नेपाली कांग्रेसका नेताहरू हिजोआज गाउँमा देखिन्छन्।
'समुदायमा कांग्रेस अभियान' का हेतु पार्टीले जिल्ला नै तोकेर पदाधिकारी र केन्द्रीय सदस्यलाई परिचालन गरेको छ। उनीहरूको काम नागरिकहरूसँग अन्तर्क्रिया गर्नु हो, आफ्ना कुरा (भाषण) कम गर्न कांग्रेसले भनेको छ।
यही अभियानअन्तर्गत जिल्ला-जिल्ला पुगिरहेका छन्- महामन्त्री गगन थापा पनि। यही माघ १३ गतेदेखि हुलाकी राजमार्गकेन्द्रित यात्रा सुरू गरेका थापा शुक्रबार महोत्तरी आइपुगेका छन्।
महामन्त्री थापाले तराईका २१ जिल्लाका समुदायमा नागरिकसँग कुराकानी गर्नेछन्। पार्टीका नेता, कार्यकर्ता र नागरिकका गुनासा तथा सुझाव सङ्कलन गर्ने काम थापाले गरिरहेको देखिन्छ। माघ २६ गते उनी कञ्चनपुर पुग्नेछन्।
महामन्त्री थापाका अनुसार मुख्य दुई कारणले 'समुदायमा कांग्रेस' अभियान चलाइएको हो।
पहिलो- अहिले जनतामा निराशा, आक्रोश र अलमल देखिन्छ।
‘जनतामा देखा परेको निराशा, आक्रोश र अलमललाई हामी चिर्न चाहन्छौं, यो कांग्रेसको जिम्मेवारी पनि हो,’ थापाले भने, ‘केही मानिसहरूले जनतामा निराशा छ, दु:ख छ, त्यो हामी सत्तामा नभएर हो भन्न पाउँछन् तर कांग्रेसलाई यो छुट छैन। हामी वडादेखि संघीय सरकारसम्म छौं, काम गर्नुपर्छ।’
कांग्रेस अहिले समुदायमा जानुको दोस्रो कारण हो- आसन्न महासमिति बैठक।
फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक हुँदैछ। यो बैठकमा पार्टीले लिने नीतिबारे छलफल हुन्छ। ‘पार्टीले लिने नीति तय गर्नुअघि जनताका सुझाव लिन पनि हामी समुदायमा जान जरूरी थियो, नागरिकको सुझाव टिपेका छौं, त्यसैअनुसार नीति बनाउँछौं,’ थापा भन्छन्।
कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा नेतृत्व मात्रै चुनेर नीति अधिवेशन पछि गर्ने भनेको थियो। नीति अधिवेशनकै काम गर्ने गरी महासमिति बैठक फागुनमा गर्न लागिएको केन्द्रीय कार्यालयले जनाएको छ।
समुदायमा पुगेका कांग्रेसका नेताहरूलाई पार्टी कार्यकर्ता र नागरिकले गुनासा सुनाएका छन्।
झापाका किशोर ढुंगेल अवस्थीले कांग्रेस नेताहरू जनता भेट्न गाउँ आएकोमा खुसी व्यक्त गर्दै भने, ‘पारि (भारत) मा राहुल गान्धीको अभियान हेर्थे, गगन वा कसैले यहाँ पनि यस्तै अभियान गरिदिए गज्जब हुन्थ्यो भन्ने लागेको थियो। तपाईं (गगन) आउनुभयो, जनताका समस्या सुनेर समाधान गर्नुपर्यो।’
उनले नागरिकता नपाउने समस्या रहेको उल्लेख गर्दै थपे, ‘झापामा त नागरिकता समस्या त्यति धेरै छैन। मधेसमा विकराल छ। मेरा साथीहरू नेपाल प्रहरीमा, लोक सेवामा भिड्छु भन्छन् तर उनीहरूको नागरिकता छैन। मान्छेलाई नागरिकता दिनुपर्छ के, त्यो राष्ट्रवादको नारा घन्काएर मात्र हुन्न, कानुन बनाइदिनुस्।’
उनले नेताहरूलाई गाडीबाट हात हल्लाउनुभन्दा पनि छ-सात महिनाको पैदल यात्रा गर्दै जनता भेट्न सुझाव दिए। ‘युवा नेताहरूले शेरबहादुर देउवाले छाडेनन् भन्ने गरेको सुन्छु, नेतृत्व कसैले किस्तीमा राखेर दिँदैन भिड्ने हो,’ उनले भने, ‘छ महिना पैदल हिँडौं, युवाहरू साथ दिन तयार छन्।’
मेचीपुलदेखि यात्रा सुरू गरेका महामन्त्री थापाले महोत्तरीसम्म आइपुग्दा यस्तै गुनासा र सुझाव नागरिकहरूबाट आएका छन्। थापासँग नागरिकहरूले सीमाका बासिन्दाले भोगेका सास्ती, लम्पी स्किनबाट मरेका गाईबस्तुको क्षतिपूर्तिका विषय, बेरोजगारी समस्यालगायत विषयमा गुनासा गरेका छन्।
‘जनताका कुरा सुनेर टिपोर्ट गरेका छौं। स्थानीय तहदेखि संघीय सरकारका बजेट बनाउने बेला नागरिकका सुझावलाई आधार मानेर बजेट बनाउन भूमिका खेल्छौं,’ थापाले सर्लाहीका नागरिकहरूसँग भने, ‘भुइँमा रहेका जनताका सुझाव पार्टी र सरकारमा पुर्याउँछौं।’
कार्यकर्ताहरूले महामन्त्री थापालाई केही वर्षदेखि पार्टीले गठबन्धनको राजनीति गरेको र चुनावमा त्यसबाट धोका मिल्ने गरेकोसमेत बताएका छन्।
‘अबका चुनावमा हाम्रो मतदातालाई रूखमा मात्र मत हाल्न लगाउने हो। साइकल, छातामा वा अन्य चिन्हमा मत हाल्नुपर्दैन भन्ने सङ्कल्प गर्ने हो,’ थापाले भने, ‘एक्लै चुनाव लड्न पार्टी पनि बलियो हुनुपर्छ। अहिलेको भोटले मात्र पुग्दैन, करिब १२ लाख मत थप्नुपर्छ। त्यसका लागि भाषणले हुन्न परिणाम दिने काम गर्नुपर्छ।’
उनले पार्टी संगठन बलियो बनाउनुपर्ने बताए।
‘अहिले वडामा जति मत आएको छ त्यसमा कम्तीमा तीन सयका दरले भोट थपिनुपर्यो,’ थापाले भने, ‘अरू पार्टीमा भएकालाई खुसीसाथ पार्टीमा तान्न सक्नुपर्यो, त्यो भाषणले हुन्न। परिणाममुखी कामले मात्र हुन्छ। अहिले काम गरे चुनावमा रूवाबासी गर्दै मत माग्नु पर्दैन।’
प्रधानमन्त्री, मन्त्री र विभिन्न पार्टीका नेताहरूले अनावश्यक ठाउँमा बजेट हाल्ने गरेकोसमेत पाइएको उनले बताएका छन्।
‘मधेसमा सिँचाइका योजना अलपत्र रहेछन्,’ उनले भने, ‘सिँचाइ भए यहाँ धानलगायत उत्पादन बढ्छ। अब हाम्रो ध्यान सिँचाइ योजनाहरू पूरा गर्नेमा केन्द्रित हुनुपर्छ, यसमा बजेट बिनियोजन हुनुपर्छ।’
मधेसलगायत क्षेत्रमा सरकारी विद्यालयको अवस्था पनि राम्रो छैन। ‘विद्यालयमा पढाइ भइरहेको छ तर सिकाइ छैन,’ उनले भने, ‘शिक्षामा ठूलो जागरण र उथलपुथल ल्याउन जरूरी छ नत्र १० वर्षमा यो क्षेत्र सम्हाल्न नसक्ने अवस्थामा पुग्ने देख्छु।’
कांग्रेसले गनगन र गुनासो गर्ने नभई काम गर्नुपर्ने उनले बताएका छन्। तीनै तहका सरकारमा कांग्रेस भएकोले काम गर्नुपर्ने उनको भनाइ छ। पार्टीका कतिपय कार्यकर्ताहरूले गुट र उपगुटले गर्दा कांग्रेस बिग्रँदै गएको तथा भोट घटेको बताएका थिए।
जवाफमा थापाले नेतालाई उम्मेदवार छान्न दिएसम्म गुट रहने देखिएकोले जुन तहको चुनाव छ त्यही तहको पार्टी समितिले उम्मेदवार छानेमा यो समस्या समाधान हुने बताएका छन्।
पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि बागमतीका विभिन्न जिल्लामा भएका 'समुदायमा कांग्रेस' अभियानमा सहभागी छन्।
उनले भुइँतहमा बस्ने जनताका कुरा सुनेर पार्टीलाई गति दिनुपर्ने आवश्यकता रहेको बताए।
‘पार्टीलाई गति र ऊर्जा दिन नागरिकसँग अन्तर्क्रिया गर्नुपर्छ,’ सिन्धुली पुगेका सिंहले भने, ‘पार्टी कार्यालयमा बसेर जनताका कुरा थाहा हुन्न। जनतासँग भिज्न सके मात्र पार्टी बलियो हुन्छ।’
उनले स्थानीय स्रोत साधनको प्रयोग गर्दै उत्पादनलाई वृद्धि गर्न र बजारीकरणमा राज्यबाट सहयोग हुनुपर्ने बताए। ‘हामी ठूला कुरा नगरौं, आधारभूत कुरामा कांग्रेसले जोड दिनुपर्छ,’ उनले भने।
'समुदायमा कांग्रेस' अभियानका क्रममा नेताहरूलाई पुराना साथी भेट्ने अवसर पनि मिलेको छ।
केन्द्रीय सदस्य शेखर कोइरालाले अभियानकै क्रममा मोरङको जहदा गाउँपालिका ५ मा रहेका साथी बिलठ कामतसँग भेटे। कामत कोइरालाका बाल्यकाल र आदर्श विद्यालय पढ्दाका साथी हुन्।
कामत बिरामी रहेको थाहा पाएपछि उनलाई भेट्न कोइराला घरमै पुगेका थिए।
कांग्रेसले हिमपात हुने हिमाली जिल्लाहरू र भूकम्प प्रभावित जाजरकोट, रूकुम पश्चिममा केन्द्रिय प्रतिनिधि खटाएको छैन। अन्यत्र केन्द्रीय सदस्यहरू खटाएर अभियानअन्तर्गत जनताका गुनासा र सुझाव सङ्कलनलाई जारी राखेको छ।
गत माघ १६ गते कांग्रेसले नेताहरूलाई आफू क्रियाशील वडामा गएर अनिवार्य रूपमा श्रम तथा सामाजिक काम गर्न निर्देशन पनि दिएको थियो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा गएका नेताहरूले जनताका अपेक्षा, सुझाव र गुनासा सुनिरहेका छन्। साथै स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकनसमेत भइरहेको छ।
'समुदायमा कांग्रेस' अभियानका क्रममा जनताबाट आएका सुझाव कार्यान्वयनका लागि पार्टीले पहलकदमी लिने र आउँदो महासमिति बैठकमा पार्टीको नीति निर्माणमा मार्गदर्शनको रूपमा लिइने उनको भनाइ छ।