नेपाली कांग्रेसले सोमबार सत्ता र प्रतिपक्षमा रहेका ७ पार्टीका शीर्ष नेतालाई एकै मञ्चमा निम्त्यायो।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेसले प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी सहभागी रहे।
'शान्ति र संविधान सहकार्यबाट, समुन्नतिमा गति सहकार्यबाटै' खुला अन्तर्क्रियामा आयोजकका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि मञ्चमा थिए। सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले स्वागत गर्दै बिपी कोइरालाले चाहेको जस्तो काम गर्न बाँकी नै रहेको कुरा उप्काइन्।
कांग्रेस संस्थापक बिपी कोइराला भारतबाट २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्केका थिए। त्यही बेलादेखि कांग्रेसले वर्षेनीजसो मेलमिलाप दिवस मनाउँछ। यसपालि सत्ता र प्रतिपक्षमा रहेका दलका शीर्ष नेता बोलाएर कांग्रेसले केही सन्देश दिएको थियो।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार वैदेशिक नीति, संविधानप्रति अपनत्वको दायरा वृद्धि, संघीयता कार्यान्वयन, आवश्यक कानुन निर्माण, मुलुक विकास गर्न जिम्मेवार सपनाका साझा खाका बनाउन यस्ता अन्तर्क्रियाले मद्दत पुर्याउँछ।
कांग्रेसले लोकतन्त्र प्राप्तिका लागि आन्दोलनमा योगदान गरेका र बृहत शान्ति सम्झौताका पक्षधर दलहरूलाई एकै मञ्चमा निम्त्याएर यी विषयमाथि चर्चा गरेको हो।
‘सरकार वा प्रतिपक्षबीच साझा वैदेशिक नीति बनाउनेदेखि संघीयताबमोजिम चाहिएका कानुन बनाउने कुरामा गम्भीर रूपमा सहकार्यको जरूरी छ,’ शर्माले भने, ‘बिपीले गाँस, बास र कपासको कुरा गर्दा सरलजस्तो लागे पनि त्यो एक जिम्मेवार सपना थियो। अब मुलुकका लागि जिम्मेवार सपना के हुन सक्दछ भनेर साझा खाका सोच्नुपर्ने बेला आएको छ।’
उनले निराशा र वितृष्णा हटाउन पुराना वा नयाँ दलले भूमिका खेल्नुपर्ने बताए।
शर्माले मञ्चमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै केही कुरा राखे। ओली प्रधानमन्त्री हुँदा सरकारले ल्याएका योजनाका प्राथमिकता शर्माले झल्काउन खोजेका थिए।
‘गाउँमा सबैका घरमा पानीका धारा पुगिसकेको थिएन, हिन्द महासागरमा पानीजहाजमाथि झण्डा फहराउने सपना राख्यौं,’ शर्माले भने, ‘भूकम्पमा मानिस नमरूँन् भनेर बलिया घर बनाउन सकिएन, अग्ला टावर र भ्यूटावर खडा गर्नतर्फ लाग्यौं।’
उनले पोखरा, भैरहवालगायत ठाउँमा विमानस्थल बने पनि सञ्चालनमा ल्याउन नसकिएका विषय पनि राखे। ‘विमानस्थल सञ्चालन गर्ने कुरामा बृहत्तर दृष्टि भएन कि, लगानी उठ्ने कुराको गाम्भीर्यता देखाएनौं कि!,’ उनले भने।
महामन्त्री शर्माले विकासको पुरानो ढर्रा र आधुनिक सोचबीच समन्वय नै अहिलेको बेलामा मेलमिलापको एउटा विषय रहेको तर्क गरे। ‘हामी सबै एकै ठाउँमा उभिएर देशलाई नयाँ मनोविज्ञानका साथ लैजान जरूरी छ,’ उनले भने, ‘समुन्नतिलाई केन्द्रमा राखेर नवीन सपनासहित मेलमिलाप र सहकार्य आवश्यक छ।’
उनले राजनीतिक नियुक्तिमा भागबन्डा हुने प्रवृत्ति रहेकोले त्यसको विकल्पमा खुला प्रतिस्पर्धाबाट योग्य, अझै योग्य र झन् योग्यलाई काम गर्न दिइनुपर्ने पनि बताए।
राज्य सञ्चालनका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउनका लागि मेलमिलाप र सहकार्य आवश्यक रहेको शर्मा बताउँछन्। ‘यसका लागि सुशासन-सुशासन-सुशासनको विकल्प छैन,’ शर्माले भने।
एकता र मेलमिलापका अवसरमा जुटे पनि नेताहरूले घोचपेच भने छाडेनन्! शर्मापछि बोलेका एमाले अध्यक्ष ओलीले सरकार, सत्ता गठबन्धनको तिखो आलोचना गरेका थिए।
‘अहिलेको परिस्थितिमा राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा एउटा ढुंगो फुत्त फालेर कुनै तरङ्ग ल्याउने इच्छा मलाई छैन,’ कांग्रेसलाई व्यङ्ग गर्दै ओलीले भने, ‘कुनै अमनचयनमा खलल पार्न चाहन्न, त्यो सीमाभित्र मात्र म बोल्छु।’
यसपछि अध्यक्ष ओली महामन्त्री शर्माले राखेका कुराका जवाफ दिनतिर लागे।
‘विश्वप्रकाशजीले मेलमिलाप दिवसमा आउनेबित्तिकै भाटे कारबाही गर्नुभयो, अग्ला घर किन बनाइस्, कलकत्ता जान गंगाको बाटो किन भनिस्। ट्रक कुदाउनुपर्ने ठाउँमा अमलेखगञ्जमा पाइपलाइन किन ल्याइस्....?,’ ओलीले भने, ‘ठूला कुरा गर्ने, उहाँले आफ्नो प्रचलित शैलीमा लर्कार्नुभयो।’
यसपछि ओलीले व्यवस्थाका कुरा निकाले। ‘कतिपय सामाजिक सञ्जालमा र पत्रपत्रिकामा लेख्छन्- तीन नेता भेटे, राजतन्त्र ल्याउन नदिने हुन् कि क्या हो? यो त घोषित नै छ, हाम्रो कपाल त्यसै फुलेको छैन। राजतन्त्र फर्कन दिनौं,’ ओलीले भने, ‘तानाशाही ल्याउन दिनौं, नेपालमा प्रजातन्त्र मात्र हुन्छ।’
अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन र विकासमा दलहरू एकजुट हुनुपर्ने बताए। अनि मञ्चमा सँगै रहेका दलहरूलाई आह्वान गरे- सुशासन, विकास, सामाजिक न्याय र समानतामा सहमति गरौं।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश गफले नबन्ने र त्यसका लागि हुटहुटी र चिन्तन हुनुपर्ने तर्क गरे। ओलीलाई लक्षित गर्दै नेपालले भने, ‘एक जना वक्ता टावरको बखान गर्दै हुनुहुन्छ। देशको बजेट कहाँ कसरी खर्च गर्ने? कहाँ टावर वा विमानस्थल बनाउने वा नबनाउने? केही प्राथमिकता हुनुपर्दैन?’
उनले विकासका लागि सामूहिक सोच, चिन्तन हुनुपर्ने बताए। ‘देश बनाउन योजना निर्माण र प्राथमिकतामा कहाँ त्रुटि छ त्यो पत्ता लगाऔं,’ उनले भने।
महामन्त्री शर्माका कुरालाई अध्यक्ष नेपालले भने समर्थन गरे।
‘विश्वप्रकाशजीले ठिकै कुरा उठाउनुभयो। पोखरामा, भैरहवामा अहिले विमानस्थल आवश्यक थियो? १० वर्षपछि हुन सक्दथ्यो,’ उनले भने, ‘अहिले पनि विभिन्न ठाउँमा कुरा विमानस्थलका कुरा उठेका छन्। कुन क्षेत्रलाई प्राथमिकता दिने कुनलाई नदिने सामूहिक सोच आवश्यक छ।’
उनले अहिलेको व्यवस्थालाई अझै सुधार गरेर लैजानुपर्नेमा जोड दिए। ‘व्यवस्था बदलियो अबस्था बदलिएन भन्ने भास्य छ। भ्रष्टाचार रोक्ने, रोजगारी दिने, सामाजिक न्याय र समानताको प्रत्याभूति दिँदै समाज र राजनीतिका विकृति हटाउन दलहरूबीच सहकार्य गरौं,’ अध्यक्ष नेपालले प्रस्ताव गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अहिलेको व्यवस्था संसारकै उच्चतम राजनीतिक प्रणाली भएको दाबी गरे।
‘संसारमा मानव जातिले विकास गरेको उच्चतम राजनीतिक प्रणाली भनेको लोकतान्त्रिक गणतन्त्र नै हो योभन्दा राम्रो छैन। अझै सुदृढ लोकतन्त्र र परिणाममुखी गणतन्त्र भने हुन सक्छ,’ व्यवस्थालाई लिएर भइरहेका चर्चातर्फ लक्षित गर्दै प्रधानमन्त्री दाहालले भने।
उनले जनताका अपेक्षा पूरा गर्न जिम्मेवार भएर दलहरू नलाग्नु कमजोरी भएको भने स्वीकार गरे। ‘हामी कहाँ चुकेका छौं, आत्मसमीक्षा गरौं,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्र विरोधी भास्य निर्माणको जमर्को भइरहेको छ। लोकतान्त्रिक गणतन्त्रअनुरूप विकास र समृद्धि ढाल्न सङ्कल्प गर्न जरूरी छ।’
उनले मेलमिलाप दिवसमा कार्यक्रम गरेर नयाँ राष्ट्रिय सहमति र प्रतिबद्धता व्यक्त गर्ने अवसर दिएकोमा कांग्रेसलाई धन्यवाद पनि दिएका थिए। साथै सरकारले गरेका राम्रा कामको अपनत्व लिन पनि कांग्रेसलाई उनले आग्रह गरेका थिए।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले राखेका कतिपय कुरामा सहमति जनाए।
‘प्रतिपक्षी नेताले धेरै कुरा भन्नुभयो- शान्ति, संविधान, गणतन्त्रका लागि एकताबद्ध हुन तयार छौं भनेर। हामी सबै यसमा प्रतिबद्ध छौं,’ उनले भने, ‘आजको सन्दर्भमा एकता र सहमतिको सन्देश यो कार्यक्रमले दिएको छ।’
सभापति शेरबहादुर देउवाले पनि अब राजतन्त्र नफर्किने बताए। उनले सुदृढ लोकतन्त्रका कुरा गरेका थिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलहरू एक रहेको बताए।
‘गणतन्त्रको विकल्प गणतन्त्रबाहेक अरू केही हुन सक्दैन। राष्ट्रका महत्वपूर्ण बुँदामा केन्द्रित भएर दलहरूबीच छलफल गर्दै एक भएर जाऔं,’ उनले भने।
साथै कडा प्रतिस्पर्धाका बाबजुद पनि नेपालमा दलहरूबीच भाइचाराको संस्कार रहेको देउवाको कथन छ।
‘नेपाल सानो देश हो। पार्टीका वैचारिक मतभेद र पार्टीगत प्रतिस्पर्धा भए पनि नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने संस्कार बनेको छ, सायद धेरै कम देशमा यो संस्कार छ। मान्छे छक्क पर्छन्,’ देउवाले भने, ‘जस्तो कांग्रेसको महाधिवेशन, जन्मजयन्ती मनाउँदा विदेशबाट आएका मानिस त छक्कै पर्छन्।’
दलहरूबीच कडा प्रतिस्पर्धाका बाबजुद पनि मेलमिलापको संस्कार रहेको देउवाले बताए।
‘दलहरूबीच कडा प्रतिस्पर्धा पनि हुने गर्छ। हामीहरूका बीचमा बोलीचालीदेखि आपसमा भाइचाराको वातावरण छ, यस्तो धेरै कम देशमा छ,’ देउवाले भने, ‘बिपी कोइरालाले ल्याएको मेलमिलापको नीतिमा यसको केही न केही प्रभाव छ।’
संसदको ठूलो दल कांग्रेसले मेलमिलाप दिवसमा सत्ता र प्रतिपक्षका नेतालाई राखेर व्यवस्थाप्रति पुन: दलहरूलाई प्रतिबद्ध बनाउने र राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउँदै एकताबद्ध रूपमा अघि बढ्न चाहेको सन्देश दिएको छ।
यो पनि:
बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छः प्रचण्ड (भिडिओ)
तस्बिरमा हेर्नुस् राष्ट्रिय एकता तथा मेलमिलाप दिवस
कडा प्रतिस्पर्धाका बाबजुद नेपालमा दलहरूका बीचमा भाइचाराको संस्कार छ: देउवा (भिडिओ)
बाबुरामको प्रस्ताव- पाँचै वर्ष चल्ने सर्वदलीय सरकार बनाऔं