गत पुस २२ गते बिहानसम्मै प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभाका रिक्त सिटमध्ये कसले कति पाउने भन्नेमा सत्ता साझेदार दलहरूबीच निकै घम्साघम्सी भयो।
लगातारको बैठकमा झैं त्यस दिन पनि नमिलेको विषय थियो- गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) ले उसले मागेअनुसारको तीन सिटमा उम्मेदवार उठाउन पाउने कि अरू दलहरूले भने झैं दुई सिटमा।
विशेषगरी यो विषयलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रतिष्ठाको विषय बनाए।
कुरा नमिलेपछि समाजवादीले 'बरू एक्लै चुनाव लड्छौं' भनेर बैठकबाटै उठ्यो, गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादीले आफूहरूकै चाहनाबमोजिम कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा गरे।
तीन सिट नपाए गठबन्धनबारे नै पुनर्विचार गर्छौं भनेर हिँडेको समाजवादीलाई भने प्रधानमन्त्री प्रचण्डले अब मन्त्रिपरिषद् पुनर्गठन गर्दा एउटा मन्त्री थपेर ३ जना पुर्याइदिने आश्वासन दिएपछि सहमति जुटेको थियो।
त्यसबेला समाजवादीले चाहेझैं तीन सिट पाएको भए राष्ट्रिय सभामा उसको हैसियत एमाले बराबर हुन सक्छ भन्ने उसको आकलन थियो। यही सोचेर नै समाजवादीले अन्तिम समयसम्म रस्साकस्सी गरेको थियो।
तर माओवादी टसमस भएन।
सत्ता गठबन्धन जोगाउन र प्रधानमन्त्री पदबाहेक आफ्नो भागमा रहेका सबै पदलाई दाउमा राख्न तयार हुँदै आएका प्रचण्डले यसपालि राष्ट्रिय सभामा रिक्त १९ मध्ये ६ वटा सिटभन्दा तल झर्दै नझर्ने भनेर अडान लिएका थिए।
बिहीबार भएको निर्वाचनमा माओवादीका ६ जनामध्ये ५ जना निर्वाचित भए। गठबन्धनका तर्फबाट कोशीमा उम्मेदवारी दिएकी माओवादीकी चम्पादेवी कार्की भने पराजित भइन्। गठबन्धनकै मतदाताहरूले फ्लोर क्रस गरेपछि एमाले-राप्रपा गठबन्धनबाट एमालेकी रूक्मिणी कोइराला विजयी भइन्।
अब राष्ट्रिय सभामा माओवादीका १७ जना सदस्य हुनेछन्। अहिले राष्ट्रिय सभामा माओवादीका १५ जना सदस्य छन्। यीमध्ये फागुन २० गते ३ जना बिदा हुँदैछन्। राष्ट्रिय सभामा अब उपाध्यक्षसहित माओवादीका १७ जना सांसद हुनेछन्। राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ।
राष्ट्रिय सभामा १० सिटमात्रै रहेको नेपाली कांग्रेस अब १६ सिटको भएको छ।
यसपालि एमालेलाई भने ठूलो घाटा लागेको छ। राष्ट्रिय सभामा एमालेका १७ जना सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि यसपटक सकिँदैछ। एमालेले कोशीमा राप्रपासँग तालमेल गरेको थियो। कोशीमा तालमेल गरेर एमालेले एक सिट जिते पनि राप्रपा उम्मेदवार भने पराजित भए।
एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ।
अरू दलहरूको सांसद संख्यामा भने फेरबदल आएको छैन। एकीकृत समाजवादीको यसअघि ८ सिट रहेकोमा अहिले पनि ८ सिट नै हुने भएको छ।
दुई वटा रिक्तसहित अर्को एक सिट पनि थपेर राष्ट्रिय सभामा कम्तीमा एमाले बराबर बन्ने समाजवादीको चाहना थियो। त्यहीअनुरूप उसले सत्ता गठबन्धनमा अन्तिमसम्म बार्गेनिङ पनि गरेको थियो। तर सफल भने हुन सकेन।
जनता समाजवादी पार्टी (जसपा) को यसअघि तीन सिट रहेकोमा यसपालि पनि तीन सिट नै छ। यद्यपी शिक्षा राज्यमन्त्री समेत रहेकी जसपा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीको पदावधि सकिँदैछ र उनको ठाउँमा पूजा चौधरी निर्वाचित भएकी छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १/१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ।
मनोनीतमा पनि एमालेबाटै मनोनीत भएकी बिमला राई पौड्यालको पदावधि सकिएका कारण एमालेलाई थप क्षति भएको छ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ। राष्ट्रिय सभाका ५९ सदस्यमध्ये हरेक प्रदेशबाट ८/८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन्।
यी हुन विजयी उम्मेदवार
निर्वाचन आयोगका अनुसार १९ सिटका लागि बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए।
मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भए। कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्।
मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।
बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भए।
गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्।
लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन्।
राष्ट्रिय सभाबाट बाहिरिँदै छन् यी सांसद
राष्ट्रपतिबाट निर्वाचित मनोनीत एकसहित २० सांसदको पदावधि यही फागुन २० गतेदेखि सकिँदैछ। यसरी पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक/एक जना छन्।
एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट बिदाइ हुँदैछन्।
यस्तै कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको ६ वर्षे कार्यकाल सकिन लागेको हो।
माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा बिदाइ हुँदैछन्।
जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि फागुन २० गते सकिँदैछ।