गत माघ ११ गते १९ सिटका लागि राष्ट्रिय सभा चुनाव सम्पन्न गरेको निर्वाचन आयोग अब उपनिर्वाचनको तयारीमा जुटेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचनको तयारी भइरहेको बताए। प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त पदका लागि आयोगले उपनिर्वाचनको तयारी गरेको हो।
२०७९ वैशाखमा स्थानीय र मंसिरमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भएको थियो। त्यसयता प्रतिनिधि सभा सदस्य एकसहित विभिन्न २३ पद रिक्त छ।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को १ मा प्रदेश सभा सदस्यको पद रिक्त छ। अन्य स्थानीय तहका २१ पद रिक्त छ।रिक्त पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श थालेको पौडेलले बताए।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचनको तयारीबारे आइतबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए।
आयोगलाई आवश्यक पर्ने स्रोत साधन र समयबारे उनीहरूबीच कुराकानी भएको थियो।
आयोगका पदाधिकारीहरूले उपनिर्वाचनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि भेट्ने तयारी गरेका छन्। उपनिर्वाचन मितिलगायत विषयमा प्रधानमन्त्रीसँग आयोग पदाधिकारीले छलफल गर्न लागेका हुन्।
‘उपनिर्वाचनको तयारीमा आयोग जुटेको छ। तर मिति टुंगो लागिसकेको छैन। प्रधानमन्त्रीज्यूसँग छलफल गरेपछि उपनिर्वाचन कहिले गर्ने टुंगो लाग्छ,’ उनले भने।
आयोगले आउँदो वैशाख-जेठभित्रै उपनिर्वाचन गर्ने गरी गृहकार्य गरेको छ। वैशाखअघि उपनिर्वाचन गर्न आयोगलाई समय अपुग हुने उनले बताए।
‘निर्वाचन गर्न प्रक्रिया पुर्याउनुपर्छ। मतदाता नामावली अध्यावधिक गर्नुपर्नेलगायत विभिन्न कारणले वैशाखअघि तयारीले भ्याउँदैन। जेठपछि बर्खा लाग्ने भएकोले चुनौती हुन्छ,’ उनले भने।
आयोगको परामर्शमा सरकारले निर्वाचनका मिति घोषणा गर्ने गर्छ।
आर्थिक अवस्था, स्रोत साधन, सुरक्षा व्यवस्थालगायत विविध कारणले सरकारसँगको समन्वयमा उपनिर्वाचन मिति तोक्ने गरिएको छ।
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त पदका लागि एकै दिन निर्वाचन गर्ने आयोगको तयारी छ। ‘तीनै तहको उपनिर्वाचन आर्थिक हिसाबले पनि एकै दिन गर्दा नै राम्रो हुन्छ,’ पौडेलले भने।
आयोगले उपनिर्वाचन मिति तोकिनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिसकेको छ। चुनाव मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम लेखाउन मिल्दैन।
आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्ने काम पनि गर्दै आएको थियो।
कुन-कुन स्थानमा हुँदैछ उपनिर्वाचन?
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। २०७९ मंसिरमा भएको चुनावमा यहाँ नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र रिक्त छ।
प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परी निधन भएको थियो।
स्थानीय तहतर्फ गढी गाउँपालिका-६, त्रियुगा नगरपालिका-१२, इशनाथ नगरपालिका-७ र राजपुर नगरपालिकामा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ।
गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, कीर्तिपुर नगरपालिका-४, काठमाडौं महानगरपालिका-१६, ककनी गाउँपालिका-२, हेटौंडा उपमहानगर-१२, गोरखा नगरपालिका-५, मुसिकोट गाउँपालिका-१, रून्टिगन्टी गाउँपालिका-४, ठाकुरबाबा नगरपालिका-४का वडाध्यक्षका लागि चुनाव हुँदैछ।
महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ। तिलागुफा नगरपालिका-४, कुशे गाउँपालिका-७ र नलगाढ नगरपालिकाका उपप्रमुखका लागि उपनिर्वाचन गर्ने तयारी छ। दुहुँ गाउँपालिका-५, सुर्मा गाउँपालिका-४, पूर्वीचौकी गाउँपालिका-६ र स्वनीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद रिक्त छ।