देश र जनताका लागि सहादत प्रदान गर्नेहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी मंगलबार शहीद दिवस मनाइएको छ।
यसैक्रममा मंगलबार बिहान काठमाडौंको शान्तिवाटादेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरि गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', संघीय सरकारका मन्त्रीहरू, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायत जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीले प्रभातफेरि गरेर शहिद स्मारक लैनचौरमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रधानमन्त्री दाहालले शहिदहरूले देखेका सपना र गरेको अठोटलाई शीरोधार्य गर्नुपर्ने बताए। क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको पनि उनको भनाइ छ।
शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाउने गरिन्छ।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
तस्बिरहरू: