राष्ट्रिय सभा निर्वाचनमा गण्डकीबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।
गठबन्धनको भागबण्डा अनुसार महिलातर्फ माओवादीकी मनरूपा शर्मा, खुला र अपांगतातर्फबाट कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार निर्वाचित भएका छन्। तर उनीहरूले समान भोट भने पाएनन्।
राष्ट्रिय सभा सदस्य जितेकी माओवादी केन्द्रकी मनरूपा शर्माले विजयीहरूमध्ये सबभन्दा कम मतभार पाएकी छन्। उनले ३ हजार ६६० मतभार पाएकी हुन्। स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी ९५ जनाले शर्मालाई भोट दिएका थिए। जबकी, सत्ता गठबन्धनमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १०१ जना छन्।
गठबन्धनमा आबद्ध स्थानीय तहका ५ जना प्रमुख तथा उपप्रमुखले महिलातर्फ एमालेकी उम्मेदवार सम्झना देवकोटालाई मत दिएका थिए।
गण्डकीमा एमालेका ६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहेकोमा ६८ जनाले देवकोटालाई मत दिएका थिए। एमालेबाट निर्वाचित ढोरपाटनका मेयर देवकुमार नेपाली सहकारी ठगी अभियोगमा फरार छन्। त्यसैले उनी मतदान गर्न आएनन्।
गठबन्धन उम्मेदवार शर्मालाई प्रदेश सांसद ३५ जनाले मत दिएका थिए। जबकी, सत्ता गठबन्धनबाट गण्डकी प्रदेश सभामा ३६ जना सांसद छन्। शर्मालाई मत दिने एक जना प्रदेश सांसदले मत बदर गरेका छन्।
यस्तै, सत्ता गठबन्धनकै एक स्थानीय तहका प्रमुख/उपप्रमुखको पनि मत बदर भएको छ।
दलित तथा अल्पसंख्यकमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर परियारले पनि पूर्ण मत पाएनन्। परियारले गठबन्धनमा आबद्ध सबै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १०१ मत पाए। तर गठबन्धनका सबै प्रदेश सांसदको मत पाएनन्। परियारले गठबन्धनमा रहेका गण्डकी प्रदेश सांसद ३५ जनाले मात्र मत दिए। जबकी, सत्ता गठबन्धनमा गण्डकीबाट ३६ जना सांसद छन्। गठबन्धनमै आबद्ध एक प्रदेश सांसदको मत भने बदर भएको छ।
परियारले कुल ३ हजार ७ सय ७४ मतभार पाउँदा उनका प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ जार ४ सय ५८ मतभार पाएका छन्। उनले एमालेका ६८ स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभाका २२ सांसदको मत पाएका छन्।
दलित तथा अल्पसंख्यकतर्फ उम्मेदवार नउठाएका कारण राप्रपाका सांसदले कसैलाई पनि मत दिएनन्। गण्डकी प्रदेश सभामा राप्रपाको दुइ सांसद छ। उनीहरूको मत बदर भएको छ।
खुलातर्फ सत्ता गठबन्धनबाट निर्वाचित कांग्रेसका किरणबाबु श्रेष्ठले पनि पूरा मत पाएनन्।
श्रेष्ठले ३ हजार ८ सय ८ मतभार पाउँदा उनका प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाएका छन्।
श्रेष्ठलाई गठबन्धनका स्थानीय तहका प्रमुख/उपप्रमुख गरी एक सय जनाले मत दिए भने प्रदेश सभाका ३६ सांसदले मत दिएका छन्। श्रेष्ठले स्थानीय तहका प्रमुख/उपप्रमुखबाट गठबन्धनमा आवद्ध एक मत पाउन सकेनन्।
गठबन्धनमा आबद्ध स्थानीय तहका प्रमुख वा उपप्रमुख १ जनाले ‘फ्लोर क्रस’ गरी एमाले उम्मेदवार पराजुलीलाई मत दिएका छन्।
गण्डकीबाट राप्रपाले दुई जना उम्मेदवार उठाएको थियो। प्रदेश सभामा दुई सांसद भएको राप्रपाको दुवै मत महिलामा गौमाया श्रेष्ठ र खुलामा रोमबहादुर भण्डारीले पाएका छन्।
गण्डकीमा केही मत ‘क्रस’ भए पनि सत्ता गठबन्धनकै उम्मेदवारहरू निर्वाचित भएका छन्।
८५ वटा पालिका रहेको गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभा छ।
गण्डकीका पालिकामा सत्ता गठबन्धनबाट १०१ जना प्रमुख/उपप्रमुख छन् भने एमालेको ६९ जना प्रमुख/उपप्रमुख निर्वाचित छन्। एमालेबाट निर्वाचित ढोरपाटनका मेयर देवकुमार नेपाली सहकारी ठगी अभियोगमा फरार भएका कारण ६८ जना मतदान गर्न पुगेका थिए।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ छ भने प्रदेश सांसदको मतभार ५३ रहेको छ।
गण्डकीबाट राष्ट्रिय सभामा प्रवेश गरी सभा अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिना, सदस्यद्धय दीपा गुरूङ र प्रकाश पन्थको कार्यकाल फागुनमा सकिँदै छ। उक्त पद रिक्त भएसँगै नयाँ सदस्यका लागि बिहीबार निर्वाचन भएको हो।
निर्वाचनमा देखिएको ‘फ्लोर क्रस’ र बदरले सत्ता गठबन्धनप्रति जनप्रतिनिधि नै असन्तुष्ट देखिएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडी बताउँछन्।
‘सत्ता गठबन्धनलाई जनप्रतिनिधिले नै रूचाएनन् भन्ने देखिएको छ, यसले गठबन्धनमा आबद्ध नेताहरूले पुनर्विचार गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामी जितको अवस्थामा पुग्न सकिएन, तर सत्तारूढ जनप्रतिनिधि नै एमालेतर्फ ढल्किएको मतपरिणामले देखाउँछ।’
नेकपा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरूङ ‘कुसुम’ले राष्ट्रिय सभा निर्वाचनमा भएको फ्लोर क्रसका विषयमा गठबन्धनभित्र छलफल चलाउने बताइन्।
सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखबाटै फ्लोर क्रस र मत बदर गराउने कार्य गलत भएको उनले बताइन्। त्यसै विषयमा गठबन्धनभित्र छलफल गरेर निर्णयमा पुग्ने उनको भनाइ छ।
यस्तै निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधि पत्ता लगाउने नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताए। जनप्रतिनिधि नै अपरिपक्व देखिएकाले अध्ययन गरेर कारबाहीको प्रक्रियामा जाने भन्दै उनले चेतावनी दिएका छन्।
‘पहिलेदेखिकै गठबन्धनको निरन्तरता हो यो। फ्लोर क्रस गरेर विपक्षीलाई भोट हाल्ने छुट कसैलाई छैन,’ उनले भने, ‘यस विषयमा हामी गम्भीर भएर अध्ययन गर्छौं, छानबिन गरेर कारबाही समेत प्रक्रियामा जानेछौं।’