले पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हिरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेमलाई केन्द्रीय सदस्य बनाएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरूङले सर्कुलर जारी गरेर जानकारी गराएका छन्।
माओवादीले अहिलेको कमिटीमा केन्द्रीय सदस्य थप्ने र केन्द्रीय कमिटीको संख्या घटाएर १५१ सदस्यीय बनाउने प्रस्ताव भने एकै दिन पारित गरेको छ।
विधान उपसमितिले तयार पारेको केन्द्रीय सदस्य घटाउने प्रस्ताव पारित गरेलगत्तै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरू थप्ने प्रस्ताव शनिबारको स्थायी कमिटी बैठकमा सुनाएका थिए।
उक्त बैठकले यी नामहरू अनुमोदन गरेपछि थपिएका केन्द्रीय सदस्यहरू आइतबारदेखि नै पार्टी बैठकमा सहभागी भएका हुन्। उनीहरू केन्द्रीय सदस्य भएको निर्णय अध्यक्ष प्रचण्ड र महासचिव गुरूङले सर्कुलरमार्फत जानकारी गराए पनि आइतबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा भने सुनाइएन।
माओवादीका उपमहासचिव जनार्दन शर्माले पहिल्यै निर्णय गरिसकिएका नेताहरूलाई केन्द्रीय कमिटीमा थपिएको बताए।
उनले केन्द्रीय कमिटीलाई १५१ सदस्यीय बनाउने नयाँ विधानको प्रस्ताव छलफलकै क्रममा रहेको र विधान महाधिवेशनबाट पारित भए विशेष महाधिवेशनपछि मात्रै लागू हुने बताए।
अहिले भने पुरानै विधानअनुसार केन्द्रीय सदस्य थपिएको शर्माको भनाइ छ।
माओवादीको विधान सम्मेलन फागुन १,२ र ३ गते काठमाडौंमा हुँदैछ।