सरकारका कामकारबाहीलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।
पुस १२ देखि १४ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूले सरकारका कामकारबाहीप्रति असन्तुष्टि पोखे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सामेल भएको आठ महिना बितिसकेको छ।
मन्त्रीहरूले परिणाममुखी र जनअपेक्षाअनुसार काम नगरेको भन्दै असन्तुष्टि देखिएको हो। मन्त्रीहरूले पार्टीसँग समन्वय नगरेकोमा केन्द्रीय सदस्यहरू बेखुसी छन्।
सरकार गठन भएको एक वर्ष पुगेको र मन्त्रीहरूका कामकारबाहीबारे पनि समीक्षा गर्न भन्दै कांग्रेसले तीन दिन केन्द्रीय समिति बैठक चलाएको थियो।केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री दाहालका कार्यशैलीमा पनि असन्तुष्टि जनाएका थिए।
आफूले सम्हालेका मन्त्रालयका कामबारे मन्त्रीहरूले बैठकमा लिखित र मौखिक जानकारी गराए पनि केन्द्रीय सदस्यहरू आश्वस्त भएनन्।
मन्त्रीहरूले समग्रमा गठबन्धन सरकार भएकोले चाहेजस्तो काम गर्न नसकेको, सीमित स्रोत र साधन भएकोजस्ता कुरा राखे। आफूहरूले सक्दो काम गरिरहेको दाबी उनीहरूको थियो।
मन्त्री नै परिवर्तन गरेर जानुपर्ने केन्द्रीय सदस्यहरूले माग गरे पनि सभापति शेरबहादुर देउवा तयार नहुँदा यसबारे केही निर्णय नलिई बैठक सकिएको छ।
सरकारले उपलब्धिमुलुक काम गर्न नसकेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। ‘सरकारले उपलब्धिमुलक काम गर्नै सकेन, हाम्रा मन्त्रीहरूले पनि परिणाम दिन सक्नु भएन,’ पौडेलले शनिबारको केन्द्रीय समिति बैठकमा भने।
कांग्रेसले माघ ७ गतेदेखि २२ गतेसम्म 'समुदायमा कांग्रेस' अभियान चलाउन लागेको भन्दै उनले यस्तो परिस्थितिमा कसरी कार्यकर्ता र जनतामाझ जाने भन्ने प्रश्न गरेका थिए।
‘समुदायमा कांग्रेस अभियानमा जाँदा जनतालाई के बताउने हो?,’ पौडेलको प्रश्न छ, ‘जनता र कार्यकर्तालाई भन्ने विषय नै छैन, सरकार र नेतृत्वको प्रतिरक्षा मात्रै गर्ने?’
उनले सरकारले काम गर्न नसकेको बताए। ‘काम नै नगर्ने यो सरकारबारे किन बोलिएको छैन?,’ सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले भने, ‘आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले हो? सरकार र मन्त्रीहरूका कार्यशैली सुधारेर नजाने हो भने ०८४ मा गाह्रो पर्छ।’
देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति ल्याउनुपर्ने उनले बताए।
‘जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार अन्त्य हो। तर बिडम्बना जनताले हामीलाई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन् कि भ्रष्टाचार अन्त्य गर्ने अभियान छेडेको पार्टी भनेर?,’ पौडेलले प्रश्न गरे, 'जनतामा निराशा छ, आक्रोश देखिन्छ।'
उनले मन्त्रीहरूले कार्यसम्पादनबारे दिएको प्रस्तुतीमा पनि असन्तुष्टि जनाए।
‘मन्त्रीहरूले पेश गरेको प्रगति प्रतिवेदन बाध्य भएर बनाएकोजस्तो देखिन्छ। हाम्रा मन्त्रीहरूले ल्याउनु भएको प्रतिवेदनमा उल्लेख भएअनुसार जनताले आभास गर्ने गरी प्रगतिचाहिँ के भएको छ?,’ उनले भने।
अर्थतन्त्रका सूचकहरू सकारात्मक छन् भनेर अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका थिए। यो सरकारले गर्दा नै रेमिट्यान्स बढेको हो वा होइन, वैदेशिक मुद्रा सञ्चिती यो सरकारका कारण बढेको हो कि होइनजस्ता कुरा प्रष्ट नभएको उनले बताए।
‘बैंकमा निक्षेप बढ्नु तर बजारमा लगानी हुन नसक्नुको कारण के हो? सरकारले के कार्ययोजना ल्याएको छ? बजारमा सटर बन्द भइरहेका छन्, कोही विदेश गइरहेका छन्,' उनले भने, ‘आर्थिक वर्षको दुई त्रैमास सकिँदा ११ प्रतिशत पुँजीगत खर्च भएको छ। राज्य संरचना आर्थिक मन्दीमा पनि मितव्ययी भएको छैन, के यो अर्थतन्त्रको समस्या होइन?’
महामन्त्री गगन थापाले पनि सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्रीहरूले आठ महिनामा गरेका आठ कामको सूची दिन सक्नुपर्ने थापाको भनाइ थियो। उनले भनेअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाउनुपर्ने बताए।
‘सरकारमा बसेर अब के काम गर्ने हो लक्ष्य निर्धारण गरौं। त्यो लक्ष्य पूरा गर्न सकेनन् भने मन्त्री फेरौं,’ महामन्त्री थापाले भने, ‘अरू दललाई मिसन ०८४ भन्ने समय छ, तर हामीले त्यसो भन्न पाउँदैनौं, अहिले नै सरकारमा छौं त्यसैले गुणस्तरीय स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा काम गरौं।’
केही मन्त्रीहरूले सरकारका राम्रा कामलाई पनि पार्टीका नेताहरूले प्रचार गर्न नसकेको बताएका थिए। थापाले त्यस कुराबारे लक्षित गर्दै भने, ‘यो आठ महिनामा तपाईंहरूले सरकारमा बसेर के काम गर्नुभयो? त्यसको सूची दिनुस्। ती कामले नागरिकका जीवनमा के परिवर्तन आयो?’
सरकारले राम्रा काम गरे पार्टीले मात्र होइन हरेक नागरिकले प्रशंसा गर्ने उनको भनाइ थियो। महामन्त्री थापाले सभापति देउवाप्रति लक्षित गर्दै गठबन्धन बैठकमा गएर पार्टीको धारणा यही हो भन्दै निर्णय नगर्न पनि आग्रह गरेका थिए।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारका कामबारे गम्भीर ढंगले समीक्षा गरिनुपर्ने बताए।
‘प्रधानमन्त्रीले एक वर्ष कार्यकाल पूरा गर्नुभएको छ, हाम्रा मन्त्रीहरूले पनि केही समयमा वर्षदिन पूरा गर्नुहोला,’ उनले भने, ‘तर प्रधानमन्त्रीले नै अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको बताइसक्नुभयो। यो भन्नु भनेको सरकारको मुख्य हिस्सेदार दल कांग्रेसका मन्त्रीले पनि काम गर्न सकेनन् भन्नु हो।’
तर मन्त्रीहरू र सभापति देउवानिकट नेताहरूले भने अहिले नै मन्त्री परिवर्तन गर्नेतिर जान नहुने बताएका थिए।
उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारले ठिकै काम गरिरहेको दाबी गरेका थिए।
‘केही पनि काम भएन भन्ने भास्य पनि गलत हो,’ उनले भने, ‘मन्त्रीहरूले ठिकै काम गरिरहनुभएको छ। कुनै काण्डमा फस्नुभएको छैन,’ मन्त्रीहरूको बचाउ गर्दै खड्काले केन्द्रीय समितिमा भने, ‘कामकारबाहीलाई लिएर आएका असन्तुष्टिबारे प्रधानमन्त्रीसँग पनि कुरा गरूँला।’
प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले सरकारका समीक्षा गर्दा आएका कुरा अतिवाद भएको बताए।
‘सरकारबाट सबै कुरा ठिकै भएको छ, केही बिग्रेको छैन भन्ने एउटा दृष्टिकोण छ। अर्कोतर्फ केही पनि भएको छैन भन्ने छ। तर यो दुवै कुरा अतिवाद हो,’ लेखकले भने, ‘अहिले गठबन्धनको विकल्प छैन। यसैलाई प्रभावकारी र क्रियाशील बनाएर लैजाऔं।’
उनले सरकारले धेरै काम गर्न बाँकी रहेको बताए। चाहेअनुसार काम नभएको भन्ने कुराचाहिँ सत्य रहेको उनको भनाइ छ।
सभापति देउवा भने अहिले नै मन्त्री फेर्ने पक्षमा छैनन्। प्रधानमन्त्री दाहालले केही समयअघि सरकार एक वर्ष पुगेका बेला पारेर राष्ट्रका नाममा सम्बोधन र केही मन्त्री फेर्न कुरा सभापति देउवासँग राखेका थिए।
‘प्रधानमन्त्रीले म राष्ट्रका नाममा सम्बोधन गर्छु र मन्त्रीहरू पनि परिवर्तन गरेर जान्छु, सहयोग गर्नुपर्यो भनेर सभापतिसँग मन्त्रीहरूका नाम माग्नुभएको थियो, तर सभापतिले अहिले त्यसो नगरौं भन्ने जवाफ दिनुभएको थियो,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘वर्ष-वर्षमा प्रधानमन्त्रीले नयाँ मन्त्री माग्दै जाने गर्ने र प्रधानमन्त्री नछाड्ने रणनीतिमा प्रधानमन्त्री प्रचण्ड लागेको हो कि भन्ने आशंका सभापतिलाई लागेको हुन सक्छ। त्यसैले अहिले पर्खौं भन्नु भएको छ।’
कांग्रेस प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा एकल सरकार भएका खण्डमा मात्रै प्रधानमन्त्रीले चाहनेबित्तिकै मन्त्री फेर्न मिल्ने बताउँछन्।
‘अहिले गठबन्धन सरकार छ। प्रधानमन्त्रीले मन्त्री फेर्ने हो भने गठबन्धन दलका शीर्ष नेताहरूसँग पहिले परामर्श गर्नुपर्यो,’ उनले भने, ‘दलका शीर्ष नेताका परामर्शबाट प्रधानमन्त्रीले मन्त्री फेर्न सक्ने प्रावधानलाई त कांग्रेसले अवरोध गर्दैन।’
तर अहिले नै मन्त्री फेर्ने पक्षमा सभापति देउवा नरहेको विश्वकर्मा बताउँछन्। ‘सभापतिज्यूले अहिले हामी महासमिति बैठक गर्दैछौं र राष्ट्रिय सभा चुनाव पनि रहेकोले मन्त्री फेर्ने विषयमा पछि कुरा गरौंला भनेर प्रधानमन्त्रीलाई नै भनिसक्नुभएको छ,’ उनले भने।
अहिलेको सरकारमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, उपसभापति धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला, प्रवक्ता प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्या, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति, सीता गुरूङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद, सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्।
यो पनि:
कांग्रेसले लाइभ नगरेको केन्द्रीय समिति बैठकमा कसले के भने?
गगन थापाले केन्द्रीय समितिमा राखेका तीन विषय
केन्द्रीय समितिमा आरजुले भनिन्- गुटका नाममा नबाझौं