मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएकी हुन्।
ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८१९ मतभार पाएका छन्।
महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएको सहायक प्रदेश प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले बताए।
ढुंगाना पाँचौ पटक सांसद बनेका हुन्। यसअघि उनी २०४८, २०५१ र ०५६ सालमा उनी धनुषाबाट प्रत्यक्षमा सांसद जितेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० सालमा समानुपातिकतर्फबाट सांसद चुनिएका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी २०५५ सालमा पर्यटन आपूर्ति र वनमन्त्री भएका थिए।
त्यसैगरी जसपाकी चौधरी पहिलो पटक सांसद बनेकी छन्। यसअघि गत प्रदेशसभा निर्वाचनमा रौतहटको ३ (क) बाट उनी पराजित भएकी थिइन्। जसपा नेता गोविन्द चौधरीकी छोरी समेत रहेकी उनलाई बुवाकै लेगेसीको कारण टिकट दिइएको थियो।