जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार सकिँदैछ।
माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेकोमा पछि अभियानप्रति जनताको साथ रहेको भन्दै एक महिना थप गरेको थियो।
साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले सबै तहमा पार्टी समितिको बैठक र प्रशिक्षण आयोजना गर्ने, समिति नभएका वडामा समिति गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामाना गर्न योग्य बनाउने उदेश्यसहित अभियान सुरू गरेको थियो।
अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए। तर प्रारम्भिक निष्कर्षअनुसार यो अभियान जनतासम्म भनिए पनि कार्यकर्तासम्म मात्रै पुगेर फर्किएको छ।
प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टी कमिटी टोलसम्मै चलायमान भएको बताए। उनले कमिटी नभएका कतिपय टोलमा कमिटी गठन गरेको जानकारी दिए। यद्यपि जनतासँग माओवादी रूपान्तरण अभियान भनिए पनि जनतासम्मै भने अभियान पुगिनसकेको उनी स्वीकार गर्छन्।
‘नेताहरू टोलसम्मै पुगे, पार्टी कमिटी चलायमान भए। नेताहरू कार्यकर्तापट्टी फर्किने काम सुरू भएता पनि कार्यकर्ता जनतापट्टी भने पुरै फर्किसकेका छैनन्,’ सापकोटाले भने।
उनले अभियानले पार्टी र नेताहरूको मूल्याङ्कनको आधार तय गरेको बताए। ‘अभियानले हामी स्वयमको मूल्याङ्कनको आधार तय भएको छ। पार्टीको विधि प्रक्रिया र पद्धतीबारे निर्णय लिन सहज भएको छ,’ उनले भने।
सापकोटाकाअनुसार पार्टी सदस्यता नवीकरण सघन रूपमा भए पनि ठ्याक्कै संख्या भने आइसकेको छैन। सोमबार औपचारिक रूपमा अभियान सकिएपछि सबै तथ्यांक संकलन गरेर त्यसको विश्लेषण गरिने उनले बताए।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि अभियानका कतिपय उद्देश्यहरू पूरा भएको बताइन्। जाजरकोट र पश्चिम रूकुममा गएको भूकम्पका कारण आफूहरू त्यही केन्द्रित हुन परेकाले कतिपय लक्ष्यमा भने पुग्न नसकिएको उनको भनाइ छ।
‘हामी गाउँ फर्केर नगएकोमा युद्धकालमा हामीलाई माया गर्ने र माओवादीमा लगानी गर्नेहरूको मन दुखेको रहेछ,’ केसीले भनिन्, ‘हामी नेता भनौंदाहरूले नै नगरेर यस्तो भएको हो,गर्नुपर्ने हामीले नै हो। तल्ला कमिटीबाट आएका कुरा माथिसम्म पुर्याउन सकेको प्रयत्न गर्नेछौं।’
उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन सके धेरै समस्याको समाधान त्यही निस्किने बताइन्। माओवादीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ।
पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको उसले विधान मस्यौदा समिति बनाएको छ। माओवादीका अनुसार सात लाख ५२ हजार नौ सय ५६ जना सदस्यता लिएरै माओवादी केन्द्रमा सक्रिय छन्। जसअनुसार कोशीमा ९ हजार ६ सय १, मधेसमा १ लाख १६ हजार ९ सय ७५, बागमतीमा १ लाख ४७ हजार ३ सय ५३, गण्डकीमा ६६ हजार ६ सय ८७ र लुम्बिनीमा १ लाख १२ हजार नौ सय १० सदस्य छन्।
यस्तै कर्णालीमा ८५ हजार ७ साय ७४, सुदूरपश्चिममा ८० हजार ४ सय ८२, सम्पर्क समन्वय प्रदेशमा १९ हजार ३ सय १२, उपत्यका विशेष प्रदेशमा १८ हजार ३ सय २५, र प्रवास समन्वय प्रदेशमा ५ हजार ५ सय ३७ सदस्य रहेको र संगठन बिस्तारका लागि उक्त संख्या अद्यावधिक गर्नुपर्ने माओवादीले जनाएको थियो।
संगठन बिस्तार र पार्टी सदस्यता अद्यावधिक गर्ने काममा आफूहरू एक हदसम्म सफल भए पनि अभियान जनतासम्म पुग्न नसकेको बागमती प्रदेशका ईञ्चार्जसमेत रहेका उपमहासचिव जनार्दन शर्माले बताए।
‘हामी जसरी जनताकहाँ व्यापक ढंगले जाने भनेर हिँडेका थियौं, त्यसरी पुग्न सकिएन, यो अभियान कार्यकर्तास्तरसम्म मात्रै भयो,’ शर्माले सेतोपाटीसँग भने, ‘पार्टीका आन्तरिक कार्यकर्ताहरूलाई जगाउने काम भने भएको छ, कार्यकर्ता पंक्तिमा आशाको सञ्चार भएको छ।’
उनले माओवादीलाई कार्यकर्ता र जनताको स्तरबाट गम्भीर प्रश्नहरू सोधिएको बताए। ‘उत्पीडित वर्ग, जाति समुदायले माओवादीलाई अहिलेसम्म कहाँ हरायौ, घोषणा गरिएका काम अहिलेसम्म किन गरेनौं, अब कसरी गर्छौं भनेर सोधेका छन्,’ शर्माले भने।
उनले राजनीतिसँग जनजिविका नजोडिएको र संविधानमा लेखेका अधिकारको कार्यान्वयन पनि नभएकोमा माओवादी नेतृत्वसँग कार्यकर्तासमेत रूष्ट भएको बताए।
‘जनस्तरबाट सिधा प्रश्न आएको छ,’ नेता शर्माले भने, ‘सुकुम्बासीले खोइ हामीले लालपुर्जा पाएको भनेर सिधै भनेका छन्, जनताका यी कुरालाई हामीले गम्भीर रूपमा लिएका छौं। सबै विषयलाई हामी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षलाई बुझाउनेछौं।’
माओवादीले गत साउन २१ गते पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न गर्दै गर्दा शुद्धीकरणको अभियान आफैँबाट र नेतृत्वबाट सुरू गर्ने बताएको थियो।
‘यदि हामीले अविलम्ब विचार र राजनीति अभिव्यक्तिअनुसार संगठनात्मक व्यवहार र सांस्कृतिक आचरणमा रूपान्तरण गर्ने नीति, योजना र कार्यक्रम तयार गरेर त्यसको अनुशरण गर्ने कठोर प्रतिज्ञा गरेनौँ भने कम्युनिस्ट पार्टीको रूपमा हाम्रो विघटन र विसर्जनलाई कसैले रोक्न सक्दैन,’ माओवादीले आफ्नो अन्तरपार्टी निर्देशनमासमेत लेखेको थियो।
त्यसबेला अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा दैनिक व्यवहार र आचरण तथा अभिव्यक्तिको विरोधाभाष देखिएको र यही विरोधाभाषले पार्टीको पहिचाननै गुम्दै जाने सम्भावना रहेको बताएका थिए।
तर लगत्तै लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित पृष्ठभूमिका ल्याहर्क्याल लामालाई नियुक्त गरेपछि पार्टीको रूपान्तरण अभियान त्यहीँबाट सुरू भएको भन्दै उनकै पार्टीका नेता कार्यकर्ताहरुले कटाक्ष गरेका थिए।
गत मंसिर २९ गते नातिनी प्रतिभा पाठकको तारे होटेलबाट धुमधामसँग विवाह गरिदिएपछि प्रचण्डका नेता कार्यकर्ताहरू फेरि रुष्ट भएका थिए।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लामाको नियुक्तिबाट सुरू भएको रूपान्तरण अभियान नातिनीको विवाहमा पुगेर टुंगिएको भन्दै सामाजिक सञ्जालमै व्यङ्ग कसेका थिए।
‘यो अभियानले कार्यकर्तामा सामान्य हलचल ल्यायो जनतासम्मै आशा सञ्चार गर्न चुक्यो,’ माओवादीका सचिव राम कार्कीले भने, ‘कानुन बनाउने तर त्यसमा नबाँधिने प्रबृत्ति सबै पार्टीमा देखिन्छ। माओवादीमा झन् धेरै छ।’ उनले अभियानका बेला माओवादीका कार्यक्रम रक्षात्मक भएको टिप्पणी गरे।
‘अहिले कम्युनिष्ट पार्टी नै वाम छैनन्, राजनीतिक पार्टीहरूको अवस्थिति हेर्दा लेफ्टहरू राइट र राइटहरू एकदमै राइट छन्,’ उनले भने, ‘हामी जनताबाट अलग्गिँदै गएका छौं। त्यसैले यसलाई वामपन्थी कार्यक्रममा नढालेसम्म नेपाली राजनीतिको भविष्य त्यति उज्यालो देखिदैन।’